| मङ्लबार, कार्तिक २४, २०८३

आफनो सोच परिवर्तन भएमात्र मात्र समाज परिवर्तन गर्न सकिन्छ

गोरखामा ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैङ्गिक हिंसा विरुद्धको अभियान विविध कार्यक्रम गरी मनाइएको छ । सामाजिक विकास कार्यालय गोरखा, १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान संचालन तथा समन्वय समिति गोरखाको संयोजन तथा समन्वयमा मानव अधिकारसँग सम्बन्धित संघ–संस्थाको आयोजनामा गोरखा सदरमुकाममा शनिबार मानव अधिकार र लैङ्गिक हिंसा विषयमा अन्तरक्रिया तथा समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका सहभागीहरुले समाज परिवर्तन गर्न मानिसको सोच परिवर्तन हुनुपर्ने बताएका थिए । गोरखा नगरपालिकाकी कार्यपालिका सदस्य पम्फा गान्धारीले मानिसहरुको सोच परिवर्तन नभएसम्म समाज परिवर्तन नहुने बताइन् । समाजमा विभेद, अज्ञानता, चेतनास्तरमा कमी भएका कारण अझै पनि लैङ्गिक हिंसा हुने गरेको बताउदै समय अनुसार मानिसको सोच पनि परिवर्तन गर्दै जानुपर्ने उनले जोड दिइन् । हिंसाबाट पिडित व्यक्तिले न्याय पाए पश्चातको उसको दिनचर्या के कस्तो हुदै छ, त्यसको बारेमा पनि जानकारी गराउदा धेरैजनाका लागि अनुसरण योग्य कार्य हुने उनले बताइन् ।

कार्यक्रम महिला मानव अधिकार रक्षक सन्जाल गोरखाका अध्यक्ष सावित्री भट्टले लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिन मात्र नभएर ३६५ दिननै संचालन हुनुपर्ने बताइन् । उनले लैङ्गिक हिंसा न्यूनीकरणका लागि आप्mनो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन हुन दिन नहुने बताइन् ।

कागजको पानामा लेखिएका मानव अधिकारका प्रावधानहरु गम्भीर ढंगले कार्यान्वयन गर्नमा जोड दिनुपर्ने कमला लामिछानेले बताइन् । अधिकार कार्यान्वयन आपैmँबाट सुरु गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रम बोल्ने वक्ताहरु लेङ्गिक हिंसाका घटनाहरु साना ठूला जेसुकै भएपनि गुपचुप गरेर वा गाउँघरमा मिलाएर राख्नु नहुने र कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने र पिडितलाई न्याय दिलाएर मात्र छोड्नुपर्ने बताएका थिए । त्यस्तै, अहिलेका युवाहरुमा सकारात्मक सोच हुनुपर्ने र यसले मात्र समाज परिवर्तन गर्न सकिने बताएका थिए ।

नेपालको संविधानमा ३३ प्रतिशत कोटा महिलाका लागि व्यवस्था गरेता पनि राजनीतिक दलहरुले महिलालाई विभेद गर्दै आएको र परिणाम स्वरुप अहिलेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिकमा धेरै महिला छनौट गर्नुपर्ने बाध्यता आएकोसमेत महिला अधिकारकर्मीले बताएका थिए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीले लैङ्गिक हिंसाको न्यूनीकरण र मानव अधिकारक संरक्षण, लैङ्गिक हिंसा न्यूनीकरण गर्नका लागि गर्नुपर्ने उपायका बारेमा प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । त्यस्तै, सामाजिक विकास कार्यालय गोरखाका प्रमुख दिपेन्द्र परियारले नेपालमा लैङ्गिक हिंसाको अवस्था, यसको प्रकार, लैङ्गिक हिंसा न्यूनीकरणका उपायहरुका बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

परियारको अध्यक्षता जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहायक प्रजिअ चित्राङ्गत बराल, मानव अधिकार सन्जाल गोरखाका संयोजक यदु अधिकारी, मानव अधिकार संगठन गोरखाका अध्यक्ष दिलबहादुर बस्नेत, कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाका प्रमुख, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दल, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्