| मङ्लबार, कार्तिक २४, २०८३

चम्पावती हाईड्रोपावरले भन्यो, ‘काम गर्न सुरक्षा थ्रेट छ’

चम्पावती हाईड्रोपावर लिमिटेडले प्रवद्र्धन गरिरहेको ‘चेपे ए’, जलविद्युत आयोजनामा काम गर्न सुरक्षा ‘थ्रेट’, रहेको निर्माण कम्पनीले जनाएको छ । शनिवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै कम्पनीका अध्यक्ष हरिराम पराजुलीले भने, ‘अहिले काम गर्ने वातावरण छैन, जिउ ज्यानकै सुरक्षामा खतरा छ । मलाई त ज्यान मार्ने सम्मको ‘धम्की’ छ ।’

गोरखा र लमजुङको सिमानामा बन्न लागेको ‘चेपे ए’ आयोजनाले राईनास नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्मको आठसय ५० हेक्टर जमिनमा सिंचाई असुविधा हुने भन्दै स्थानीय आन्दोलित छन् । आन्दोलनरत स्थानीयले मंसिर २४ गते आयोजनाको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । त्यसयता आयोजनाले काम बन्द गरेको छ । ‘ममाथि ज्यान मार्ने धम्की छ । घरपरिबार आतंकित छन् । काम कहिलेबाट सुरु गर्ने भन्ने यकिन छैन’, आयोजनाका अध्यक्ष पराजुलीले भने ।

सिंचाईको नहर भन्दा तल आयोजनाले विद्युतगृहको पानी झारेपछि नहरमा पानी नचढ्ने र आठ सय ५० हेक्टर जमिन खुख्खा हुने दावी स्थानीयको छ । आयोजनाले भने, प्राविधिक दृष्टिकोणले सबै ठिक रहेको र नहर भन्दा माथि नै पानी झर्ने दावी गरेको छ । ‘प्राविधिक कुरा उहाँहरुले मान्नुपर्छ, हामी सिंचाई आयोजनाभन्दा माथि पानी झर्छ भन्नेमा विश्वस्त छौँ’, आयोजनाका अध्यक्ष हरिराम पराजुलीले भने, ।

स्थानीयले प्राविधिक पक्षलाई बेवास्ता गरेर पटक–पटकको बार्ता, छलफलमा आफ्नो माग मात्रै तेर्साउने गरेको बताए । शनिवार कार्यालय तोडफोड, आगजनीपछि कम्पनीले आठ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको छ । उक्त घटनापछि ३३ करोड ४० लाख रुपैयाँ बरावरको क्षति भएको चम्पावती हाईड्रोपावर लिमिटेडका अध्यक्ष पराजुलीले बताए ।

उक्त घटनाले जलविद्युत क्षेत्रमा लगानी गर्ने लगानीकर्ता एवं सरोकारवालाहरुमा नकारात्मक असर परेको दावी गरिएको छ । संचालक समितिले एक बिज्ञप्ति जारी गर्दै आयोजना क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभुतिको पनि माग गरेको अर्का संचालक दुर्गा श्रेष्ठले बताए ।

आयोजनाका अध्यक्ष पराजुलीले स्थानीयले अहिले भने, जस्तो सिंचाई आयोजनामा पानी नगए सरकारले विद्युत नै खरिद नगर्ने बताए । ‘जसरी पनि अयोजना असफल बनाउने उद्देश्य केही स्थानीयको छ’, उनले भने, ‘निर्धारित ठाउँमा पानी खसेन भने आयोजना बन्द गर्नुपर्छ । हामी यसमा प्रतिवद्ध छौँ ।’ साथै उनले केही ब्यक्तिको निजी स्वार्थका कारण आयोजनामाथि आक्रमण भएको दावी गरे ।

प्रवद्र्धक कम्पनीले आयोजना प्राविधिक दृष्टिकोणले सही रहेको दावी गरिरहेको छ भने, राइनासटारका बासिन्दाले भने सामाजिक मुद्धामा आयोजनाले ध्यान नदिई लामो समयदेखि सिंचाई गर्दै आएको किसानको खेत सुकाउन खोजेको दावी गरेका छन् । यस विषयमा बिवाद हुँदा आगजनी र तोडफोड भएको थियो । आयोजनाको काम कसरी अघि बढ्छ भन्ने अन्यौल थपिएको छ ।

एक अर्व ३२ करोड लागतमा उक्त आयोजना दुई वर्षअघिदेखि निर्माण सुरु भएको हो । छ महिना भित्र सम्पन्न गर्ने उद्देश्य रहेपनि अब काममा अन्यौल भएको संचालक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्