| मङ्लबार, कार्तिक २४, २०८३

बूढीगण्डकी आयोजना निर्माण कार्य अघि बढाउन प्रचण्डसमक्ष जनप्रतिनिधिको माग

बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य यथासीघ्र अघि बढाउन गोरखा र धादिङका संघ, प्रदेश र स्थानीयतहका जनप्रतिनिधिले माग गरेका छन् । चुनावका बेला भोट माग्न मतदाता सामु जाँदा बूढीगण्डकी आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका दुवै जिल्लाका सांसदहरुले चुनाव जिते लगत्तै सो माग गरेका हुन् ।

जनप्रतिनिधिहरुको संयुक्त टोलीले १२ सय मेगावाटको आयोजना निर्माणको काम ढिला नगरी सुरु गर्न मंगलबार प्रचण्डसंग भेटघाट गरी माग गरेका हुन् । साथै उनीहरुले गोरखा र धादिङका घरजग्जाको, बोटविरुवाको मुआब्जा वितरणको काममा ढिला भइरहेकाले मुआव्जा वितरणको चरणलाई समाप्त गर्न पनि माग गरेका थिए ।
साथै तत्काल मोडालिटी तयार गरी निर्माणको काम सुरु गर्न माग गरेका छन् ।

गोरखा १ बाट निर्वाचित सांसद राजेन्द्र बजगाईं, धादिङ २ बाट निर्वाचित सांसद रामनाथ अधिकारीलगायतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आयोजना निर्माणको कामलाई गतिदिन पहल गरिदिन आग्रह गरेका हुन् ।

बूढीगण्डकी आयोजना निर्माण कार्य अघि बढाउनु पर्ने र मुआब्जा वितरण लगायतका बाँकी काम पनि छिट्टै पूरा गर्न गोरखा र धादिङका स्थानीय तहका प्रमुखहरूलेसमेत माग गरेका छन् । सांसद र स्थानीयतहका प्रमुखहरू काठमाडौं गएर प्रचण्डसँग भेटवार्ता गर्दै आयोजना अघि बढाउन पहल गरिदिन भनेका हुन् ।

प्रचण्ड पनि गोरखा २ बाट चुनाव जितेका थिए । सत्ता गठबन्धनबाट गोरखा १ मा कांग्रेसका बजगाईं र २ मा माओवादीका अध्यक्ष प्रचण्डले चुनाव जितेका थिए । उनीहरूले चुनावका बेला पनि बूढीगण्डकी आयोजना निर्माण कार्यलाई अघि बढाउने प्रतिवद्धता जनाएका थिए ।

बजगाईंले बूढीगण्डकी आयोजना निर्माण कार्य सरकारले अघि बढाउनु पर्ने बताए । ‘बूढीगण्डकी आयोजना निर्माण कार्य सरकारले छिटोभन्दा छिटो अघि बढाउनु पर्दछ’, उनले भने, ‘सँगसँगै मुआब्जा वितरण तथा स्थानीयका समस्या सुनेर समाधानका लागि ठोस कदम चाल्नु पर्छ ।’ आयोजना निर्माण जटिलताबारे गोरखा र धादिङका जनप्रतिनिधि बीच छलफल गरेर द्रुत कार्यान्वयन मार्गचित्र बनाउने पनि उनले बताए । यसका लागि प्रतिनिधिमुलक सरोकारवालासँग बूढीगण्डकी आयोजना सेरोफेरो आरूघाटलगायत क्षेत्रमा गोष्ठीसमेत गरिने बजगाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्