| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा १ को मतगणना दुईदिनपछि सुरु

गोरखा निर्वाचन क्षेत्र नं. १ को मतगणना ढिलो सुरु भएको छ । मतदान कार्य सकिएको दुईदिनपछि, मंगलबार बिहान ११ बजेबाट मात्र मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले जानकारी दिए ।

गोरखा १ को हिमालपारि रहेको चुमनुब्री गाउँपालिकाबाट मतपेटिका ढुवानी गर्न ढिला भएकाले मतगणना गर्न पनि ढिला भएको शर्माले बताए । ‘साँझ पाँच बजेसम्म त हेलिकोप्टरले ढुवानी गर्नै लाग्यो’, मुख्य निर्वाचन अधिकृत शर्माले भने, ‘कार्यालयभित्र इन्ट्री गर्दा आठ बजिसकेको थियो ।

त्यसपछि सर्वदलीय बैठक बोलाउन सम्भव भएन । बिहान सातबजे सर्वदलीय बैठक बोलाइयो । बैठक १० बजेसम्म चल्यो । अनि गणना सुरु गर्दा ढिला भयो ।’ सुरु भएपछि गणना कार्य भने तीब्र रुपमा भइरहेको उनले बताए ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका २२ वटा मतदान केन्द्रका ८८ वटा मतपेटिका निर्वाचन आयोगले हेलिकोप्टरबाट ढुवानी गरेको हो । नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टरले तीन खेप गरेर सबै मतपेटिका ढुवानी गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिले प्रत्येक निर्वाचन क्षेत्रको धमाधम पाँच ठाउँमा गणना भइरहेको मुख्य निर्वाचन अधिकृत शर्माले बताए । ‘बुधबार बेलुकासम्म गणना सकिसक्ने हाम्रो लक्ष्य छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्