| मङ्लबार, कार्तिक २४, २०८३

गठबन्धन उम्मेदवार बजगाई र न्यौपानेलाई भोट माग्न प्रचण्ड उत्तरी गोरखामा


पूर्व प्रधानमन्त्री तथा गोरखा २ का उम्मेदवार प्रचण्ड चुनाव प्रचारप्रसारको क्रममा चीनसितको सीमा क्षेत्र छेकम्पार र सामागाउँ पुगेका छन् । गोरखा १ का गठबन्धनका उम्मेदवार राजेन्द्र बजगाई र गोरखा १ प्रदेश सभा निर्वाचन क्षेत्र २ का उम्मेदवार नन्दप्रसाद न्यौपानेका लागि भोट माग्न हिमाल पारिका गाउँमा पुगेका हुन् ।


उनी हेलिकोप्टरमा बिहान ११ बजे छेकम्पार र साँढे ११ बजे सामागाउँ पुगेका हुन् । हिमाली भेगमा पुगेका प्रचण्ड, बजगाई र न्यौपानेलाई स्थानीयबासीले स्थानीय भोटेलामा भेषभुषमा सजाएर स्वागत गरेका थिए ।


उनलाई स्थानीयबासीले विभिन्न समस्याहरु समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । छेकम्पारमा चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा, वडा नं. ७ का वडाअध्यक्ष टासी दोर्जे लामा, नेपाली कांग्रेसका वडासभापति पासाङ फुञ्जो लामा र माओवादीका वडा अध्यक्ष पेमा छेवाङ लामाले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् । त्यस्तै सामागाउँमा गाउँपालिकाकी उपप्रमुख लक्ष्मी गुरुङ, वडाअध्यक्ष कर्मा छेवाङ लामा लगायतले ज्ञापन पत्र पेश गरेका हुन् ।


‘बेनिघाट, आरुघाट, सिर्दिबास, चुम्चेत, छेकम्पार, मुलाढाजेन नाका उत्तर दक्षिण लोकमार्ग निर्माणको काम अघि बढाउन यसैबर्ष बजेट समावेश गर्नका लागि माग गरिएको छ’, गाउँपालिकाका अध्यक्ष लामाले भने, ‘तीनबर्षदेखि बन्द रहेको मुलाढाजेन नाका बाह्रै महिना खुल्ला गर्न पनि माग गरिएको छ ।’ ज्ञापन पत्र बुझ्दै प्रचण्डले जनताको माग पूरा गर्ने बिषयमा आफू प्रतिवद्ध रहेको बताएका थिए ।


त्यस्तै सामागाउँका बासिन्दाले पेश गरेको ज्ञापन पत्रमा ३५ नंबर सीमास्तम्भ रहेको रुइला नाका खुलाउन, बिगत चालिसौँ बर्षदेखिका यहाँका अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिएर व्यवस्थित गर्न, पर्यटक निषेधित क्षेत्र खुल्ला गरिदिन माग गरेका छन् । त्यस्तै निषेधित क्षेत्रका कारण घाइते, बिरामी तथा सुत्केरी उद्धारमा समेत समस्या आएकाले विद्यमान झञ्झटिलो व्यवस्था हटाइदिन, यहाँको बेनिघाट, आरुघाट, लार्के सडक निर्माणको कामलाई तिब्रता दिन यथेष्ट बजेट बिनियोजन गरिदिन, सडक निर्माणपछि संकटमा पर्ने पर्यटक पदमार्गको विकल्प तयार गर्न मद्दत गर्न, यहाँको तीनसय रोपनीमा फैलिएको गुम्बाक्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिदिन माग गरिएको स्थानीय वीरबहादुर लामाले जानकारी दिए । त्यस्तै राज्यका सबै खालका सेवा सुविधाको न्यायोचित वितरणका लागि चुमनुब्री गाउँपालिकालाई छुट्टै जिल्ला वा विशेष क्षेत्र घोषणा गर्न, पालिकाको सेवा लिन तीन दिन पैदल हिँड्नु पर्ने बाध्यताबाट मुक्त गर्न दुई अलग अलग गाउँपालिकामा पुनसंरचना गर्न पनि माग गरेका थिए ।

चुमनुब्री १ को सामागाउँमा स्थानीय भेषभुषमा सजिएर चुनाव प्रचारप्रसार गर्दै पूर्व प्रधानमन्त्री प्रचण्ड, उम्मेद्वारहरु बजगाईँ र न्यौपाने ।
तस्वीर : वीरबहादुर लामा ।


कार्यक्रममा बोल्दै प्रचण्ड, उम्मेद्वारहरु बजगाई र न्यौपानेले जनताको माग पूरा गर्न आ–आफ्नो ठाउँबाट लागिपर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रचण्डले समुन्नत गोरखाका लागि राजेन्द्र बजगाईँलाई केन्द्र सरकारमा र गण्डकी प्रदेश सरकारमा नन्दप्रसाद न्यौपानेलाई मन्त्री बनाउन आफूले यथासक्य पहल गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनीहरु आइतबार एकै दिन हेलिकोप्टर चार्टर गरी छेकम्पार, सामागाउँ, माछाखोला, बारपाक र घैरुङमा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्