| मङ्लबार, कार्तिक २४, २०८३

सूचना नदिए, प्रशासन कार्यालयमा जानकारी गराउनू : प्रजिअ

सरकारी कार्यालयसित सूचना माग गर्दा नदिए जिल्ला प्रशासन कार्यालयमा खबर गर्न गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताएका छन् । सोमबार जिल्लाका सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारहरु बीचको अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रजिअ आचार्यले सार्वजनिक गर्न नमिल्ने भनी उल्लेख गरिएका बाहेकका सबै सूचना लुकाउन नहुने बताएका हुन् ।

यदि कसैले सूचना उपलब्ध राउन आनाकानी गरेमा सोको विवरण जिल्ला प्रशासन कार्यालय गोरखामा लिखित रुपमा पठाउने निर्णय गरेको छ । त्यस्तै, सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ बमोजिम सार्वजनिक निकायले ३÷३ महिनामा नागरिकको जानकारीका लागि स्वतः सूचना प्रवाह गर्नुपर्ने सहायक प्रजिअ चित्राङ्गत बरालले बताए । स्वतः प्रकाशनमा कार्यालयले गर्ने नवप्रवद्र्धन र जनउपयोगी विवरण संलग्न गर्न पनि सूचना अधिकारीहरुलाई जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहायक प्रजिअ बरालले सरकारी कार्यालय, स्थानीय तहहरु सूचना मैत्री हुनुपर्ने बताए । सञ्चार माध्यम नागरिकको सूचना प्राप्त गर्ने सबैभन्दा भरपर्दो र सजिलो माध्यम भएकाले राज्यका नीति नियम कार्यान्वयन गर्न, जिल्लामा भएका विकास निर्माणका गतिविधिका बारेमा सही सूचना प्रवाह गर्नुपर्ने बताए । सञ्चार माध्यमले जनमत निर्माण गर्ने हुँदा सरकारका हरेक गतिविधिहरुको बारेमा सही सूचना दिनुपर्ने उनको भनाइ छ ।

गलत सूचनाले समाजमा नकारात्मक असर पर्ने बताउँदै सही सूचनाले सरकारी सेवा प्रवाह र सुशासनमा धेरै सहयोग पुग्नेका साथै सुशासन र भ्रष्टचार न्यूनीकरण गर्न पनि सहयोग पुग्ने उनले बताए । सूचनाको हकको ऐन तथा नियमावलीमा उल्लेख भएअनुसार सहि सूचना उपलब्ध गराउन सरकारी कार्यालयका सूचना अधिकारीहरुलाई सहायक प्रजिअ बरालले आग्रह गरेका थिए ।

उनका अनुसार सार्वजनिक निकायको कामकारवाही खुल्ला र पारदर्शी हुनुपर्ने तथा सार्वजनिक महत्वको सूचना आमनागरिकको पहुँचलाई सरल र सहज तुल्याउने गरी प्रवाह गर्नुपर्ने बताए ।

कार्यक्रममा सहायक प्रजिअ बरालले सूचनाको अधिकार र पत्रकार, सूचनाको हक कार्यान्वयनमा सजायँ तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्र सूचना हकको अवस्था, सूचना हकका निम्ति बनेका कानुनहरु लगायत विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले सरकारी कार्यालयहरुमा नीति नियम पालन गर्न मात्र सूचना अधिकारी तोकिएको तर सूचना अधिकारीबाट प्राप्त हुने सूचनाहरु पर्याप्त पाउन नसकेको गुनासो गरेका थिए । सञ्चार माध्यमले जनता र राष्ट्रका हितका लागि सूचना प्रवाह गर्ने हुँदा गोरखामा सरकारी कार्यालयबाट संचालित विकास निर्माणका गतिविधिहरु, राज्यका नीति नियमहरु र प्रवाह हुने सेवाका बारेमा सही सूचना दिन उनले आग्रह गरेका थिए ।

नागरिकमा सही सूचना प्रवाह हुँदा समाज सकारात्मक परिवर्तनमा धेरै सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । सरकारी नियमका पारदर्शी हुनुपर्ने बताउदै सही सूचना प्रवाहले नागरिकहरु राज्यका नीति नियमप्रति सुसूचित हुने र विकास निर्माण तथा सरकारी सेवा प्रवाहमा देखिएका बेथितिहरु न्यूनीकरणमा पनि धेरै सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्