
लाप्राक एकीकृत बस्तीका पाँचसय ५४ जनाले पाए लालपुर्जा
गोरखाको धार्चे गाउँपालिका ४ लाप्राक गुप्सीपाखास्थित एकीकृत बस्तीका पाँचसय ५४ जनाले लालपुर्जा पाएका छन् । पाँचसय ७३ घरधुरी रहेको त्यहाँ बाँकीलाई केही समयभित्रै बितरण गर्ने तयारी रहेको वडा अध्यक्ष किसान गुरुङले बताए ।
२०७२ सालको भूकम्पले लाप्राकको पुरानोगाउँ ध्वस्त बनाएपछि गैरआवासीय नेपाली संघ(एनआरएनए)ले गुप्सीपाखामा पाँचसय ७३ घर निर्माण गरिदिएको थियो । सरकारी जग्गा मन्त्रिपरिषदबाट निर्णय गरेर घरधनीलाई २०७७ सालबाट लालपुर्जा वितरण गर्न थालिएको हो । पहिलो चरणमा २०७७ सालमा दुईसय ८० घरधनीलाई लालपुर्जा वितरण गरिएको थियो ।
दोस्रो चरणमा गत पुस १५ गते ल्होसारको अवसरमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले घरधनीलाई लालपुर्जा बितरण गरेका हुन् । दोस्रो चरणमा अन्तरगत पुस ९ गतेदेखि १६ गतेसम्म दुईसय ७४ घरधनीलाई लालपुर्जा वितरण गरिएको वडा अध्यक्ष गुरुङले बताए । मालपोत कार्यालयबाट आएको टोलीले लाप्राकमै पुगेर लालपुर्जा वितरण गरेको हो ।
अब १९ जनाको वितरण गर्न बाँकी रहेको र उनीहरुमध्य केही विदेशमा रहेको र केही मृत्यु भएकाले लालपुर्जा वितरण नभएको वडा अध्यक्ष गुरुङले बताए । बाँकी रहेको घरधनीहरको लालपुर्जा प्रिन्ट गर्न मात्र बाँकी रहेकोसमेत उनले बताए । अहिले घरधनीलाई लालपुर्जा प्राप्त गरेसँगै कानुनी रुपमा व्यक्तिको नाममा पुगेको उनले बताए ।
स्थानीयहरुलाइ दोहोरो समस्यामा नपर्ने गरी लाप्राकमै पुगेर लालपुर्जा वितरण गरिएको मालपोत कार्यालय गोरखाका प्रमुख शिव शर्माले बताए । कार्यालयबाट ८ जनाको टोली लाप्राकमै पुगेर करिब दुई सय ९० जनाको लालपुर्जा बनाएर फर्किएको उनले बताए । लालपुर्जा वितरणका लागि १३ गते लाप्राक पुगेको टोली १६ गते फर्किएको छ ।
कूल १८ दशमलव ३२ हेक्टर क्षेत्रफलमा फैलिएको एकीकृत नमूना बस्ती एक परिवारका लागि करीब तीन आना जग्गा वितरण गरिएको नमूना बस्तीमा प्रत्येक घर चार कोठाका दुई तलाको घर रहेको छ भने प्रत्येक घरका लागि छुट्टै शौचालयसमेत निर्माण गरिएको छ । बस्तीमा निर्माण भएका घर गोलाप्रथाबाट स्थानीयलाई छुट्याइएको थियो ।
उक्तबस्ती निर्माणका लागि एनआरएनए र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा सहरी विकास मन्त्रालय बीच २०७३ साल वैशाख १२ गते त्रिपक्षीय सम्झौता भएको थियो ।
दुई वर्षभित्रमा बस्ती निर्माण गरी भूकम्पपीडितलाई हस्तान्तरण गर्ने भनिए पनि करीब पाँच वर्षपछि मात्र बल्ल बस्ती हस्तान्तरण गरिएको हो ।




