| मङ्लबार, कार्तिक २४, २०८३

मन्त्री श्रेष्ठद्वारा ढाका बुनाई तथा वारपिङग भर्ने तालिमको उद्घाटन

गोरखाकाली हस्तकला उद्योगद्वारा संचालित ढाका बुनाई तथा वारपिङ्ग भर्ने एक हप्ते पुनर्ताजगी तालिमको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले मंगलबार तालिमको उद्घाटन गरेका हुन् ।

मन्त्री श्रेष्ठले उत्पादनसँग जोडेर महिलाहरुलाई आत्मानिर्भर बनाउन उक्त कार्यक्रम संचालन गरिएको बताए । महिलाहरुलाई सक्षम, सबल र आत्मनिर्भर बनाउन कार्यक्रम संचालन गरिएको बताउँदै यहाँ उत्पादन भएका सामग्री सबैले प्रयोग गर्नुपर्ने उनले बताए । स्वदेशी उत्पादित सामग्रीको प्रयोगलाई सबैले जोड दिनुपर्ने उनको भनाइ छ ।

गोरखा नगरपालिका वडा नं ८ मा रहेको गोरखकाली हस्तकला उद्योगमा संचालन हुने एक हप्ते पुनर्ताजगी तालिममा नगरपालिकाभित्रका १५ जना महिलाहरुको सहभागिता हुनेछन् । महिला दिदीबहिनीहरुलाई सिपको आवश्यकता रहेको र उनीहरुले प्राप्त गरेको सिपलाई रोजगारीमा परिणत गरी आर्यआर्जनमा सहयोग पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको गोरखकाली हस्तकला उद्योगका अध्यक्ष रिता रेग्मी अर्यालले बताइन् ।

महिलाहरु सिप सिकेर आर्थिक रुपमा स्वाबलम्बन भई सामाजिक राजनीतिक अघि बढ्न तालिमले धेरै सहयोग पु¥याउने उनको भनाइ छ । घरघरमा रोजगार, हातहातमा सिप भन्ने अभियानका साथ तालिम संचालन हुने बताउँदै स्थानीय स्तरमा उत्पादित हस्तकला तथा ढाकाबाट बनेका सामग्री सबैले प्रयोग गरिदिन समेत उनले आग्रह गरिन् ।

एक हप्ताको अवधिमा पछ्यौरा, सल, साडी लगायत ढाकाबाट बन्ने विभिन्न हस्तकला सामग्रीहरुका साथै वारपिङ भर्ने तरिका सिकाइने उद्योगका कोषाध्यक्ष अस्मिता कट्टेलले जानकारी दिइन् ।

कार्यक्रममा महिला उद्यमी संघ जिल्ला उपाध्यक्ष सुष्मा श्रेष्ठले सिप सिकेर यसै छाड्न नहुने बताईन् । उनले अहिले ढाकाबाट उत्पादन हुने लुगाकपडाको ‘भेराइटी’ बढ्दै गएको बताउँदै यसमा निरन्तर लागि परे अवश्य सफल हुने बताइन् ।
पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटाले तालिम लिएपश्चात परिणाम देखिने गरी उत्पादनमा जोड दिनुपर्ने बताए । गोरखकाली हस्तकला उद्योगबाट स्थानीय स्तरमा प्राप्त कच्चा पदार्थलाई प्रयोग गरी समयानुकुल लत्ताकपडाको उत्पादन गरी बजार व्यवस्थापनमा जोड दिएमा मात्र तालिमले सार्थकता पाउने उनले जोड दिए ।

तालिम लिएपछि तत्काल पैसा आउदैन भनेर निराश हुन नपर्ने बताउदै प्रशिक्षक मिरा तुम्बाहाम्फेले आफुसँग सिप भएपछि काम गर्दै जाँदा विस्तारै सफलता प्राप्त गर्दै जाने बताइन् । उनले जिल्लामा उत्पादन भएका हस्तकलाका सामग्रीहरु स्थानीय तह, जिल्ला लगायत अन्य मुलुकमा पठाएर पनि महिलाहरुले आर्थिक आर्यआर्जन गर्न सकिने बताइन् ।

कार्यक्रममा निवर्तमान उपमेयर विना कुमारी श्रेष्ठले महिलाहरु उद्यमी भएमा मात्र नगरपालिका समृद्धि हाँसिल गर्न सकिने बताइन् । त्यसैले महिलाहरुले उत्पादनमा जोड बजार व्यवस्थापनतर्फ लाग्नुपर्ने बताइन् ।

सोही कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगरले यहाँ उत्पादित हस्तकला सामग्री विश्व बजारमा पु¥याउन सहयोग गर्नुपर्ने बताए ।

गोरखकाली हस्तकला उद्योगकी सचिव सिर्जना पाण्डेले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।

गोरखकाली हस्तकला उद्योग गोरखाका अध्यक्ष रिता रेग्मी अर्यालको अध्यक्षता तथा शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री मेखलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन ब. थापामगर, उपप्रमुख लिला परियार, गोरखा नगरपालिकाका निवर्तमान उपमेयर विनाकुमारी श्रेष्ठ, वडाअध्यक्ष, नगरपालिकाका नगरकार्यपालिका सदस्य, उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, महिला उद्यमी महिला संघ गोरखाका उपाध्यक्ष सुष्मा श्रेष्ठ, गोरखकाली हस्तकला उद्योगका कोषाध्यक्ष अस्मिता कट्टेलले लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्