
गोरखाका क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रमा तालाबन्दी
जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्ला भित्र बिना दर्ता संचालनमा रहेका, नबिकरण नगरी संचालन भएका क्रसर उद्योग बन्द गराएको छ । सोमवार जिल्ला अनुगमन समितिको बैठकले त्यस्ता उद्योग बन्द गर्ने निर्णय गरेपछि मंगलवार गोरखाका सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गराइएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।
पालुङटार १ मा रहेको सिम्रन क्रसर उद्योग, माई मनकामना क्रसर उद्योग, गोरखा नगरपालिका १० मा रहेको गोरखकाली क्रसर उद्योग बन्द गराइएको छ । सिरानचोक ६ कालामाटाको दरौँदी क्रसर उद्योग, अजिरकोट २ को सुपर चेपे हाईड्रो पावरको क्रसर लगायतका उद्योग मंगलवार प्रहरी पुगेर बन्द गराएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए ।
‘जिल्ला अनुगमन समितिको निर्णय अनुसार हामीले अहिले जिल्लामा भएका सबै क्रसर उद्योग बन्द गराएका छौँ’ एसपी खनालले भने ‘नबिकरण र दर्ताको कागजात अहिले दुरुस्त भएका उद्योग भेटिएनन ।’ जिल्ला भित्र क्रसर उद्योग, बालुवा प्रशोधन केन्द्र र बिभिन्न आयोजनाका नाममा खुलेका २३ वटा उद्योग छन् । यी मध्ये केही संचालनमा छैनन । सबै उद्योग तत्कालकालागि बन्द गराइएको एसपी खनालले बताए ।




