
मंसीर ४ मा असल मान्छेलाई भोट दिनू : रमेश खरेल
स्वतन्त्र राजनीतिक शक्ति नेपालका संयोजक तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेशप्रसाद खरेललेले मंसीर ४ गतेको निर्वाचनमा असल मान्छेलाई जनताले भोट दिनुपर्ने बताएका छन् । शनिवार गोरखा सदरमुृकामको हरमटारी खेलमैदानमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सिद्धान्त र नीतिबिना नेपाल आमालाई लुट्नका बिभिन्न खाले गबन्धन बनेको बताएका छन् । गोरखालाई कर्मथलो बनाएर गोरखाबाट नै निर्दोष जनताको हत्या हिंसा सुरु गरेका उनले आरोप लगाए । कानुनी राज्य र सुशासनका लागि निरन्तर लडिरहने उनले बताए ।
‘जुन गोरखा कानुन, न्याय र एकताको लागि प्रख्यात थियो, जुन गोरखा हिमाल, पहाड तराई जोड्नका लागि प्रख्यात थियो,’ उनले भने ।’ यदि तपाइले असल मान्छेलाई भोट दिएर जिताउन सक्नु भएन भने गोरखालीको शिर गिर्ने छ, नेपालीको शिर गिर्नेछ ।’
जनताको आवाज नउठाउने र विदेशीको इशारामा चल्ने व्यक्तिलाई जिताएर पठाएमा देश अझै ५ वर्ष नभई २५ वर्ष पछाडि धकेलिने उनले बताए । ‘एक सय ६५ ठाउँमा राम्रो मान्छेहरु छनौट भएर आउनुपर्छ, जुनसुकै पार्टीका आओस मतलब छैन, राम्रो मान्छेलाई भोट दिनुपरेको छ,’ उनले भने, ‘त्यो कांग्रेसका होस, त्यो कम्युनिष्ट होस्, जुनसकै होस त्यो स्वतन्त्र होस, असल मान्छे त्यो सदनमा जाओस, त्यो सदनमा जाने मान्छेले कुर्सी तोडफोड नगरोस्, सेटिङमा काम नगरोस् ।’
जनताबाट चुनिएर गएको व्यक्तिले असल निती निर्माण गर्नुपर्ने र जनतालाई कानुनी राज्यको अनुभूति दिलाउनुपर्ने उनको भनाइ छ ।
कुशासन, भ्रष्टचार र नेताहरुको बेइमानका कारण राज्यको ढुकुटीको दोहनका कारण नेपालीको जनताको जीवनस्तर विग्रदैँ गएको उनले बताए ।
पुर्व डिआइजी समेत रहेका खरेलले २०५७÷५८ गोरखामा कार्यरत हुँदा जिल्लाका सबै कुनाकाप्चा घुमेको बताए । नेपाल एकीकरण गोरखाबाट सुरुवात भएको र आफु गोरखासँग घनिष्ट र गहिरो नाता रहेको बताउँदै आगामी निर्वाचनमा राम्रो र असल मान्छेलाई भोट दिन उनले आग्रह गरे ।




