| मङ्लबार, कार्तिक २४, २०८३

आरुघाटको दरबार माविमा ‘एक शिक्षक एक ल्यापटप’ र ‘एक कक्षाकोठा एक प्रोजेक्टर’ कार्यक्रम सुरु

आरुघाट गाउँपालिका वडा नं ८ आरुपोरीको दरबार माविमा समयसापेक्ष प्रविविधिमैत्री शिक्षण सिकाई क्रियाकलाप संचालन गर्नका लागि ‘एक शिक्षक एक ल्यापटप’ र ‘एक कक्षाकोठा एक प्रोजेक्टर’ कार्यक्रम सुरु गरिएको छ ।

शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा ‘एक शिक्षक एक ल्यापटप’ र ‘एक कक्षाकोठा एक प्रोजेक्टर’ कार्यक्रम आरम्भ गरिएको प्रधानाध्यापक गोविन्दप्रसाद भट्टले बताए । उनका अनुसार यो योजना सम्पन्न गर्नका लागि वडा नं ८ कार्यालयले आर्थिक वर्ष २०७९÷०८० मा ६ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो भने वडा नं ७ बाट ५ लाख रुपैया विनियोजन गरिएको थियो । विनियोजित रकमबाट कक्षा एकदेखि कक्षा १२ सम्म प्रत्येक कक्षाकोठामा प्रोजेक्टर जडान गरिएको उनले बताए । त्यस्तै, विद्यालयमा कार्यरत २० जना शिक्षकलाई एक÷एक थान ल्यापटप वितरण गरिएको प्रधानाध्यापक भट्टले जानकारी दिए ।

विद्यालयलाई प्रविधिमैत्री बनाउन दुवै वडा अध्यक्षले गरेको योगदान र सहयोगलाई उच्च मूल्यांकन गर्दै प्रधानाध्यापक भट्टले प्रविधिमैत्री शिक्षण शिकाइबाट विद्यार्थीहरुको शैक्षिक स्तरमा धेरै सुधार हुने बताए । त्यस्तै, पालिकाबाट प्राप्त बजेटले केही सामान अपुग भएकाले सम्भव नेपालसँगको समन्वयमा ४ स्थान ल्यापटप र ३ थान प्रोजेक्टर विद्यालयलाई प्राप्त भएको पनि उनले बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु गुरुङले प्रविधिको उच्चत्तम प्रयोगबाट विद्यार्थीले युगअनुकुल गुणस्तरीय शिक्षा प्राप्त गर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर अधिकारीको अध्यक्षतामा तथा आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष गणेश अधिकारी र वडा नं. ८ का अध्यक्ष मुरारी खनाल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्