
चार विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण
दक्षिण कोरियामा रहेका गोरखालीहरुले गोरखाका ग्रामीण क्षेत्रका चार विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् ।
वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका गोरखालीहरुको संस्था गोरखा परिबार वेलफेयर फाउण्डेशनले ग्रामीण भेगमा रहेका चार विद्यालय स–साना बालबालिकालाई न्यानो कपडा वितरण गरेका हुन् ।
गण्डकी गाउँपालिका २ भलायोडाँडास्थित भलायोडाँडा आधारभूत विद्यालयका ७९ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
त्यस्तै सहिदलखन गाउँपालिका २ स्थित बनौती आधारभूत विद्यालयका ७२ जना, सिरानचोक गाउँपालिका ७ स्थित बालज्योति आधारभूत विद्यालयका ७१ जना र सहिदलखन गाउँपालिका ६ घैरुङस्थित पिपलापोखरी आधारभूत विद्यालयका ३० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको परिबारका उपाध्यक्ष लक्ष्मण भन्तनाले जानकारी दिए ।
परिबारका अध्यक्ष चेतबहादुर बस्नेत, उपाध्यक्ष लक्ष्मण भन्तना र सचिव खुनप्रसाद रेग्मी लगायत परिबारका पदाधिकारीले विद्यार्थीहरुलाई सम्बन्धित विद्यालयमा पुगेर न्यानो कपडा वितरण गरेका हुन् ।
दक्षिण कोरियामा रहेका गोरखालीहरुबाट संकलित १५ लाख रुपैयाँ वैँकमा जम्मा गरेर सोबाट आएको व्याज रकमबाट हरेक बर्ष स्टेशनरी सामग्री तथा न्यानो लुगा वितरण हुदै आएको छ ।




