
दुर्गमको दुःखमा संवेदनशील बजगाईँ
प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट राजेन्द्र बजगाई बिजयी बने । ६० हजार दुई सय ८२ मत खसेकोमा उनले ३३ हजार चार सय २८ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामशरण बस्नेतले १६ हजार सात सय ८५ मत प्राप्त गरे ।
यी दुई बिच २०७४ को स्थानीय निर्वाचनमा गोरखा १ प्रदेश ख मा प्रतिस्पर्धा भएको थियो । त्यतिबेला बाम गठबन्धनबाट बस्नेत उम्मेदवार थिए । उनले बजगाईलाई पराजित गरे । अहिले यी दुई बीच प्रतिनिधि सभामा निर्वाचनमा फेरि प्रतिस्पर्धा भयो । अहिले गठबन्धनबाट बजगाई उम्मेदवार भए । २०७४ मा प्रदेश सभाको बदला बजगाईले अहिले प्रतिनिधि सभामा लिए र फराकिलो मतान्तरसहित बिजयी बने ।
बजगाई पहिलो पटक निर्वाचित जनप्रतिनिधि चुनिएका हुन् । लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनी जिल्लाको राजनीतिमा सफल देखिएपनि कांग्रेसको केन्द्रिय राजनीतिमा सफल हुन सकेका थिएनन् । १३ औँ र १४ औँ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य लडेका उनी दुवै पटक पराजित बने । गोरखामा भने उनी लगातार तीन वर्षयता महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य विजयी बने । लोकप्रिय मतसहित उनी गत अधिवेशनमा निर्वाचित भएका थिए ।
हकी स्वभावका बजगाई नेपाली कांग्रेस गोरखाको राजनीतिमा लोकप्रिय युवा नेताका रुपमा चिनिन्छन् । केन्द्रका शिर्ष नेतासँगको निकट सम्बन्धका कारण पनि उनको प्रभाव कांग्रेस गोरखामा प्रभावशाली देखिन्छ ।
गोरखाको मसेलमा जन्मिएका बजगाईले विद्यालय शिक्षा गाउँमै लिए । उच्च शिक्षा र बिजनेशकालागि उनी काठमाडौँ पुगे । विद्यालय उमेरदेखि समाज बिकास, सुधार र परिर्वतनको पक्षमा वकालत गर्ने बजगाई राजनीतिक रुपमा नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेससँग जोडिएका हुन् ।
बजगाई मेहनत र संघर्षबाट ब्यवशायिक रुपमा पनि सफल हुँदै गए । कांग्रेसको राजनीतिक, ब्यवशायिक सफलतासँगै सामाजिक काममा पनि उनी सक्रिय छन् ।
गोरखाको धार्चे र चुमनुब्रीजस्ता दुर्गम गाउँबस्तीका जनताको समस्यालाई नजिकबाट ध्यान दिएका उनले उद्धार, राहतमा निरन्तर सहयोग गर्दै आएको बताउँछन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न, विश्वका बिभिन्न देशका ठुला ब्यापारी ब्यवशायीलाई नेपालमा लगानी गर्ने वातावरण सिर्जना गर्ने, ठुलो लगानी नेपाल भित्र्याउने, नेपालको पर्यटन क्षेत्रमा योगदान गर्ने ब्यक्तिका रुपमा उनी चिन्छिन् ।
प्रतिनिधि सभामा बिजयी बजगाईले गोरखा १ मा बूढीगण्डकी आयोजना निर्माण, स्थानीयको मुद्धालाई प्राथमिकता, उत्तरी गोरखाको उद्धारमा प्राथमिकता, बेनिघाट आरुघाट लार्के सडक निर्माणमा उनले प्राथमिकतामा राखेका छन् ।
पूर्वाधार बिकासलाई प्राथमिकता दिँदै उत्तरी गोरखाको जनजीविकालाई सहज बनाउने, जनताको समस्यालाई संवोधन गर्न राज्यलाई झक्झक्याउने भूमिकामा कमी हुन नदिने उनको योजना छ ।




