| मङ्लबार, कार्तिक २४, २०८३

मनकामना केवलकार रोकिएमा गरिने उद्वार सम्बन्धि अभ्यास सम्पन्न

चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ४ स्थित मनकामना केबलकारमा केही दिन अघि रोप रेस्क्यु सम्बन्धि अभ्यास गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र मनकामना केवलकार प्राइभेट लिमिटेडको सहकार्यमा उक्त रोप रेस्क्यु सम्बन्धि अभ्यास गरिएको हो ।

मनकामना केवलकारमा दर्शनार्थी चढेको समयमा कुनै कारणवस केवलकार रोकियो भने छिटो र सजिलो तरिका अपनाई उनीहरुको उद्वार कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले सो अभ्यास गरिएको हो ।

घिर्नीको सहयोगमा डोरीको माध्यमबाट केवलकारमा अड्किएकाहरुलाई सोे विधि अपनाई सजिलैसँग उद्वार गर्न सकिने तरिका सो अभ्यासमा देखाईएको थियो ।

भविष्यमा आईपर्न सक्ने समस्याहरुलाई सजिलैसँग समाधान गर्न सकियोस भन्ने उद्देश्यले गरिएको रोप रेस्क्यु अभ्यासमा सो शिक्षालयमा कार्यरत विपद् व्यवस्थापन सम्बन्धि दक्ष सशस्त्र प्रहरी कर्मचारीको सहभागिता रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सहायक प्रबक्ता शैलेन्द्र थापाले बताए ।

यसअघि सो शिक्षालयले आगलागी नियन्त्रण, विपद् प्रकोप, दुर्घटना, भूकम्पमा परेकाहरुको खोज तथा उद्वार, उनीहरुलाई दिईने प्राथमिक उपचार र सहयोगजस्ता विषयलाई लक्षित गरी सो सम्बन्धि अभ्यास समेत गर्दै आईरहेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्