
धार्चेका चारसय बाह्र जेष्ठ नागरिकलाई सिरक वितरण
गोरखाको धार्चे गाउँपालिकाभित्र रहेका जेष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरिएको छ । उपाध्यक्ष न्यानो कपडा वितरण कार्यक्रमअन्तरगत पालिकाभित्रका ४ सय १२ जना जेष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरिएको हो ।
सोहि कार्यक्रम अन्तरगत वडा नं ४ लाप्राकमा आइबार एक कार्यक्रम गरी वडाभित्रका जेष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरिएको वडा अध्यक्ष किसान गुरुङले बताए ।
वडाभित्र रहेका ७३ जना जेष्ठ नागरिकलाई फाइरबर सिरक एक÷एक थान वितरण गरिएको उनले जानकारी दिए । उनका अनुसार वडाभित्र ८० वर्ष नाघेका जेष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरिएको हो ।
केही ढिला भएपनि वृद्धबृद्धाहरुलाई जाडोको समयमा न्यानो बनाउन केही सहयोग पुगोस भन्ने उद्देश्यले फाइबर सिरक वितरण गरिएको उनले बताए ।
लाप्राकसँगै धार्चेका सातवटै वडामा एकैपटक सिरक वितरण गरिएको हो । यसकालागि पालिकाभरीका कुल चार सय १२ जना जेष्ठ नागरिकलाई फाइबर सिरक वितरणका लागि कुल सात लाख २८ हजार रुपैया बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।




