
जसले भगवदगीता छोएर सांसदको शपथ लिए
गण्डकी प्रदेशसभा सदस्यको शपथ लिन बुधबार एक जना सांसद हातमा रातो किताब लिएर संसद भवनभित्र छिरेका थिए । उनले शपथ लिनेबेला त्यो पुस्तक छोएर शपथ लिए । त्यो पुस्तक हिन्दुहरूको पवित्रतम् ग्रन्थ श्रीमद् भगवदगीता थियो ।
गोरखा १(ख) बाट निर्वाचित नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपानेले श्रीमद् भगवदगीता छोएर प्रदेशसभा सदस्यको शपथ लिएका हुन् । उनले हातमा शपथको व्यहोरा भएको फाइल लिएका थिए भने त्यसैले गीतालाई छोएर शपथ लिएका थिए ।
आफूले जनतालाई गरेको बाचाविपरीत नजाने गरी आफ्नो आस्था भएको ग्रन्थ लिएर शपथ खाएको न्यौपानेले बताए । ‘नागरिकले विश्वास गर्नुभयो । शपथ लिँदा गीतालाई साक्षी राखेर कसम खाएको छु,’ उनले शपथ लिएपछि भने, ‘जुन कसम मैले नागरिकबीच खाएको थिएँ त्यसलाई मैले विश्वास गर्ने आस्थालाई साथमा लिएर शपथ खाएको छु ।’
न्यौपाने पहिलोपटक संसदीय गतिविधिमा संलग्न भएका हुन् । उनी पार्टीको गोरखा जिल्ला सभापति हुन् । जनताले गरेको विश्वासलाई टुट्न नदिई इमानदार भएर प्रदेश सांसदको भूमिका निर्वाह गर्ने न्यौपानेले प्रतिबद्धता जनाए । पहिलो अनुभव भएकाले यसलाई चुनौतीको रूपमा लिएको उनले बताए । ‘प्रदेशको नीति कानुन बनाउने र नागरिकको विश्वास हामीसित जुन गर्नुभएको छ त्यसलाई पाँच वर्षभित्र काममार्फत देखाउनु छ,’ उनले भने, ‘त्यसैले मैले चुनौतीको रूपमा लिएको छ ।’
न्यौपानेसहित मुस्ताङका सांसद नम्डु गुरुङ पनि अन्यभन्दा फरक देखिए । कारण उनको पहिरन थियो । उनले हिमाली पहिरन लगाएका थिए ।
प्रदेशसभामा नवनिर्वाचित ५९ जना सांसदले बुधबार ज्येष्ठ सदस्य मित्रलाल बस्यालबाट शपथ लिएका हुन् । कांग्रेसका सरस्वती गुरुङ, पार्वती तामाङ र राप्रपाका पञ्चराम गुरुङले मातृभाषामा शपथ लिएका छन् ।
प्रदेशमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् । शपथ लिएका सांसद अब पुष १८ गते दिउँसो ३ बजे पहिलो बैठकमा सहभागी हुनेछन् । पहिलो बैठक बसेपछि सरकार गठनको प्रक्रिया अघि बढाउने योजना प्रदेश प्रमुखको छ । ६० सदस्यीय प्रदेशसभामा बहुमत पुर्याएर एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्दैछन् ।




