
संस्थापक सदस्य खनालद्धारा पत्रकार महासंघ गोरखाको भवन निर्माणमा २५ हजार सहयोग
पत्रकार महासंघ गोरखाको भवन निर्माणकालागि संस्थापक सदस्य पवनरमण खनालले नगद २५ हजार सहयोग गरेका छन् । गोरखा नगरपालिका ८ मा निर्माण हुँदै गरेको महासंघको भवनकालागि खनालले पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटालाई उक्त रकम उपलब्ध गराएका हुन् ।
आर्थिक अभावका कारण निर्माण कार्य रोकिएपछि भवन बनाउन स्रोत जुटाउने अभियानको सुरुवात गरेको खनालले बताए । साथै उनले बिभिन्न संघ संस्था, ब्यक्तिहरुलाई पत्रकार महासंघको भवन निर्माण पूरा गर्ने काममा सहयोग गरिदिन अपिल पनि गरेका छन् ।

दुई तला ढलान भएको भवन एक तला थप गर्न र फिनिसिङ हुन बाँकी छ । भवन निर्माणको काम चार महिनादेखि रोकिएको छ । भवन निर्माणको करिब ४० प्रतिशत मात्रै काम सकिएको पत्रकार महासंघ गोरखाका सचिव बिकास मरहट्टाले बताए ।
साथै उनले सहयोगका लागि स्थानीय सरकार, प्रदेश सरकारलाई अनुरोध गरिएको जानकारी दिए । बिभिन्न संघ, संस्था ब्यक्तिहरुसँग पनि महासंघले भवन निर्माणकालागि सहयोग गरिदिन अपिल गरेको जनाएको छ ।
गतवर्ष गण्डकी प्रदेश सरकारबाट १० लाख, गोरखा नगरपालिकाबाट ५ लाख, सिरानचोक गाउँपालिकामा भवन निर्माणकालागि दुई लाख रकम प्राप्त भएको थियो । चालु वर्ष शहीदलखन गाउँपालिकाले दुईलाख रुपैयाँ उपलब्ध गराएको छ ।




