
गोरखाका ग्रामीण क्षेत्रमा हाते ट्याक्टको प्रयोग बढ्दो
गोरखाका ग्रामीण क्षेत्रहरुमा हाते टयाक्टरको प्रयोग बढ्दै गएको छ । जिल्लाका धार्चे, बारपाक सुलिकोट, आरुघाट लगायतका विभिन्न पालिकाकामा हाते टयाक्टरको प्रयोग बढेको देखिन्छ ।
गोरुलेभन्दा हाते टयाक्टरले जोत्दा धेरै सजिलो र कम खर्चिलो हुने भएकाले यसप्रति आकर्षण बढ्दै गएको धार्चे गाउँपालिका ४ लाप्राकका कृषक रिपीलाल गुरुङले बताए । ‘अहिले आलुको विउ लगाउने सिजन सुरु भएको छ । यो बेला हलो जोत्दा गोरुलाई घाँस काट्नुपर्छ तर हाते टयाक्टर प्रयोग गर्दा घाँस काट्नु पर्दैन’, उनले भने, ‘हलोले जोत्दा माटोको डल्लो फुटाल्नु पर्ने हुन्छ । हाते टयाक्टरको प्रयोगले माटोको डल्ला फुटाइरहने झञ्झट पर्दैन । धेरै सजिलो भएको छ ।’ खेतबारी जोत्न हाते टयाक्टर धेरै सहज हुने भएपछि सबै तिरबाट माग बढिरहेको उनले बताए ।
क्युलुम्चेत, नम्बे लगायतका क्षेत्रमा आलु रोप्ने कार्य हाते टयाक्टर प्रयोग बढिरहेको छ । आलुसँगै मकैको विउ लगाउने कार्यमा हाते टयाक्टरको प्रयोग हुदै आएको छ । हाते टयाक्टर बोकेर जता पनि लान मिल्ने बताउदै लेक बेसी खेतकारी जोत्न पनि सजिलो हुने गरेको उनको अनुभव छ ।
धान उत्पादनन हुने भएकाले आलु र मकै यहाँका मुख्य खाद्यान्न बाली हो । कृषि ज्ञान केन्द्र गोरखाबाट गुप्सीपाखा कृषक समूहमार्फत उक्तहाते टयाक्टर प्राप्त भएको हो । धार्चे गाउँपालिका लाप्राक, गुम्दा, काशीगाउँलगायका गाउँहरुमा पनि हाते टयाक्टरको प्रयोग बढ्दै गएको छ । गोरखा काशीगाउँमा पनि पावर टिलरले खेतबारी जोत्दै आएका छन् । स्थानीयहरुका अनुसार एक हल गोरुले दिनभरि लाग्ने ठाउँमा पावर मिनी तथा पावर टिलरले १ घण्टामै जोत्ने गरेको काशीगाउँका कृषकहरु बताउँछन् ।

विभिन्न कार्यक्रमअन्तरगत आएका बजेटहरु किसानको मागअनुसार हाते टयाक्टर उपलब्ध गराउदै आएको कृषि ज्ञान केन्द्र गोरखका प्रमुख परशुराम अधिकारीले बताए । तर यो वर्ष हाते टयाक्टर वितरणका लागि भनेर छुट्टै रकम नभएको उनले जानकारी दिए । गोरखाका ग्रामीण क्षेत्रमा हाते ट्रयाक्टरको प्रयोगले समय, श्रमिक र खर्च कम हुने भएकाले किसानहरु त्यसतर्फ आकर्षण बढ्दै गएको उनको भनाइ छ ।
गोरु पाल्दा धेरै दुख हुने, काम नभएको बेलामा पनि पालि रहनुपर्ने लगायतका धेरै समस्या हुने भएको सजिलो, कम खर्चिलोका लागि हाते टयाक्टरको प्रयोग बढ्दै गएको उनले जानकारी दिए ।
कृषिलाई यन्त्रीकरण र आधुनिकीकरण गर्दै लाने सरकारी नीतिअनुरूप हाते टयाक्टर,पावर टिलरले खेत जोतेसँगै कार्यान्वयन सुरु भएको छ ।
त्यसो त जिल्लाको पहाडी भूगोलमा ठूला ट्रयाक्टरले जोत्न सजिला ठाउँ निकै कम छन । आकार सानो, जोत्न सजिलो र अनुदानको व्यवस्थाले पनि किसानले हाटे ट्रयाक्टरको उपयोग बढाएका हुन । स्थानीय तहहरूले किसान र तिनका समूहलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराएपछि पनि हाते ट्रयाक्टरको प्रयोग बढेको हो ।




