| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा ठूला पार्टीको मत २०७४ मा भन्दा अहिले घट्यो, एमालेको बढ्यो

गोरखाका ठूला राजनीतिक दलहरुले २०७४ मा प्राप्त समानुपातिक मत अहिलेको निर्वाचनमा जोगाउन सकेनन् । यसपटक मतदाता संख्या ३१ हजार थपिँदा पनि मत खस्ने दर भने घटेको छ ।

२०७४ मा सबैभन्दा धेरै मत ल्याएको कांग्रेसले ३५ हजार चार सय १९ (२८.६२ प्रतिशत) मत पाएको थियो । तर यसपटक २७ हजार एक सय ५३(२३.७५ प्रतिशत) मत मात्रै प्राप्त ग¥यो । कांग्रेसले यसपटक आठहजार दुई सय ६६ मत घटाएको छ ।
पाँचबर्षअघि दोस्रो धेरै मत पाएको माओवादी केन्द्रले ३४ हजार सातसय ३३(२८.०७ प्रतिशत) र नयाँ शक्तिले १८ हजार चारसय १३ (१४.८८ प्रतिशत) मत प्राप्त गरेको थियो ।

तत्कालिन नयाँशक्ति अहिले माओवादी केन्द्रसँग मिसिएको छ । नयाँ शक्ति र माओवादीले २०७४ मा ल्याएको मत जोड्दा ५३ हजार एकसय ४६(४६.४८ प्रतिशत) हुन्छ । अहिलेको निर्वाचनमा यी दुई पार्टी मिलेर चुनाव लड्दा ३७ हजार चार सय ७१(३२.८३ प्रतिशत) मत मात्रै माओवादीले प्राप्त गरेको छ । पहिले भन्दा १५ हजार भन्दा बढि मत घटेको पाइएको छ ।

२०७४ मा नेकपा एमालेले १७ हजार आठ सय १३ (१४ प्रतिशत) मत मात्र पाएको थियो, तर अहिले यो बढेर १८ हजार ७८(१५.८१ प्रतिशत) मत पाएको छ ।

प्रतिनिधि सभामा मात्र होईन दलहरुले प्रदेश सभामा पनि मत जोगाउन सकेनन् । प्रदेश सभाको समानुपातिकतर्फ ०७४ को निर्वाचनमा सबैभन्दा धेरै माओवादी केन्द्रले ३२ हजार नौ सय ३३ मत पाएको थियो । तत्कालीन नयाँ शक्ति पार्टीले १८ हजार आठसय सात मत पाएको थियो । दुईवटा पार्टीको कुल मत ५१ हजार सात सय ४० हुन आउँछ । तर अहिले माओवादी केन्द्रले प्रदेशतर्फ ४१ हजार ७१ मत मात्रै प्राप्त गरेको छ ।

दुवै प्रदेशसभाको मत जोड्दा २०७४ मा नेपाली कांग्रेसले ३२ हजार पाँच सय ९५ मत प्राप्त गरेको थियो । अहिले ३० हजार पाँच सय सात मत प्राप्त गरेको छ । दुई हजार ८० मत गत निर्वाचनमा भन्दा कम देखियो ।
नेकपा एमालेले २०७४ को निर्वाचनमा १७ हजार एकसय २३ मत प्राप्त गरेको थियो । अहिले प्रदेश तर्फ २१ हजार दुई सय ४२ मत पाएको छ । चार हजार एक सय १९ मत एमालेले प्रदेश तर्फ बढाएको देखिन्छ ।

प्रदेश सभामा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव नलड्दा प्रतिनिधि सभामा भन्दा प्रदेश सभामा ठूला दलको मत धेरै देखिन्छ ।
२०७४ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी चुनावी मैदानमा थिएन । अहिले स्वतन्त्र पार्टीले समानुपातिकतर्फ गोरखा १ मा सातहजार दुईसय ४६ मत र २ मा ८ हजार नौ सय ९९ मत पाएको छ । यो मत ०७४ मा दलहरुलाई गएको मत हो । प्रत्यक्षतर्फ भन्दा प्रदेश तर्फ दलका उम्मेदवारले धेरै मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्