
बिपद् पूर्वतयारी तथा प्रतिकार्य योजना पुस्तक सार्वजनिक
जिल्ला बिपद् ब्यवस्थापन समिति गोरखाले निर्माण गरेको बिपद् पूर्व तयारी प्रतिकार्य योजना–२०७९ सार्वजनिक गरिएको छ । नेपाल रेडक्रस सोसाईटी गोरखाको प्राविधिक सहयोगमा समितिले तयार गरेको उक्त योजना पुस्तक छपाई असल छिमेकी नेपालले गरेको हो ।
योजना पुस्तिका सोमवार एक कार्यक्रमका बीच सार्वजनिक एवं सरोकारवालाहरुलाई बिपद् ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य र रेडक्रस गोरखाका सभापति यदुबिलास भट्टराईले बितरण गरेका हुन् ।
बिपद्को सम्भावित अवस्था, गोरखाको कुन पालिकामा कस्तो जोखिम छ ? जिल्लामा बिपद्मा प्रयोग हुने कस्ता सामग्री छन् ? जनशक्तिको ब्यवस्थापन के छ ? संघ संस्थामा के छन् ? भन्ने विषयमा बिस्तृत बिवरण उल्लेख गरिएको छ । बिपद्को पूर्व तयारी र खोज उद्धार कसरी गर्ने, कुन निकायको भुमिका के हुने र जिम्मेवार ब्यक्ति को हुन् भन्ने विषय पुस्तकमा उल्लेख गरिएको छ ।
‘यसले गोरखाको बिपद् ब्यवस्थापन पूर्व तयारी, न्यूनिकरण, खोज उद्धारमा ठुलो मद्धत पुग्छ’ प्रजिअ आचार्यले भने ‘यसलाई अपडेट गर्दै लगियो भने बिपद्को एउटा महत्वपूर्ण सामग्री बन्दै जानेछ ।’ उक्त पुस्तक जिल्ला बिपद् ब्यवस्थापन समितिको गत साउन ३० गतेको बैठकले स्वीकृत गरेको थियो ।




