| मङ्लबार, कार्तिक २४, २०८३

हिमाली संस्कृति : अहिंसाका लागि पशु चौपायाको ‘छेत्तर’

अहिंसाका पुजारी गोरखाको नुब्री(मनास्लु) क्षेत्रका बासिन्दाले यो बर्ष करिब एकसय पचास वटा याक, चौँरी, झोपालाई छेत्तर गरे(जन्तर लगाए) । चुमनुब्री गाउँपालिका १ सामागाउँमा खेम्पो पासाङ तेञ्जिन र खेम्पो कर्मा ओर्केनले धार्मिक विधिद्वारा डेढसय भन्दा धेरै याक, चौरी, भोपाको कानमा जन्तर बाँधेर छेत्तर गरेको स्थानीयको भनाइ छ ।

बिगत एक बर्ष यता खेम्पो पासाङ तेञ्जिङले ६० वटा र खेम्पो कर्मा ओर्केनले ७८ वटा याक, चौँरी, झोपाको छेत्तर गरेका हुन् । छेत्तर गरेपछि ती पशुलाई हिंसा नगर्ने, भारी पनि नबोकाउने र बेच्दा पनि नबेच्ने गरी जंगलमा छाड्ने चलन रहेको स्थानीय वीरबहादुर लामाले जानकारी दिए ।

नुब्री क्षेत्रमा सतप्रतिशत वुद्ध धर्मावलम्बीहरुको बसोबास छ । अहिंसालाई प्रवद्र्धन गर्न वुद्ध धर्म गुरुहरुले बर्षेनी छेत्तर गर्ने चलन रहेको लामाको भनाइ छ । ‘याक, चौरी, झोपालाई छेत्तर गर्ने हाम्रो नुब्रीको प्राचीन कालदेखिको परम्परा हो । छेत्तर गरेपछि याकचौँरीको पनि आयु बढ्ने, आफ्नो पनि आयु बढ्ने जनविश्वास छ’, स्थानीय वीरबहादुर लामा भन्छन्, ‘छेत्तर गरेपछि ती याक, चौँरी, झोपालाई काटमार गर्न पनि हुदैन, बेच्न पनि हुदैन, भारी बोकाउन पनि हुदैन ।’ छेत्तर गरेपछि ग्रहदशा काटिन्छ भन्ने जनविश्वास रहेको उनको भनाइ छ ।

छेत्तर गर्ने पशुचौपायालाई लामा गुरुहरुले पशुधनीहरुलाई न्यूनत्तम पैसा तिर्छन् । ‘एउटा याकलाई एकलाखसम्म पर्छ । तर छेत्तर गर्नका लागि लामा गुरुले नौ, दश हजार तिरेर लान्छन्’, अर्का स्थानीय मिङ्मार लामाले भने, ‘यसबर्षचाहिँ लामा गुरुले एउटाको ५० हजार रुपैयाँका दरले तिरेर ६० वटा याक, चौरीको छेत्तर गरे । अर्को खेपमा ७८ वटाको छेत्तर गरे ।’ याकचौँरीलाई छेत्तर गरेपछि ग्रह, दशा काटिन्छ भन्ने जनविश्वास रहेको उनको भनाइ छ ।

‘छेत्तर’ हिमालपारि अवस्थित नुब्री उपत्यकाको मौलिक संस्कृति हो । दुर्घटनामा नपरे एउटा याक करिब २० बर्ष बाँच । याक र झोपा २५, ३० बर्षसम्म बाँच्छ । छ, सात बर्ष पुगेर छिप्पेको याक, चौरी, झोपालाई लामाले दिन, बार मिलाएर छेत्तर गर्ने परम्परा छ ।

मन्त्र पढेर शुद्ध पारिएका पाँच रङका कपडाका टुक्रा(सुङ रे)लाई लामाले ती पशु चौपायाका कानमा झुण्ड्याइदिने चलन छ । कानमा त्यस्ता जन्तर झुण्ड्याएका पशुचौपायालाई काटमार गर्न नपाइने, बेच्ने, भारी बोकाउन, दूध दुहुनसमेत नपाइने परम्परा रहेको वडा अध्यक्ष कर्मा छेवाङ लामा बताउँछन् । उनका अनुसार त्यस्ता पशुचौपाया मरेपछि गिद्धलाई खुवाउने प्रचलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्