
मनास्लु क्षेत्रमा यस वर्ष छ हजारभन्दा धेरै पर्यटक, एक करोड ५७ लाख राजस्व संकलन
मनास्लु क्षेत्रको भ्रमण गर्ने पर्यटकको ग्राफ बर्षेनीउकालो लाग्दै गएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)का अनुसार विगतका वर्षहरुको तुलनामा यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक पुग्ने संख्या बढेको हो । भूकम्प, डेंगी, कोभिडको लकडाउन लगायतका कारण ओह्रालो लागेको पर्यटकको ग्राफ अहिले फेरि उकालो लाग्न थालेको छ ।
एमक्यापका अनुसार सन् २०२२ को जनवरीदेखि नोभेम्बरसम्म कुल छ हजार छ जनाले मनास्लु संरक्षण क्षेत्र भ्रमण गरेका छन् । जनवरीमा १२ जना, फेब्रुअरीमा ३८ जना, मार्चमा चार सय ७१ जना, अप्रिलमा सातसय ४२ जना र मेमा दुई सय ५३ जना मनास्लु संरक्षण क्षेत्रमा पुगेका एमक्यापको अभिलेखमा उल्लेख छ ।
जुन महिनामा तीनजना, जुलाईमा १२ जना, अगष्टमा एकसय ९५ जना विदेशी पर्यटकले मनास्लु क्षेत्र भ्रमण गरेका छन् । त्यस्तै सेम्टेम्बरमा ११ सय ८० जना, अक्टोबरमा दुई हजार ७१ जना र नोभेम्बरमा एक हजार २९ जनाले मनास्लु संरक्षण क्षेत्रको भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप) गोरखाका प्रमुख सत्यनारायण शाहले बताए । उनीहरु मध्ये एकसय २० जना सार्क राष्ट्रका थिए भने पाँच हजार आठ सय ८६ जना अन्य बाह्य मुलुकका रहेका हुन् ।
दुईबर्ष अघि अर्थात, सन् २०२० मा तीन सय ७४ जना र सन् २०२१ मा नौ सय २५ जनाले मनास्लु संरक्षण क्षेत्र भ्रमण गरेका थिए ।
यो वर्ष ६ हजार भन्दा बढी पर्यटकबाट एक करोड ५७ लाख ९८ हजार दुई सय ८५ रुपैया राजस्व संकलन भएको राष्ट्रिय प्रकृति संरक्षण कोष तथा मनास्लु संरक्षणको आयोजना गोरखाका लेखापाल छाङ दोर्जे लामाले बताए । उनका अनुसार सन् २०२१ मा २४ लाख २४ हजार नौ सय रुपैया संकलन भएको थियो भने सन २०२० मा नौ लाख ८७ हजार ६ सय ६० रुपैया मात्र संकलन भएको थियो । विगतको तुलनामा यो वर्ष पर्यटकको संख्या बढ्नुका साथै राजस्व पनि त्यही अनुपातमा संकलन भएको उनले जानकारी दिए ।
यस अघिका वर्षहरुमा भूकम्प, कोरोना, डेंगी लगायतका कारणले विदेशी तथा आन्तरिक पर्यटक पुग्ने दर निकै कम भएको थियो । तर अहिले कोभिडको त्रास पनि नरहेको र सबै कुरा सहज भएकाले पर्यटक आगमनको संख्या बढ्दै गएको कार्यालय प्रमुख शाहले बताए । तर पर्यटकको मुख्य सिजनमा चुमनुब्री गाउँपालिकाका विभिन्न क्षेत्रमा पहिरो जाँदा बाटो अवरुद्ध भई धेरै पर्यटक फर्कन बाध्य भएको उनको भनाइ छ ।




