
गोरखा बजारको पदेलीमा किरियापुत्री भवन निर्माण
गोरखा नगरपालिका वडा नं ६ पदेली धारा नजिकै निर्माण भएको कृष्णदेवी किरियापुत्री घर उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रम गरी कृष्णदेवी किरियापुत्री घर उदघाटन् गरिएको हो ।
गोरखा ठुलो आँगन निवासी श्रीमती कृष्णदेवी श्रेष्ठले भवनको उद्घाटन गरेकी हुन् । श्रेष्ठको आर्थिक सहयोगमा भवन निर्माण भएको हो । १८ लाख ५९ हजार लागतमा भवन निर्माण सम्पन्न भएको निर्माण समितिका अध्यक्ष अयोध्या जोशीले बताए ।
२०७७ सालबाट सुरु भएको भवन ०७८ सालमा सम्पन्न भएको र गत मंसिर मसान्तमा सबै काम सम्पन्न भई अहिले उद्घाटन गरिएको जोशीले जानकारी दिए । कोभिड लगायतका विभिन्न कारण भवन निर्माण कार्यमा केही ढिलाई भएको उनको भनाइ छ ।
किरियापुत्री भवनमा पानी, बत्ती, चर्पी सुविधा सहित तल्लो तलामा दुई वटा कोठा र माथिल्लो तला एउटा ठूलो हल बनाइएको छ ।
५० जना भन्दा बढी मानिस अट्न सक्ने हल निर्माण गरिएको उनले जानकारी दिए । उनका अनुसार राजुबाबु श्रेष्ठको समन्वयमा भवन निर्माण भएको हो ।

कार्यक्रममा भवन निर्माण समितिका कोषाध्यक्ष दिपकबाबु श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
स्थानीय तथा बाहिरबाट आइ बसोबास गरेकाहरुले किरिया बस्न मिल्ने गरी भवन बनाइएको बताइएको छ ।
अव किरियापुत्री भवन संचालन समिति गठन गरी उनीहरुले भवन संचालनका लागि आवश्यक शुल्क तोक्ने र भवन संचालनमा लागि खुल्ला गरिने उनले जानकारी दिए ।

भवन निर्माण समितिका अध्यक्ष अयोध्या जोशीको अध्यक्षता तथा श्रीमती कृष्णदेवी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुर्व सांसद जीवनप्रेम श्रेष्ठ, वडा अध्यक्ष राजेन्द्र कुमार जोशी, जेष्ठ नागरिक जिल्ला संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठ, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, ऐतिहासिक क्षेत्र संरक्षण समितिका अध्यक्ष सुरेशमान श्रेष्ठ, समाजसेवी धिरजबहादुर मास्के लगायतले मन्तव्य राखेका थिए ।




