
गोरखा नगरपालिकामा हिंसाका उजुरी धेरै, धार्चेमा सुन्य
चालु वर्ष २०७९÷०८० मा महिला हिंसा सम्बन्धी सबैभन्दा धेरै उजुरी गोरखा नगरपालिकाका पिडितबाट दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार साउनदेखि कार्तिक मसान्तसम्ममा गोरखा नगरपालिकाबाट ३२ वटा उजुरी दर्ता भएको छ ।
सबैभन्दा धेरै १७ वटा शारीरिक कुटपिट सम्बन्धी उजुरी नगरपालिका भित्रको रहेको प्रहरीले जनाएको छ । ‘घटना छिटो थाहा हुने र सदरमुकाम क्षेत्रबाट उजुरी पनि छिटो पर्ने भएकाले धेरै भएको हुन सक्छ’ एसपी खनाले भने ।
पालुङटार नगरपालिमा २८ वटा उजुरी परेको मध्ये गालीगलौज, धाकधम्की संम्बन्धी १७ वटा उजुरी परेको छ । यहाँ शारीरिक कुटपिट सम्बन्धी उजुरी परेको छ ।
बारपाक सुलिकोट गाउँपालिबाट र अजिरकोट गाउँपालिकाबाट १५÷१५ वटा उजुरी दर्ता भएको एसपी केदार खनालले जानकारी दिए ।
त्यस्तै, सिरानचोक गाउँपालिकाबाट १४ वटा, आरुघाट गाउँपालिकाबाट ६ वटा, गण्डकी गाउँपालिकाबाट ३ वटा र शहिदलखन गाउँपालिकाबाट ८ वटा उजुरी दर्ता भएको उनले जानकारी दिए । भीमसेन थापा गाउँपालिका र चुमनुब्री गाउँपालिकामा एक÷एक वटा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।
सबै गरेर चालु वर्षको चार महिनामा मानसिक गाली गलौज सम्बन्धी ५९ वटा, शारीरिक कुटपिट सम्बन्धी ३९, खान लगाउन नदिएको सम्बन्धी १७, जबरजस्ती करणी सम्बन्धी ८ र जबरजस्ती करणी उद्योग सम्बन्धी २ वटा उजुरी दर्ता भएको एसपी खनालले बताए । कुल एकसय २५ उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।




