
ऐतिहासिक ठूलोआँगन खन्न अबरोध : एउटा वडाअध्यक्षको नेतृत्वमा खनियो, अर्को वडाअध्यक्षको नेतृत्वमा पुरियो
गोरखा नगरपालिका ६ का वडाअध्यक्ष दिलिप जोशीको नेतृत्वमा खनिएको ऐतिहासिक तथा पुरातात्विक महत्वको ठूलोआँगन वडा नं. ३ का अध्यक्ष चुलबहादुर कुँबरको नेतृत्वमा पुरिएको छ ।
जोशीको नेतृत्वमा सोमबारदेखि खन्न सुरु गरिएको ऐतिहासिक तथा पुरातात्विक ठूलोआँगन मंगलबार कुँबरको नेतृत्वमा आएको ५० जना भन्दा धेरै जनाको टोलीले पुरेको हो । ठूलोआँगनको प्राचीन संरचना भत्काएर अर्को ढंगले बनाउँदा स्थानीयको दैनिक जनजीवन कष्टकर हुने भन्दै पुरेको वडाअध्यक्ष कुँबरले बताए ।
गोरखा नगरपालिकाको करिब २२ लाख रुपैयाँ बजेट तथा कार्यक्रम अनुसार ठूलोआँगनको प्राचीन संरचना खनेर आँगनको बीचमा पृथ्वीनारायण शाहको सालिक र नेपालको नक्शा राख्न लागिएको थियो । संग्रहालयभित्र एउटा सालिक हुँदाहुँदै जनजीवन कष्टकर हुने गरी सयमिटरको दुरीभित्रै अर्को सालिक बनाउन आवश्यक नरहेको भन्दै मंगलबार दिउसो भेला भएका स्थानीयबासीले सालिक निर्माणस्थल पुरेका हुन् ।

सो संरचनाले आँगनको मौलिकता पनि गुम्ने र गोरखा नगरपालिका वडा नं. ५ सतिपिपल, गैरीकुवा, गोरखा दरबार क्षेत्र र वडा नं. ३ नारेश्वर क्षेत्रका बासिन्दालाई आवतजावत गर्न कठिन हुने भन्दै आक्रोशित युवाहरुले खाल्डो पुरेका वडा नं. ३ का वडाअध्यक्ष कुँबरले बताए । नगरपालिकाले वैकल्पिक बाटो तत्काल तय नगरी ठूलो आँगनबाट माथि जाने बाटो बन्द गरेर शालिक निर्माण गर्न लागेकाले विरोध जनाएको कुँवरले बताए ।
‘यसले गर्दा नारेश्वरबासीलाई मात्र होइन, पिपलथोक, पँदेलथोक, पोखराथोक, गोरखा दरबारक्षेत्र, गैरीकुवा, सपिपिपल जाने बाटो पनि बन्द हुन्छ’, उनले भने, ‘तर पटकपटक वैकल्पिक बाटो तयार गर्न नगरपालिकासंग माग गरे पनि स्थानीयबासीको माग पूरा भएन, बरु धमाधम आँगन खन्न थालियो ।’ ठूलो आँगनको बीच भागमा शालिक निर्माण हुन लागेको र यसले सवारी आवागमनमा समस्या हुने भएपछि काम रोकेको उनले बताए । शालिक राख्ने कुरामा कुनै विवाद नभएको तर वैकल्पिक बाटो तयार नभएसम्म विरोध गरिरहने उनले जानकारी दिए ।
स्थानीय रामशरण कट्टेलले ठूलोआँगन हुदै सबै ठाउँमा पुग्न धेरै सहज र छिट्टै हुने तर अन्य बाटोबाट जाँदा धेरै समय लाग्ने बताए । ठूलो आँगनमा सालिक निर्माण भएपछि ठूला सवारी साधन चल्न नमिल्ले हुँदा स्थानीयबासी मर्र्कामा पर्ने उनको भनाइ छ । विरोधपछि शालिक निर्माण कार्य रोकिएको छ ।

स्थानीयले अबरोधपछि गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण राना ठूलोआँगनमा पुगेर स्थानीयहरुलाई आवतजावत नरोकिने गरी सहमति जुटाएर नै काम गर्ने बताए । उनले ठूलो आँगनमा पार्किङ निषेध गर्ने र सवारी आउजाउ पनि हुने तवरले शालिक निर्माण गर्ने काम भइरहेको र वैकल्पिक बाटो छिट्टै तय गर्ने हुने बताए ।
पृथ्वीनारायण शाहको शालिक निर्माण हुँदा गोरखाको पर्यटन प्रवद्र्धनमा धेरै सघाउ पुग्ने भएकाले शालिक राख्ने कुरामा विरोध नगर्न स्थानीयहरुलाई अनुरोध गरेका थिए । सबैको हितका निम्ति यो कार्यक्रम भएको उनले बताए । ‘परेडको निम्ति सालिकसहित मोनोग्राम बन्न लागेको हो । यसले बाटो छेकिँदैन, दमकल पनि आउजाउ गर्न सक्छ, सवारी साधन जान खुल्ला छ’, उनले भने । उक्त कार्यक्रम नेपाली सेना सहितको भएकाले विरोध गरेको खण्डमा तत्काल रोकिने हुँदा काम गर्न दिन नगरप्रमुख रानाले बिरोधमा उत्रिएका स्थानीयलाई अनुरोध गरे ।

स्थानीयले भने परेड खेल्ने समयमा सडक अवरुद्ध हुँदा इमर्जेन्सी बिरामी वा आकस्मिक काम परेकाहरुलाई समस्या हुने तर्क गरे । ऐतिहाँसिक ठूलोआँगनको मौलिकता गुम्नेगरी बीच सडकमा सालिक बनाउन नहुने बताए । गोरखा संग्रहालय अगाडिको ठुलो आँगनको ऐतिहासिकता मेटिने भएकाले भत्काएर बीच भागमा सालिक बनाउन नहुने भन्दै सामाजिक सञ्जालमा बिरोध भइरहेको छ । केहीले भने सालिक सहित परेड प्रर्दशनले पर्यटन प्रर्वद्धनमा मद्दत पुग्ने बताएका छन । उक्त सालिक आउँदो पुस २७ गते प्रधानसेनापतीले उद्घाटन गर्ने गरी निर्माणको थालनीभएको थियो ।
पुरातत्व विभागले २०४२ सालदेखि गोरखा दरबार परियोजना लागु गरी ढुंगा बिछ्याएको थियो । विभागको संरचना हटाएर अहिले गोरखा नगरपालिकाले नयाँ संरचना बनाउन थालेपछि सुरुदेखि नै विवादित बन्दै आएको थियो ।
नगरपालिकाले सालिक निर्माण गरेपछि यहाँ नेपाली सेनाले नियमित रुपमा साँझ र बिहान परेड खेल्ने र सलामी दिने कार्यक्रम तय भएको थियो । त्यसका लागि नगरपालिका र नेपाली सेनाले संयुक्त रुपमा यहाँ कार्यक्रम सञ्चालन गर्न लागेको हो । सो कार्यक्रमले पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ ।
ऐतिहासिक तथा पुरातात्विक गोरखा दरबार तथा तल्लो दरबार क्षेत्रलाई विभागले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सिफारिस पनि गरेको छ ।




