| मङ्लबार, कार्तिक २४, २०८३

कृषि पकेट क्षेत्र विस्तार गर्दै गोरखा नगरपालिका

नगरपालिकाभित्र व्यवसायिक कृषि व्यवसाय प्रवद्र्धन गर्न गोरखा नगरपालिकाले कृषि पकेट क्षेत्र विस्तार गर्ने कार्यक्रम कार्यान्वयन गर्न थालेको छ ।

१४ वटा वडामा अनुकूल हुन सक्ने बालीहरु निर्धारण गरी पकेट कार्यक्रम माग गर्न नगरपालिकाले सार्वजनिक सूचना आव्हान गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासंग सहकार्य गरी नगरपालिकाले कृषि पकेट कार्यक्रम लागु गर्न लागेको हो ।

नगरपालिकाले वडा नं. १ मा मौरी र अदुवा बालीको पकेट कार्यक्रम लागु गर्न किसानहरुसित आवेदन माग गरेको छ । त्यस्तै वडा नं. २ मा कफी र तरकारी खेती, वडा नं. ३ मा तरकारी र वडा नं. ३ मा सुन्तला र कफी पकेट कार्यक्रम सञ्चालन गर्न इच्छुक कृषि समूह तथा कृषि सहकारीसित आवेदन माग गरेको छ ।

त्यस्तै वडा नं. ४ मा कफी र सुन्तला, वडा नं. ५ मा सुन्तला, वडा नं. ६ मा र वडा नं. ७ मा पनि तरकारी पकेट कार्यक्रम सञ्चालन गर्न कृषि समूह तथा कृषि सहकारीसित निवेदन माग गरेको छ । त्यस्तै वडा नं. ८ मा मौरी र तरकारी बाली, वडा नं. ९, १०, ११, १२ र १३ मा तरकारी पकेट कार्यक्रम सञ्चालन गर्न र वडा नं. १४ तरकारी र सुन्तला पकेट कार्यक्रम सञ्चालन गर्न नगरपालिका कार्यालयले आवेदन माग गरेको छ ।

एक महिनाभित्र निवेदन संकलन गरी नगरपालिकाले विभिन्न वडामा विभिन्न पकेट कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । ‘पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्न कृषि समूह तथा सहकारीले सम्बन्धित बाली कम्तिीमा दुईसय रोपनी क्षेत्रफलमा खेती गर्नुपर्ने मापदण्ड तोकिएको छ’, नगरप्रमुख कृष्ण रानामगरले भने, ‘पकेट कार्यक्रम सञ्चालन गर्न छनौट भएका किसानले कूल लागतको ५० प्रतिशत रकम नगरपालिकाबाट पाउनेछन् ।’

निवेदन संकलन भएपछि छिट्टै सबैभन्दा उपयुक्त कृषि सहकारी तथा कृषि समूह छनौट हुने उनले बताए । ‘फिल्डभिजिट गरेर कृषि समूह वा कृषि सहकारी छनौट गर्नेछौँ । त्यसो हुँदा अनुदानका लागि मात्र आवेदन दिनेहरु हुन् वा बास्तवमै सक्रिय रुपमा व्यवसाय गर्नेहरु हुन् भन्ने छुट्याउने छौँ’, उनले भने ।
सो कार्यक्रमका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १२ लाख र नगरपालिकाले ३५ लाख रुपैयाँ विनियोजन गरेका छन् ।

साथै नगरपालिकाले बिगत बर्षदेखि पकेट कार्यक्रम गरिरहेका किसानलाई सो कार्यक्रम नविकरण गर्न पनि निवेदन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्