
चुमनुब्रीमा मोवाईल फोन अवरुद्ध
गोरखाको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको केही ठाउँमा मोवाईल फोन अवरुद्ध भएको छ । धार्चेको काशिगाउँ, चुमनुब्रीको छेकम्पार, समागाउँ, बिही, प्रोकलगायत ठाउँमा फोन अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । ‘चारदिनेदेखि फोन अवरुद्ध भएको छ’, उनले भने, ‘गाउँमा मानिसहरुसँग सम्पर्क भएको छैन, इन्टरनेट चलेको ठाउँमा मात्रै सम्पर्क भएको छ ।’
फोन बिग्रिएपछि आफन्तसँग कुराकानी गर्न, सन्चोबिसन्चो सोध्न नपाएको चुमनुब्री ७ छेकम्पारका तेन्जिङ लामाले बताए । ‘कोहीलाई बोलाउन प¥यो भने घरमै जानुपर्छ, फोनमा कुरा गर्न पाएको छैन, तलबाट खच्चडमा सामग्री ल्याउन अर्डर गर्न पाएको छैन’, उनले भने । केहीदिनदेखि फोनमा टावर नदेखाएको र फोन नलागेको लामाले गुनासो गरे । ‘किन फोन लागेन, के भयो भनेर आफन्त चिन्तामा होलान्’ उनले भने ।
चुमनुब्री र धार्चेको केही ठाउँमा फोन अवरुद्ध भएको नेपाल टेलिकम गोरखा शाखाका प्रमुख राजेन्द्र श्रेष्ठले बताए । ‘केरौँजाको मुख्य टावरमा बत्ती छैन’, उनले भने, ‘त्यो टावर नचल्दा चुमनुब्री र त्यहाँ वरपर फोन अवरुद्ध हुन्छ ।’ केरौँजाको लघुजलविद्युतमा केहीदिनदेखि समस्या आएको छ । विद्युत नहुँदा टावरले काम नगरेको र सोमवारसम्म बिजुली सुचारु भएसँगै टावर संचालनमा आउने श्रेष्ठले बताए ।




