
हिउँ नपर्दा हिमाली भेगका बासिन्दा चिन्तित
चुमनुब्री १ सामागाउँ र साम्दोमा बिगत बर्षहरुमा यतिबेला धेरै पटक हिउँ परिसकेको हुन्थ्यो । समुद्री सतहबाट ३३०० देखि ३८०० मिटरसम्म उचाइका यी गाउँहरुमा यतिबेला एक, दुई फिट हिउँ जमिरहेको हुन्थ्यो । तर यो साल पुसको आधाउधी वितिसक्दा अहिलेसम्म हिउँ परेको छैन ।
हिउँ नपर्दा गाउँलेहरु अचम्मित मात्र छैनन्, चिन्तित पनि छन् । ‘यसपटक खै के भयो, के भयो’, वडाअध्यक्ष कर्मा छेवाङ लामा भन्छन्, ‘बुढापाकाहरु पुस, माघमा ढुङ्गा पनि जम्छ भन्थे तर अहिले हिउँ पनि जमेको छैन ।’ हिउँ नपरेर जमिन धेरै सुख्खा भइसकेको छ । डँडेलो सल्किन्छ कि भन्ने त्रासमा रहेको उनको भनाइ छ ।
‘धेरै सुख्खा भयो भने डँडेलो लाग्ने डर हुन्छ’, उनी भन्छन्, ‘क्यैगरी डँडेलो सल्किहाले नियन्त्रण गर्न ज्यादै मुस्किल हुन्छ ।’ धेरै उच्च भूभाग भएकाले सामागाउँ र साम्दो अहिले कुनै पनि खेती छैनन् । बर्षमा एक खेती मात्र हुने यहाँ वैशाखमा फापर, करु र आलु मात्र लगाइन्छ ।
खेती राम्रो हुने वडा नं. २ ल्हो, वडा नं. ७ छेकम्पारका बासिन्दा पनि हिउँ नपरेपछि चिन्तित छन् । ‘पोहोर, परार यतिबेला तीन, चारपटक हिउँ परिसक्थ्यो । गहुँ, जौमा सुख्खा लागेको छ’, वडा नं. २ का अध्यक्ष मिङ्ग्युर दोर्जे भन्छन्, ‘धेरै सुख्खा छ । हावाहुरी बेस्सरी चल्छ । हावा हुरीले धुलो उँडाएर बस्नखान नसक्ने बनाएको छ ।’ हिउँ नपरेर किसान चिन्तित भएको उनले बताए ।
हिमाली क्षेत्रको अत्यन्तै उर्वर छेकम्पारमा बिगत बर्षहरुमा यतिबेला तीन, चारफेर हिउँ परिसक्थ्यो । भर्खर उम्रिदैका गहुँ, जौ हिउँको सिँचाइले गँजाएर आउँथे । तर यत्तिका दिनसम्म हिउँ नपरेपछि यहाँका किसान चिन्तित भएका वडाअध्यक्ष टासी दोर्जे लामाको भनाइ छ ।
‘पशुका लागि त हिउँ नपरेको ठिक हो, किनभने हिउँ परेपछि घाँसपात पाइँदैन तर मान्छेका लागि हिउँ पर्नुपर्छ नत्र खेतीपाती हुदैन’, उनी भन्छन्, ‘गहुँ, जौ उम्रिएको छ । तर सिँचाइ छैन । नहर, कुलोको चलन छैन । हिउँकै सिँचाइको भर हो । सिँचाइ नभए बाली सप्रिँदैन । धुलो उँडेर हैरान पारेको छ । डँडेलोले उत्तिकै डर छ ।’ बेस्सरी हावा चल्ने र धुलो उँडेर घरबाट बाहिर निस्कन पनि मुस्किल, बाटो हिँड्न पनि कठिन भएको उनको भनाइ छ ।
वडा नं. ६ भने डँडेलो नै लागिसक्यो । ‘सुख्खा लागेर सर्दीभीर र माथि चुम्चेतमा ठूलो डँडेलो लाग्यो’, वडाअध्यक्ष सरोज लामा भन्छन्, ‘हिमालतिर हे¥यो, बर्खामा जस्तै छ । हिउँ कत्तिपनि तल सरेको छैन ।’




