
गोरखामा १ मा समानुपातिक मतमा माओवादी अगाडि
गोरखा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फको समानुपातिक मत परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गोरखा क्षेत्र नं १ मा सबैभन्दा धेरै नेकपा माओवादी केन्द्रले १८ हजार चारसय ७१ मत ल्याएको छ । नेपाली कांग्रेसले १५ हजार दुईसय ७१ मत ल्याएको छ । तेस्रो स्थानमा रहेको नेकपा एमालेले ११ हजार आठ सय ९३ मत प्राप्त गरेको छ ।
चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सातहजार दुईसय ४६ मत प्राप्त गर्यो । राष्ट्रिय प्रजातन्त्र पार्टीले एकहजार तीनसय ४४ मत ल्यायो भने मंगोल नेशनल अर्गनाइजेशनले ४ सय ६१ मत ल्यायो । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)ले दुई सय २६, जनता समाजवादी पार्टीले एक सय ८९, नेपाल कम्युनिष्ट पार्टी(माक्र्सवादी लेनिनवादी)ले दुई सय ८३, नेपाल आमा पार्टीले एक सय २१ र जनमत पार्टीले एक सय नौ मत प्राप्त गरेको छ ।
गोरखा १ मा प्रतिनिधिसभातर्फ समानुपातिकमा कुल ४८ दलमध्ये बाँकी दलहरुले एकसय भन्दा कम मत ल्याएका छन् । गोरखामा १ मा प्रतिनिधिसभाको समानुपातिकतर्फ कुल ५६ हजार तीन सय ६२ मत खसेको थियो ।
प्रदेशमा स्वतन्त्र पार्टी नहुँदा अन्य दललाई फाइदा
गोरखा क्षेत्र नं १ को प्रदेशसभा १ र २ मा समानुपातिकतर्फ कुल ५६ हजार पाँच सय ९३ मत खसेको छ । प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी चुनाव चिन्ह) नभएकाले अन्य सबैले प्रतिनिधिसभाको समानुपातिकमा भन्दा प्रदेशसभाको समानुपातिकमा धेरै मत ल्याएको देखिन्छ ।
प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह भएकाले त्यहाँ एमाले, माओवादी र कांग्रेसको समानुपातिक मत कम आएको छ । प्रदेशमा रास्वपाको चुनाव चिन्ह नभएकाले तिनै ठूला पार्टीको मत थपिएको छ । गोरखामा पनि समानुपातिकमा यसअघिका ठुला दलललाई घण्टी भारी देखिन्छन् ।
प्रदेशसभा समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले १९ हजार एक सय ५२ मत प्राप्त गर्यो भने नेपाली कांग्रेसले १८ हजार सातसय २६ मत प्राप्त गर्यो । तेस्रो स्थानमा रहेको नेकपा एमालेले १३ हजार चार सय ८८ मत प्राप्त गरेको छ भने चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार चार सय ५५ मत प्राप्त गरेको छ ।
मंगोल नेशनल अर्गनाइजेशले सात सय २५ मत, नागरिक उन्मुक्ति पार्टीले पाँचसय २८ मत, नेपाल आमा पार्टीले पाँचसय सात मत, जनता समाजवादी पार्टी चारसय ९० मत र नेपाल कम्युनिष्ट पार्टी(माक्र्सवादी लेनिनवादी) दुईसय ५९ मत प्राप्त गरे । त्यस्तै, एकीकृत समाजवादी पार्टीले दुईसय ५५ मत, हाम्रो नेपाल पार्टी दुईसय ५४ मत, जनमत पार्टीले एकसय ८० मत र जनता समाजवादी पार्टीले एक सय ३३ मत ल्याएको छ ।




