
गोरखाबाट प्रतिनिधित्व गरेका माओवादीका तीन सांसद शीर्ष पदमा
संसदमा गोरखाबाट प्रतिनिधित्व गरेका नेकपा माओवादी केन्द्रका तीन नेता तीन उच्च पदमा चयन भएका छन् ।
गोरखा २ बाट निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बिहिबार सम्पन्न संसदीय दलको बैठकबाट प्रचण्ड सर्वसम्मत दलको नेता चयन भएका हुन् ।
सोही बैठकले गोरखाका सांसद हितराज पाण्डेलाई दलको प्रमुख सचेतकमा चुनेको छ । पाण्डे पालुङ्टार ६ गोरखाका हुन् ।
यस्तै राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ सिरानचोक ८ जौबारी निवासी हुन् ।
माओवादी केन्द्रमा ३२ सांसद छन् । संसदीय दलको बैठकअघि माओवादी पदाधिकारी बैठक बसेको थियो ।
संसदमा गोरखाबाट प्रतिनिधित्व गर्ने प्रचण्ड माओवादीका अध्यक्ष, श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र पाण्डे माओवादीका सचिव हुन् ।




