| मङ्लबार, कार्तिक २४, २०८३

चितवन छाडेर गोरखा आएका प्रचण्ड ‘प्रधानमन्त्री’

राजतन्त्रको उद्गम थलो हो गोरखा । यही थलोलाई जनयुद्धको जग बनाएका थिए प्रचण्डले । त्यसैले उनी बारम्बार सम्झना गर्छन्, जनयुद्धको पहिलो तालिम लिएको सिरानचोककोट, जनयुद्धको तयारीको क्रममा पहिलो हेडक्वाटर धुवाँकोट र जनयुद्धको पहिलो आक्रमण मध्येको साना किसान विकास आयोजना च्याङ्ली ।

त्यसैले उम्मेद्वारी दिन चितवन छाडेर गोरखा आएकै दिन उनी माओ चिनकाङसाङ फर्की आएको सम्झना गर्दै भक्कानिएका थिए । नभन्दै २० बर्षको राजनीतिक दौरानमा गोरखा फर्की आएका उनले गोरखा मात्रै जितेनन्, प्रधानमन्त्री समेत बने ।
पछिल्लो चरणमा उनी गोरखाली रिझाउनलाई बारम्बार पृथ्वीनारायण शाहको प्रसंसा गर्न चुक्थेनन् । कहिले तत्कालीन आवश्यकताले उव्जाएको नेपाल एकीकरणका नायक भन्दै प्रसंसा गर्थे, कहिले पृथ्वीनारायण शाहको सालिक तोड्न आफूले कहिल्यै निर्देशन नदिएको भन्न भ्याउँथे ।

चुनाव प्रचारप्रसारका क्रममा पनि उनी गोरखा दरबार, गोरखनाथ र गोरखकालीको मन्दिर पुगेका थिए । त्यसैले राजतन्त्रका पक्षपाती राप्रपासमेतको सहयोग जुटाएर अहिले प्रधानमन्त्री बन्न सफल बने ।

गोरखा २ बाट निर्वाचित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) संघीय गणतन्त्र नेपालको तेह्रौँ प्रधानमन्त्री बन्न सफल भएका छन् । गोरखा २ बाट २६ हजार १०१ मत प्राप्त गरी निर्वाचित उनी एमाले लगायतका पाँच दलको गठबन्धनमा प्रधानमन्त्री बन्न सफल भएका हुन् ।

यससंगै उनी तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् ।
यसअघि उनी पहिलो पटक २०६५ साल भदौ २२ गतेदेखि २०६६ जेठ ११ गतेसम्म सरकारको नेतृत्व सम्हालेका थिए । त्यतिबेला उनी काठमाडौँ १० बाट निर्वाचित भएका थिए । त्यस्तै दोस्रो पटक २०७३ साल साउन २० गतेदेखि २०७४ जेठ २४ गतेसम्म पनि उनी प्रधानमन्त्री बन्न सफल भएका थिए ।

त्यतिबेला उनी सिराहा ५ बाट निर्वाचित भएका थिए ।
एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमत पार्टीको समर्थनमा प्रधानमन्त्री बनेका दाहाल यसपटक गोरखा २ बाट विजयी भएका हुन् ।

वि.सं. २०११ मंसीर २६ गते कास्कीको ढिकुरपोखरीमा घनश्याम दाहाल बनेर जन्मेका उनी पुष्पकमल दाहाल बनेर बाल्यकाल र युवावय बिताउन चितवन पुगेका थिए । म्याट्रिक परीक्षा दिने बेला उनले नाम परिवर्तन गरी पुष्पकमल दाहाल बनाएका थिए ।

रामपुर, चितवनको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट कृषि विज्ञानको डिप्लोमा(आईएससीएजी) उतीर्ण गरी २०३३ सालदेखि २०३५ सालसम्म साँढे दुईबर्ष गोरखाको भीमोदय मावि आरुघाटमा कृषि विज्ञान विषय अध्यापन गरेका थिए ।
त्यसपछि उनले र र यूएसएआइडीद्वारा प्रायोजित जाजरकोटको ग्रामीण विकास परियोजनामा काम गरेका थिए ।

भविष्य निर्माण गर्ने जोशिलो युवावस्थामा सुदुर पश्चिम र गोरखाको दूर दराजको ग्रामीण जनजीवन देखेर गम्भीर भए । तत्कालीन नेपालमा विद्यमान गरिबीको अन्त्य गर्ने सपना बोकेर उनी वामपन्थी राजनीतिमा होमिए । त्यसबखत अर्थात २०३८ सालमा उनले छानेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) थियो ।

आठबर्ष त्यस पार्टीमा आवद्ध भई राजनीतिक अग्रमोर्चामा रहेपछि २०४६ मा नेपाल कम्युनिष्ट पार्टी(मशाल) जन्माए र, महासचिव बनेर पार्टीको नेतृत्व सम्हाले । कास्कीमा घनश्याम, चितवनमा पुष्पकमलका रुपमा सुपरिचित उनी पार्टी राजनीतिमा भने प्रचण्ड कहलाए ।

त्यही पार्टी पछि नेपाल कम्युनिष्ट पार्टी(माओवादी)मा रुपान्तरण भयो । प्रचण्ड २०४७ मा प्रजातन्त्रको पुनस्र्थापनापछि पनि भूमिगत नै थिए । त्यतिबेला भूमिगत रूपमै पार्टीको नेतृत्व गरिरहेका उनले सडक र सदनमा देखिने संरचना संयुक्त जनमोर्चा निर्माण गरी त्यसको नेतृत्वको जिम्मा बाबुराम भट्टराईलाई दिए ।

२१ माघ २०५२ सालमा भट्टराईले तत्कालीन प्रधानमन्त्री प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई दिए र ती पूरा नभए सशस्त्र युद्धमा जाने धम्की दिए । राष्ट्रियता, लोकतन्त्र र जीविकोपार्जनसम्बन्धी मागहरू र नेपाली उद्योग, व्यवसाय र वित्तमा विदेशी पुँजीको प्रभुत्व बन्द गरियोस् लगायतका माग समेटिएका थिए ।

त्यस्तै, सन १९५० को नेपाल–भारत सन्धि लगायतका भेदभावपूर्ण सन्धि खारेज गरियोस्, भारतीय नियन्त्रणमा रहेका नेपाली भूमि फिर्ता ल्याइयोस्, जमिनदारका अकूत जमिन जफत गरी भूमिहीन र घरबारविहीनहरूलाई बाँडियोस् लगायतका माग थियो ।

त्यसबेलाको सरकारले पार्टीका मागहरु बेवास्ता गरेपछि २०५२ फागुन १ गतेदेखि उनको नेतृत्वमा नेकपा माओवादीले भूमिगत रुपमा सशस्त्र युद्ध आरम्भ गरेको थियो । विशेषगरी पश्चिम नेपालका पहाडी क्षेत्रमा लालकिल्ला स्थापनामा तल्लीन भए । छापामार युद्धलाई पश्चिम नेपालबाट मध्य र पूर्वी पहाडी जिल्लाहरुसम्म फैलाए ।

जनयुद्धकै दौरानमा २०६२ मंसीर ७ मा प्रचण्ड र तत्कालीन सात दलको गठबन्धनले १२ बुँदे सहमति जारी ग¥यो । विस्तृत शान्ति सम्झौता हुदै खुल्ला रुपमा संसदीय राजनीतिमा प्रवेश गरेका प्रचण्ड नेतृत्वको नेकपा माओवादी २०६४ को संसदीय निर्वाचनमा बहुमत प्राप्त ठूलो पार्टी बन्न सफल भयो ।

१० बर्षे सशस्त्र जनयुद्ध, त्यसपछिको शान्ति प्रक्रिया, पहिलो नेपाली संविधानसभा कालका शक्तिशाली प्रधानमन्त्री हुँदै उनी अहिले तेस्रो पटक प्रधानमन्त्री बन्न सफल भएका छन् । जुन संसदीय व्यवस्था बदलेर जनवादी राज्य व्यवस्था स्थापनाका लागि जनयुद्ध लडे, त्यही संसदीय व्यवस्थामा बिगत २० बर्षदेखि केन्द्रीय पात्र बनेर उनी अहिले पुन प्रधानमन्त्री बन्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्