
गोनपा ३ र १३ मा बिपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम संचालन हुने
गण्डकी प्रदेश सरकारले संचालन गर्न लागेको ‘बिपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम’ कालागि योवर्ष गोरखा नगरपालिका ३ नारेश्वर घलाङको दलित बस्ती छनौट भएको छ । गतवर्ष छनौट भएको गोनपा १३ को देउराली स्थित दलित बस्ती र घलाङ गरी दुई ठाउँमा चालु वर्ष कार्यक्रम संचालन हुन लागेको हो ।
‘यसवर्ष यो दुबै ठाउँमा कार्यक्रम सञ्चालन गर्न २०/२० लाख रुपैयाँ विनियोजन भएको छ’, कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले भने । यी दुबै ठाउँ कृषि ज्ञान केन्द्र मार्फत सिफारिस भएपछि प्रदेशबाट स्वीकृत भएको हो । गतवर्ष ढिला कार्यक्रम छनौट भएको र बजेट पनि ढिला निकासा हुँदा गोरखा नगरपालिका १३ मा कार्यक्रम हुन सकेको थिएन ।
‘यसवर्ष बेलैमा कार्यक्रम र बजेट स्वीकृत भएकाले काम गर्न समस्या हुँदैन’, कृषि ज्ञान केन्द्रका प्रमुख अधिकारीले भने ।
समुदायको आर्थिक अवस्था सुधार गर्न र गरिबी निवारणका लागि भन्दै गण्डकी प्रदेश सरकारले कृषि मन्त्रालयमार्फत यो कार्यक्रम संचालन गर्ने योजना गतवर्षदेखि बनाएको थियो । गतवर्ष गोरखा, तनहुँ, नवलपरासी, स्याङ्जा र बाग्लुङमा यो कार्यक्रम संचालन गर्ने तयारी गरिएपनि बजेट ढिला निकासा हुँदा संचालन हुन सकेन ।
आर्थिक रुपमा पनि पछाडि परेकाले छनौटको प्राथमिकतामा परेको कृषि ज्ञान केन्द्रका प्रमुख अधिकारीले बताए । कृषि वा अन्य परम्परागत पेशामा आश्रित घरपरिवारको बाहुल्यता रहेको, जीवन निर्वाह गर्न नपुग्ने जग्गा जमिन वा पेशा व्यवसाय भएका घर परिवार रहेको आधारमा दलित बस्ती छनौट गरिएको थियो ।गरिबी निवारणमा टेवा पु¥याउन तथा खाद्य सुरक्षा सुनिश्चिता गर्दै आर्थिक रुपमा सबल बनाउने उद्देश्यले विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम संचालन गरिएको हो ।
कृषि ज्ञान केन्द्रले त्यहाँका स्थानीयको जीवनस्तर उकास्न, स्वरोजगार बनाउन गर्दै आएका कृषि, पशुपालनलाई प्रर्वद्धन गर्ने गरी सहयोग गर्छ । उक्त कार्यक्रम अन्तरगत किसानलाई ९० प्रतिशत अनुदान उपलब्ध गराईने ज्ञान केन्द्रले जनाएको छ । तर त्यसकालागि छनौटमा परेको बस्ती, निश्चित घरधुरी र समुदायमा केन्द्रित रहेर कार्यक्रम संचालन हुनेछ ।




