| मङ्लबार, कार्तिक २४, २०८३

‘आम्जी’ र ‘स्याक्या’ विधेयक पास गर्दै चुमनुब्रीको गाउँसभा सम्पन्न

गोरखाको हिमालपारि अवस्थित चुमनुब्री गाउँपालिकाले स्याक्या र आम्जी सम्बन्धी विधेयक पास गरेको छ । हालै सम्पन्न १२ औँ गाउँसभा तथा हिउँदे अधिवेशनले त्यस क्षेत्रको प्रथाजनित व्यवस्थालाई कानूनी मान्यता दिएको हो ।
साथै गाउँसभाले सामागाउँमा अवस्थित हुसुरडाँडालाई ‘रोयल बहराइन पिक’ नामाकरण गरिएकोलाई वैधानिकता दिने पनि निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।

सदरमुकामबाट ५० देखि ५२ कोशसम्म टाढा रहेको यस भेगमा आम्जीद्वारा उपचार गर्ने पद्धति प्रचलनमा छ । नेपाल सरकारलेसमेत वैकल्पिक उपचार विधि भनेर मान्यता दिएको यस उपचार पद्धतिलाई गाउँपालिकाले पनि अपनाउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

आम्जीले उपचार गर्ने पद्धतिलाई ‘सोवारिग्पा’ पनि भनिन्छ । आम्जी भनेको मंगोलियन भाषामा ‘डाक्टर’ हो । आम्जीलाई सयौँ बर्षअघि तिब्बतका राजाले औषधीउपचार गर्न स्वास्थ्यकर्मीहरुमार्फत आविष्कार गराएको विधि भनेर चिनिन्छ । आयुर्वेदिक औषधी, अकुपञ्चर र युनानी उपचार विधिको असल अभ्यासको मिश्रित रुप ‘सोवारिग्पा’ हो । यो विधिबाट उपचार गर्नेलाई आम्जी भन्न थालिएको बताइन्छ ।

यो विधि तिब्बतबाट लोकप्रिय भएपछि भुटान, मंगोलिया, नेपालको हिमाली भेगमा फैलिएको हो । आम्जीले वनस्पति, जडिबुटी, वन्यजन्तुका केही अंग, माटो, चट्टान जस्ता खनिज, तान्त्रिक विद्या र अकुपञ्चरको प्रयोग गरी रोगको उपचार गर्ने यस विषयका विज्ञ नरेन्द्र लामाले जानकारी दिए ।

पालिकाले आम्जी विधेयक पारित गरेपछि अब स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकामा व्यवसाय दर्ता गरेर क्लिनिक, औषधालय वा सानोतिनो अस्पतालसमेत सञ्चालन गर्न पाइने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै चुम उपत्यकामा प्रचलित ‘स्याग्या’ परम्परालाई पनि पालिकाले मान्यता दिएको छ । प्राणीको शारीरिक तथा मानसिक हिंसा अन्त्य गर्न बिगत एकसय एक बर्षदेखि अपनाइएको ‘स्याग्या’ परम्परालाई कानूनी मान्यता दिएको गाउँपालिकाका प्रमुख निमा लामाले बताए ।

यस विधेयकमा कुनै पनि सजीव प्राणीलाई काटमार नगर्ने, काटमार गर्ने उद्देश्यले पशुचौपाया तथा पंक्षी पालन नगर्ने र काटमार गर्ने उद्देश्यले बेचबिखन पनि नगर्ने, काटमार गर्ने उद्देश्यले चुम उपत्यका हुँदै पशुचौपाया ओसारपसार नगर्ने, महका लागि मौरी पालन नगर्ने, वनजंगलमा डँडेलो नलगाउने लगायतका वुँदाहरु समेटिएका गाउँपालिकाका अध्यक्ष लामाले बताए ।

त्यस्तै २०७७ सालको असोज २४ गते मनास्लु हिमाल आरोहण गर्न आएका बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको सम्मानमा नामाकरण गरिएको बहराइनपिकलाई कानूनी मान्यता दिने पनि गाउँसभाले निर्णय गरेको छ ।

बहराइनपिक नामाकरणको आधिकारिकताका लागि गाउँसभाले अनुमोदन गर्नुपर्ने भनेर परराष्टू मन्त्रालयले सुझाव दिएकाले हुसुरडाँडालाई बहराइनपिक नामाकरणलाई अनुमोदन गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।
गाउँसभाले लामो समयदेखि चुमनुब्रीमा रहेर सेवा गरेका वडा सचिव वेदप्रकाश ढकाललाई पुरस्कृत तथा सम्मानित पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्