| मङ्लबार, कार्तिक २४, २०८३

राजनीतिमा छिट्टै शिखर चढ्ने भाग्यमानी न्यौपाने

नेपाली कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपाने गोरखा क्षेत्र नम्बर १ प्रदेश सभा ख को सदस्य निर्वाचित भएका छन् ।
२०३६ सालमा गोरखाको आरुघाट गाउँपालिका मान्बुमा जन्मिएका न्यौपाने २०५२ मा नेविसंघ ईकाई सभापति बने । भवानी मावि मान्बुमा विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका न्यौपाने अहिले कांग्रेस गोरखाको सभापति हुन् ।

२०५३ मा उनी नेपाल विद्यार्थी संघ गोरखाको सदस्य बने । २०५६ मा नेविसंघको जिल्ला उपाध्यक्ष हुँदै २०५८ मा दुई कार्यकाल नेविसंघको सभापति भएर काम गरे ।

यसअघिको कार्यकाल पार्टी सचिव भएर काम गरेका न्यौपाने लोकप्रिय युवा नेताका रुपमा चिनिन्छन् । कांग्रेसको जिल्ला अधिवेशनमा अन्य सबै पदका लागि चुनाव हुँदा सभापति पदमा उनी निर्विरोध चयन भएका थिए ।

प्रदेश सभामाको चुनाव लड्ने पहिलै प्रयासमा उनको शानदार जीत भएको छ । न्यौपानेले आफु निर्वाचित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको रहेकाले त्यहाँको भुगोल र जनताको अपेक्षा अनुसार काम गर्ने बताए । छुट्टै जिल्ला वा विशेष अधिकार सहितको क्षेत्र घोषणा गर्ने गरी आफु अघि बढ्ने उनले बताए ।

‘पूर्वाधार सँगै शिक्षा स्वास्थ्य, खानेपानी लगायत क्षेत्रमा पहिलो प्राथमिकता हुनेछ’ उनले भने ‘म स्थानीय, संघ र प्रदेश बिच समन्वय गरेर जनउत्तरदायी भएर काम गर्नेछु ।’ बिज्ञहरुको सल्लाह सुझाबलाई लिएर भएको बिकासको स्थायित्व हुने गरी योजना बनाएर आफु अघि बढ्ने उनले बताए । उत्पादन र रोजगारीलाई जोड्ने गरी काम गर्ने उनले बताए । मतदाताको विश्वास टुट्न नदिने कुरामा आफु प्रतिवद्ध रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्