
अत्याधिक चिसोबाट जोगिन जिल्ला प्रशासन कार्यालयको आग्रह
हिमपात तथा अत्याधिक चिसोबाट जोगिन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ ।
गोरखाको उत्तरी क्षेत्रमा हिउँ पर्न सक्ने तथा अन्य भागमा अत्याधिक चिसो बढ्न गई दैनिक जीवन यापनमा कठिनाई हुन सक्ने भन्दै कार्यालयले सोमबार सूचना जारी गर्दै शरीरलाई ढाक्ने गरी न्यानो कपडाको लगाउन, तथा न्यानोको प्रवन्ध गर्न आग्रह गरेको हो ।
तापक्रम घट्ने, चिसो बढ्ने, बर्षा, हिमपात तथा अत्याधिक चिसोबाट जोगिन र आफ्नो स्वास्थको ख्याल गर्न सूचनामार्फत प्रशासनले आग्रह गरेको हो ।
हिमपात तथा अत्याधिक चिसोको समयमा घरबाहिर लामो समयसम्म नबस्न र रातको समयमा न्यानो कपडा, सिरक, कम्मल जस्ता कपडाहरु ओढ्न प्रशासनले आग्रह गरेको छ ।
हिउँ परेको तथा त्यसपछिको समयमा चिसो बढ्ने हुनाले आगो तापेर शरीरलाई न्यानो राख्न, छाती र टाउकोलाई विशेष गरेर चिसोबाट जोगाउन र चिसोको समयमा शरीरलाई चाहिने आवश्यक खानेकुरा र पर्याप्त मात्रामा तातो खानेकुरा खाने, झोलिलो खानेकुराहरु खान समेत आग्रह गरेको छ ।
त्यस्तै, बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा विरामीहरुको हेरचाहमा विशेष सतर्कता अपनाउन, बालबालिकालाई न्यानो अवस्थामा राख्ने व्यवस्था मिलाउन र चिसोको कारण बिरामी भएमा तत्कालै नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा तुरुन्त उपचारको व्यवस्था मिलाउन समेत आग्रह गरेको छ ।
चिसो मौसममा कोभिड १९ को संक्रमण बढ्न सक्ने हुँदा स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउन र कोठाभित्र आगो, हिटरको प्रयोग गरी तातो बनाउँदा प्रर्याप्त मात्रामा भेन्टिलेशनको व्यवस्था मिलाउन प्रशासन कार्यालयले अनुरोध गरेको छ ।




