
केरौजावेशी बर्षौँदेखि विद्युतविहिन
गण्डकी प्रदेश सरकारले उज्यालो गण्डकी अभियान सञ्चालन गरेको पाँच बर्ष बित्यो । यही शीर्षकमा अर्बौँ खर्च पनि भइसकेको छ तर गोरखाको धार्चे २ केरौजावेशीका बासिन्दाले भने अहिलेसम्म पनि विजुली बत्ती बल्न पाएका छैनन् ।
दुर्गम क्षेत्रमा पर्ने यहाँका ३० घरधुरीका बासिन्दा अहिले सोलार लाइट बालेर रात गुजारिरहेका छन् । ‘गाउँपालिकाले प्रत्येक घरधुरीलाई १० वाटको सोलार लाइट दिएको थियो । त्यो पनि कसैको बिग्रिसक्यो, कसैको बाँकी छ’, स्थानीय फिरेन्द्र घलेले भने, ‘विजुलीबत्तीको लाइन नहुँदा गाउँलेलाई मोबाइल चलाउन पनि समस्या भएको छ ।’ सो सोलार प्रविधिमा मोबाइल चार्ज गर्न पनि नमिल्ने उनले बताए ।
भूकम्प लगत्तै आएको एउटा संस्थाले गाउँलेलाई १०० वाट क्षमताको सोलार उपकरण उपलब्ध गराएको थियो । त्यसलाई भूकम्पले भत्किएर बचेको विद्यालयको कोठामा राखेर गाउँलेको मोबाइल चार्ज गर्ने साझा ‘मोबाइल चार्जिङ सेण्टर’ बनाएको उनले बताए । घरघरमा विजुली वत्ती नभएकाले गाउँलेहरु यहीँ आएर पालैपालो मोबाइल चार्जगर्ने गर्छन् ।
२०७२ सालअघि यहाँ ५० घरधुरीका बासिन्दाको बसोबास थियो ।भूकम्पले धेरैलाई उठिबास लगाएपछि कोही लामावेशी, कोही कतै बस्न पुगे । भूतखोला लघु जलविद्युत आयोजनाबाट उत्पादन भएको ४५ किलोवाट विद्युत यहाँ जोडिएको थियो ।
भूकम्पले सो आयोजना पनि क्षतिग्रस्त भयो । भूकम्पपछि प्राय सबै ठाउँका आयोजना मर्मतसम्भार भए तर केरौँजाबेशीको सो आयोजना मर्मतसम्भार नभएकाले गाउँलेले समस्या भोग्नु परेको घलेले बताए ।
‘गाउँमा योजना माग्न सक्ने पनि छैनन्, हक, अधिकार खोज्न सक्ने पनि कोही छैनौँ’, घलेले भने, ‘गाउँपालिका, वडा कार्यालयलाई त भनिरहेका छौँ, तर आजसम्म कसैले वास्ता गरेका छैनन् ।’ यहाँबाट नजिकै रहेको लामावेशीमा केन्द्रीय प्रशारणको लाइन जोडिएको छ । त्यसलाई यहाँसम्म विस्तार गरेर गाउँलेलाई विद्युत उपलब्ध गराउनु पर्ने गाउँलेको माग रहेको उनी बताउँछन् ।




