| मङ्लबार, कार्तिक २४, २०८३

समर मतदानकेन्द्रमा मतदाता संख्या जम्मा ३४ जना, साम्दोमा जम्मा ९८ जना

यही मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा देशभरका एक करोड ७९ लाख ८८ हजार ३८५ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । निर्वाचन आयोगका अनुसार ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष र १८५ जना अन्य मतदानाले भोट हाल्दैछन् ।

त्यसका लागि आयोगले १० हजार ८९१ मतदान स्थल र २२ हजार २२६ मतदान केन्द्र निर्धारण गरेको जनाएको छ ।
कूल मतदातामध्य सबैभन्दा धेरै मोरङमा सातलाख ३५ हजार पाँचसय २५ मतदाताले मतदान गर्दैछन् भने सबैभन्दा कम मनाङ जिल्लाबाट छ हजार सातसय ७९ मतदाताले मतदान गर्ने आयोगको तथ्यांकमा उल्लेख छ ।

सबैभन्दा कम मतदाता मुस्ताङको बारा गुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ मा रहेको छ । यहाँको समर आधारभूत विद्यालय मतदान स्थलमा जम्मा ३४ जनाले मतदान गर्दैछन् ।

समरगाउँ सदरमुकाम जोमसोमबाट ४५ किलोमिटर पर रहेको छ । यहाँ पाँच जना कर्मचारी र पाँच जना सुरक्षाकर्मी परिचालित रहेको निर्वाचन कार्यालयले जनाएको छ । डोल्पाको से–फोक्सुण्डो गाउँपालिका वडा नं. ६ को फोतगाउँस्थित वडा कार्यालय मतदानकेन्द्रमा पनि ३४ जना मतदाता रहेका छन् । मुस्ताङकै बारा गुङ मुक्तिक्षेत्र वडा नं. ५ स्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा पनि जम्मा ३५ जना मतदाताले भोट हाल्दैछन् ।

त्यस्तै बारा गुङ मुक्ति क्षेत्र ३ को घ्याकर मतदानकेन्द्र पनि कम मतदाताले भोट हाल्नेमध्यको एक हो । यहाँ अरनिको आधारभूत विद्यालय केन्द्रमा जम्मा ६२ जनाले भोट हाल्दैछन् । सोही गाउँपालिकाको वडा नं. १ लुप्रास्थित लुप्रा आधारभूत विद्यालय केन्द्रमा ६३ जना मतदाताले भोट हाल्दैछन् ।

मुस्ताङकै लोमान्थाङ गाउँपालिका २ सम्जुङस्थित सम्जुङ आधारभूत विद्यालय केन्द्रमा ६० जना मतदाता सहभागी हुँदैछन् भने लोघेकर गाउँपालिका ४ को ढि आधारभूत विद्यालय मतदानकेन्द्रमा ६८ जना मतदाताले मतदान गर्ने निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । घरपझोङ गाउँपालिका १ स्थित छैरो आधारभूत विद्यालयमा पनि जम्मा ७४ जनाले मतदान गर्दैछन् ।

हिमाली भेगमा पर्ने गोरखाको चुमनुब्री गाउँपालिकाका मतदानकेन्द्रहरु पनि कम मतदाता भएको सूचीमा छन् । वडा नं. ४ को नाम्रुङ स्वास्थ्यचौकी केन्द्रबाट जम्मा ८३ जनाले भोट हाल्दैछन् भने वडा नं. १ को साम्दो आधारभूत विद्यालय केन्द्रबाट जम्मा ९८ जनाले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

यी सबै मतदानकेन्द्रमा निर्वाचन कार्यालयबाट खटिएका कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । बिहिबार निर्धारित समयमै कर्मचारी पुगेर सर्वदलीय बैठक बसी सूचना टाँस गरिसकेको साम्दो आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत अजय श्रेष्ठले जानकारी दिए ।

सबैभन्दा कम मतदाता रहेको सूचीको दोस्रो नंबरमा पर्ने मुस्ताङमा जम्मा १० हजार नौसय ५७ मतदाता रहेका छन् ।
कम मतदाता रहेको जिल्लाको सूचीमा रहेको डोल्पाको से–फोक्सुण्डो गाउँपालिका वडा नं. ७ टासीसुम्दो आधारभूत विद्यालय कुगाउँ मतदान केन्द्रमा जम्मा ७९ जना मतदाताले भोट हाल्दैछन् ।

भारत र चीन दुवै देशको सीमानामा पर्ने ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला फक्ताङलुङ गाउँपालिका वडा नं.७ को याङ्मा मतदान केन्द्र पनि थोरै मतदाता रहेको केन्द्र अन्तर्गत पर्छ । यहाँ जम्मा ६१ जना मतदाता छन् । वडा नं. ६ को ग्याब्ला आधारभूत विद्यालय मतदान केन्द्र पनि जम्मा ६७ जना मात्र मतदाता रहेको आयोगको अभिलेखमा उल्लेख छ ।

देशकै सबैभन्दा कम मतदाता रहेको मनाङ जिल्लामा पनि एकसय जना भन्दा कम मतदाता रहेको केन्द्र धेरै छन् । नार्पाभूमि गाउँपालिका १ नारगाउँको वडा कार्यालय केन्द्रमा जम्मा ९६ जना मतदाता रहेका छन् । नार्पाभूमि ४ स्थित फु आधारभूत विद्यालय केन्द्रमा ७८ जना र वडा नं. ५ को कार्यालय भवन मतदान केन्द्रमा जम्मा ७१ जना मतदाता सहभागी हुँदैछन् ।

सदरमुकाममा अवस्थित चामे गाउँपालिका ५ को कार्यालय भवन केन्द्रमा पनि जम्मा ९३ जना मतदाताले भोट हाल्दैछन् ।
दोलखाको गौरीशंकर गाउँपालिका ९ स्थित वेदिङ प्रावि मतदानकेन्द्र रोल्वालिङमा पनि ९७ जनाले मात्र मतदान गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्