
गोरखामा एडभान्स होटल कुक तालिम संचालनमा
गोरखा सदरमुकाममा एड्भान्स कुकिङ तालिम संचालन भएको छ । होटल एशोसिएसन नेपाल(हान) गोरखा शाखाको आयोजना तथा हानको केन्द्र र युएनडिपीको आर्थिक सहयोगमा तालिम संचालन भएको हो ।
गोरखा सदरमुकाम गत मंसीर ९ गतेबाट सुरु भएको तालिम मंसीर १५ गतेसम्म संचालन हुने हान गोरखाका संयोजक मानप्रसाद धितालले बताए । होटलमा आएका ग्राहकहरुको अर्डर गरेअनुसारको खानाको परिकारहरु बनाउनका लागि दक्ष जनशक्ति तयार गर्न तालिम दिएको उनले बताए ।
साथै तालिम स्थानीय स्तरमा उत्पादन भएका खानेकुराका विभिन्न परिकारहरु पनि बनाउन सिकाइने हुँदा यसले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनमा पनि मद्धत पुग्ने उनले जानकारी दिए । तालिममा गोरखा जिल्लामा होटल संचालन गरिरहेका विभिन्न पालिकाका ४० जनाको सहभागिता रहेको छ ।
सो तालिममा सेफ श्याम तामाङ र लक्ष्मण भण्डारी प्रशिक्षकका रुपमा रहेका छन् । उनीहरुले विभिन्न प्रकारका खाना बनाउने तरिका, भान्साको व्यवस्थापन कसरी गर्ने, सरसफाई गर्ने तरिकाहरु सुप, स्न्याक्स लगायतका खाजाका प्रकारहरु बनाउने तरिका सिकाइएको लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिए ।
नेपाली खाना कसरी पस्कने, केरा, आलु लगायतका खानेकुराहरुबाट बन्ने विभिन्न परिकारहरु बनाउने तारिका बारेमा तालिममा सिकाइएको उनको भनाइ छ । तालिमबाट प्रशिक्षार्थीहरु परिपक्क कुक बन्ने र उनीहरुले होटलमा आएका ग्राहकले अर्डर गरे अनुसारका परिकारहरु बनाउने सक्ने बताए ।




