
गोरखामा कालो बजारीको मललाई पनि सोर्सफोर्स
गोरखा नगरपालिकाको सबैभन्दा धेरै तरकारी हुने वडा नं. १२ को दरौँदी फाँटका किसानहरु यतिबेला मल नपाएर समस्यामा छन् । अनुदानको मल त परको कुरा, कालोबजारीको मललाई पनि सोर्सफोर्स लगाउन बाध्य छन् ।
‘हाम्रो सहकारीमा २४० जना किसानहरु छन् । सबैलाई एकेक बोरा मल चाहिएको छ तर मल आउँछ जम्मा ३१ बोरा । किसानहरुलाई पाँच–पाँच किलोको दरले बाँडियो’, दरौँदी कृषि सहकारीकी कृष्णकुमारी कुमाल भन्छिन्, ‘मागको अनुपातमा यति मल त हात्तीको मुखमा जीरा भयो । किसानहरुले मल नपाएको झोकमा हामीलाई नै खाम्ला झैँ गर्छन् ।’ अनुदानको मल त परको कुरा कालोबजारीको मललाई पनि सोर्सफोर्स आउने गरेको उनको भनाइ छ ।
अनुदानको मल प्रतिकिलो रु ३० मा किसानलाई उपलब्ध गराइएकोमा कालोबजारीको मल प्रतिकिलो रु ६० का दरले आफैले बेचेको उनी बताउँछिन् । ‘कृषि कार्यालयकै सरहरु हाम्रो फलानो कृषि ब्लकलाई, ढिस्कानो जोनलाई, पकेट क्षेत्रलाई मल चाहियो भन्न आउनुुहुन्छ’, उनी भन्छिन्, ‘राजनीतिक पार्टीका सरहरु, प्रहरीहरु नै आफ्ना मान्छेहरुलाई यति मल चाहियो दिनुस् है भन्न आउनुहुन्छ ।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गोरखाको घ्याल्चोकलाई तरकारी जोनका रुपमा विकास गरिरहेको छ । यहाँ उत्पादित तरकारी स्थानीय माग पूरा गरेर कालिमाटी तरकारी बजारसम्म पुग्ने गरेको छ ।
तरकारीलाई मुख्य खेती अपनाएर बसेका यहाँका किसानहरु तरकारी लगाउने सिजनमा युरिया मल नपाएर चिन्तामा छन् । ‘काउली, बन्दा लगाउने मुख्य सिजन हो, तर मल छैन’, स्थानीय भूमि रेग्मीले भने, ‘अनुदानको मल पाइएन । किसानहरु ब्यापारीसित कालोबजारीको मल किन्न बाध्य छन् ।’
कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङमार्फत आएको मल किसानले प्रतिकिलो ३० रुपैयाँका दरले पाउनु पर्नेमा कालोबजारीको मल ६० रुपैयाँ प्रतिकिलोका दरले किन्नु परेको उनको गुनासो छ ।
गोरखाका सबै पालिकाहरुले प्रत्येक वडाका एकेक सहकारीलाई अनुदानको मल बिक्री गर्न जिम्मा दिएको जिल्ला उपभोक्ता सहकारी संघका अध्यक्ष ऋषिराज धौराली बताउँछन् । ‘प्रत्यके वडाका एकेक सहकारीले ३१ बोराका दरले मल लगेर, पाँचपाँच किलो, १०–१० किलोका दरले पाउँछन्’, उनले भने, ‘दुई बर्ष भयो मलको हाहाकार भएको, तर आपूर्ति सहज हुने संकेत देखेको छैन ।’ मल अभावले दपेटिएका किसानहरु कालोबजारीको मल प्रयोग गर्न बाध्य भएका उनको भनाइ छ ।
गोरखामा तीनहजार दुईसय १९ मेट्रिक टन, डिएपी मल एकहजार ८२ मेट्रिक टन तथा पोटास मल पाँचसय ४२ मेट्रिक आवश्यक पर्ने कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीको भनाइ छ । तर बिगत दुई बर्षदेखि मलको चरम अभाव भोगिरहेका उनले बताए ।




