| मङ्लबार, कार्तिक २४, २०८३

धार्चेको रुञ्चेतमा फस्टाउँदै किवी खेती

दुर्गममा रहेको धार्चे २ रुञ्चेतमा किवी खेती फस्टाएको छ । नमूनाका रुपमा लगाएका किसानहरुको किवी खेती फस्टाएपछि व्यवसायिक रुपमा खेती गर्न सकिने भन्दै उनीहरु खुशी भएका छन् ।

फेज नेपालको सहयोगमा कामी गुरुङले पाँच बर्षअघि लगाएको किवी अहिले लचप्पै फलेको छ । यो किवी पाकेर भित्र्याउने सिजन हो ।

‘दुई रोपनी जग्गामा पाँचवटा बिरुवा रोपेको हो । गतबर्ष तीन क्वीण्टल बेचेको थिएँ । अहिले त्यो भन्दा धेरै उत्पादन भएको छ’, उनले भने, ‘पोहोर प्रतिकिलो २५० रुपैयाँका दरले बेचेको थिएँ । यसपटक गाउँमै प्रतिकिलो तीनसय रुपयाँमा बिक्री भइरहेको छ ?’ दुईबर्ष अघि भने प्रतिकिलो पाँचसय रुपैयाँका दरले बिक्री गरेको उनले बताए । त्यतिबेला अलिअलि नाफा भएको थियो ।

खच्चडमा बोकाएर माछाखोला पु¥याउने र माछाखोलाबाट ट्रकमा बोकाएर गोरखा बजार पु¥याउँदा गतबर्ष खासै नाफा नभएको उनको भनाइ छ ।

परीक्षणका लागि पाँचवटा विरुवा रोप्दा पर्याप्त फलेपछि गुरुङले त्यसमा थप गरी फेरि पाँच वटा विरुवा रोपेका छन् । थपेको बिरुवा पनि फलेपछि भने राम्रो आम्दानी हुने उनको आशा छ ।

उनको बारीमा यथेष्ट किवी फलेपछि अरुले पनि लगाउन थालेका छन् । अहिले १५ जना किसानले किवी लगाएका अर्का चन्द्रमान गुरुङको भनाइ छ । उनका अनुसार रुञ्चेतमा किवीका लागि सुहाउँदो हावापानी, माटो छ ।

यहाँका सबै गाउँलेले किवी खेती गरेर किवी पकेट क्षेत्र बनाउन सके र कालीमाटी जस्ता तरकारी तथा फलफूलको थोक बजारसम्म पु¥याउन सके यहाँका किसानको आर्थिक अबस्था अपेक्षित सुधार हुने गाउँलेको विश्वास छ । काशिगाउँका किसानहरुको बारीमा पनि किवी फलेको छ ।

प्रतिक्रिया दिनुहोस्