| मङ्लबार, कार्तिक २४, २०८३

उत्तरी गोरखाको मतपेटिका हेलिकोप्टरले ओसार्ने विषय अझै अन्यौल

चुमनुब्री गाउँपालिकास्थित २२ वटा मतदान केन्द्रबाट मतपेटिका ओसार्न हेलिकप्टर प्रयोग गर्ने विषय अझै टुंगो लागेको छैन । अघिल्ला बर्षहरुमा हेलिकोप्टरले ओसार्ने गरेको त्यस क्षेत्रका मतपेटिका यसबर्ष कसरी ओसार्ने भन्ने बारे अन्यौलता बढेको हो ।

सडक सञ्जालले नजोडिएको चुमनुब्रीमा अहिले रित्ता मतपेटिका कर्मचारी, सुरुक्षाकर्मीहरुले बोकेर लगेका छन् ।
मतपत्र सहितको मतपेटिका बोकेर ल्याउन सम्भव नहुने हुँदा हेलिकप्टर माग गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । तर अहिलेसम्म निर्वाचन आयोगले हेलिकोप्टर पठाउने, नपठाउने बारे कुनै जानकारी गराएको छैन ।

चुमनुब्री गाउँपालिकाको २२ वटा केन्द्रबाट मतपेटिका ल्याउन हेलिकप्टर माग गरिएको छ । आयोगले अहिले हुम्ला र डोल्पाका केही ठाउँमा मतपेटिका सहितका सामग्री ढुवानी हेलिकप्टरबाट गरिरहेको छ ।

गोरखामा मतपेटिका सहितका सामग्री दुर्गममा ढुवानी गर्न आयोगबाट स्वीकृति नपाएपछि निर्वाचनलागि चाहिने मतपेटिका, मतपत्र, स्वस्तिक छाप, शील अनुसूची, पर्चा, पम्पलेट लगायतका सामग्रीहरु सहितको सम्बन्धित मतदान अधिकृतलाई जिम्मा लगाएको कार्यालयले जनाएको छ ।

गोरखामा निर्वाचन सामग्री ढुवानी गर्न हेलिकप्टरको ब्यवस्था भएन । मतपेटिका संकलनकालागि भने आयोगले हेलिकोप्टर पठाउने सम्भावना रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

सदरमुकाममा ल्याएर मत गणना गर्नुपर्ने भएकाले बोकाएर ल्याउँदा पाँच दिनसम्म लाग्ने हुँदा मतपेटिका संकलनकालागि हेलिकोप्टरको ब्यवस्था हुन सक्ने भएपनि निर्णय भने हुन बाँकी रहेको उनले बताए । गोरखा जस्तै केही जिल्लाको दुर्गम ठाउँमा मतपेटिका ल्याउन भने हेलिकप्टरको ब्यवस्था हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्