| मङ्लबार, कार्तिक २४, २०८३

मतदाता र उम्मेद्वारको हुँदैन देखभेट, भोट माग्न गाउँगाउँमा खेताला उम्मेद्वार

शिव उप्रेती :

गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेद्वारका रुपमा भोट माग्न पूर्व प्रधानमन्त्री प्रचण्ड आफ्नो गाउँमा आउने खबरले अजीरकोट १ घ्याच्चोकका मतदाताको खुशीको सीमा थिएन । गत शनिबार सिम्जुङ, मिलिम, धारापानीमा पाँच–पाँच मिनेटको कार्यक्रम सकेर साँझ पाँचबजे घ्याच्चोकमा पुग्ने, त्यहाँ १५ मिनेट रहने र त्यहाँबाट मल्ले हुँदै भच्चेक जाने कार्यसूची तीनदिनअघि सार्वजनिक भएको थियो । तर उनी लावालस्कर लिएर घ्याच्चोक नपसी सिधै भच्चेक पुगे ।

‘गाउँमा धान काट्न्े, कोदो टिप्ने कामको चटारो थियो । तर, आज प्रचण्ड आउने भनेर गाउँले किसानहरु खेतबारीको काममा नगई घरघरमा माला गाँसेर बिहानैदेखि स्वागत गर्ने तयारीमा थिए । धन्सिरा, चिसाङदेखिका मान्छे यहाँ आएर भेला भएका थिए’, स्थानीय लालु गुरुङले दुख व्यक्त गर्दै भने, ‘तर प्रचण्ड आउनु भएन, सिम्जुङबाट सिधै भच्चेक जानुभयो भन्ने खबर मात्र आयो । खबरले निराश भएका गाउँलेहरु हल्लाखल्ला गर्न थाले । वडाअध्यक्ष मनोज गुरुङतिर रिस पोखेर हैरान पारे । फेरि धोका दिने त नेताको चलन नै हो भनेर सबैले मन बुझाएर थमथमिए ।’

चुनावका बेला मात्र गाउँघरमा आउने, मिठा आस्वासन बाँड्ने, विभिन्न नौटंकी देखाउने, चुनाव जितेपछि फर्केर नआउने सबैतिरको पुरानै चलन हो, तर यहाँका मतदाताले गुलिया आश्वासन बाँड्ने नेताको मुखसमेत देख्दैनन् । यातायातको सुविधा नभएको, हिँडेर भोट माग्न जान कैयौँ दिन पैदल हिड्नुपर्ने उत्तरी गोरखाका बासिन्दा चिन्दै नचिनेको, मुखै नदेखेको नेतालाई भोट हाल्न बाध्य छन् ।

५५२ मतदाता रहेको अजीरकोट १ धन्सिरा, चिसाङ र तालखोला टोलमा भोट माग्न सँधै उम्मेद्वारले खेताला पठाउँछन् । २०७४ को चुनावमा प्रतिनिधिसभाका उम्मेदवार बाबुराम भट्टराईले सुमन परियार र गणेश तामाङलाई खेताला बनाएर भोट माग्न पठाएका थिए । अर्का उम्मेद्वार नारायणकाजी श्रेष्ठले भोट माग्न दुर्गामान गुरुङ लगायतका स्थानीय नेता कार्यकर्तालाई खटाएका थिए ।

भोट माग्न समेत नआउने उम्मेद्वारले गाउँमा विकास गर्लान् भनेर आशा गर्ने बाटो नरहेको धार्चे २ केरौंजावेशीका सुनश्रीङ गुरुङको दुखेसो छ । ‘जुन पार्टीले जितेपनि सहर सहरै रहेछ, कुना कुनै रहेछ’, दिक्क मान्दै उनी भन्छन्, ‘भोट माग्ने बेलामा त नआउने नेता जितेपछि के आउलान् ? गाउँमा विजुली छैन । खानेपानी छैन, स्कूल छैन । यस्तो दुख हेर्न आए पो, विकास गर्देलान् भन्ने आशा हुन्छ । आउँदै आउँदैनन्, के भोट दिनु । धेरै चुनाव देखियो, भोगियो । कुरो बुझिसकियो ।’

यसअघिको निर्वाचनमा गठबन्धनका उम्मेद्वार हरिराज अधिकारी र रामशरण बस्नेतले तिब्बतसंग सीमाना जोडिएको चुमनुब्री गाउँपालिकाका अधिकांश ठाउँमा खेताला खटाएरै भोट मागे र जिते । छमबहादुर गुरुङ, निमा लामा, लाक्पाडुण्डप लामा लगायतका स्थानीय नेताले भोट मागेकै भरमा उनीहरुले जितेका थिए । कांग्रेसका चीनकाजी श्रेष्ठ पनि भोट माग्न चुमनुब्री पुगेनन् । प्रदेशमा उठेका राजेन्द्र बजगाईँ र जिल्ला नेता नन्दप्रसाद न्यौपानेबाटै काम चलाएका थिए ।

‘खासमा दुर्गमका बासिन्दाले आफूले कसलाई भोट दिइयो भनेर पनि मुख देख्न पाउँदैनन् । उसको योजना के कस्तो छ भनेर पनि सुन्न पाउँदैनन्’, चुमनुब्री ७ का फुर्बा लामा भन्छन्, ‘स्थानीय नेता कार्यकर्ताले नै हामी सबै मिलाइहाल्छौँ भनेर ठेक्का लिन्छन् । गाउँमा उम्मेद्वार ल्याउलान्, दुख, समस्या देखाउलान्, गाउँका समस्या समाधान गर्न प्रतिवद्ध गराउलान् भन्दा पनि आफै ठालु पल्टेर जिम्मा लिन्छन् ।’ उम्मेद्वार र मतदाताको भेट नगराउनुमा स्थानीय नेता कार्यकर्ताकै दोश रहेको उनको आरोप छ ।

‘टाढा भएर हो कि, नेता अल्छी भएर हो, हाम्रो दुर्गम गाउँमा उम्मेद्वार पनि आउँदैनन् । जुन चुनावमा पनि खेताला पठाउँछन् । खेतालालाई के दुख सुनाउनु, के समस्या सुनाउनु’, चुमनुब्री १ का कर्मा लामा भन्छन्, ‘खेतालाकै भरमा भोट हाल्छन् । अनि जितेपछि कोही फर्केर आउँदैनन् ।’

चुनावको दिन आउन अब जम्मा २० दिन बाँकी छ, तर धार्चे २, केरौँजाका सुकपति गुरुङलाई चुनाव भेड्किएको पत्तो छैन । किनभने उनलाई एकातिर कोदो टिप्ने चटारो छ, अर्कातिर नेताहरु गाउँमा टेक्न आएका छैनन् ।

‘गाउँमा चुनाव आएको छैन’, उनले भने, ‘नेता आए पो चुनाव आउँछ । नेतै नआई के चुनाव आउँथ्यो र ?’ यसअघिका चुनावमा पनि नेतै नआई चुनाव आउने गरेको उनको भनाइ छ । ‘अलिअलि भोट ल्याउने स्वतन्त्रका उम्मेद्वारचाहिँ गाउँमा आउँछन् । धेरै भोट ल्याउने, जित्ने जस्ता उम्मेद्वारचाहिँ खेताला पठाउँछन् । भोट माग्न त नआउने नेताले जितेपछि गाउँमा आउलान्, हाम्रो दुख बुझ्लान् र विकास गर्लान् भन्ने आशा छैन ।’

केरौँजावेशीकी कमिशा गुरुङलाई पनि चुनावको कुनै रौनक छैन । ‘हामीलाई त चुनाव आएको केही पत्तो छैन । चुनावका दिनमा गाउँका नेताले जेमा भोट हाल भन्छ, त्यसमा हाल्ने हो’, उनले भनिन्, ‘कसले जित्छ, कसले हार्छ भनेर पनि थाहा हुँदैन । जित्ने पनि नचिनेको, हार्ने पनि नचिनेको । सँधै यस्तै हो । भोट पनि धेरै पटक हालिसकियो, हाम्रो अबस्था उस्ताको उस्तै छ । भोट हाल्न पनि केही रमाइलो छैन ।’

अजीरकोट गाउँपालिका ३ घट्टापिलारमा संघ र प्रदेशको चुनावमा मात्र होइन, स्थानीय चुनावमा समेत कुनै उम्मेद्वार भोट माग्न जाँदैनन् । ‘कति चुनाव आए, कति गए, यहाँको तामाङ बस्तीमा भोट माग्दै कुनै उम्मेद्वार पनि आइपुगेका छैनन्’, रेशम गुरुङ भन्छन्, ‘त्यो ठाउँ कस्तो छ, यहाँका मतदाताको समस्या के छ, चाहना के छ, माग के छ भन्ने जितेर जानेलाई थाहै हुँदैन, कसरी विकास हुनु ?’ दुर्गम गाउँको अबस्था जुन शासन ब्यबस्था आए पनि नसुध्रिएको उनको भनाइ छ ।

चुमनुब्री ६ चुम्चेत गाउँका पासाङ लामा ४२ बर्षका भए । अहिलेसम्म कुनै पनि चुनावमा उम्मेद्वार उनको गाउँमा भोट माग्न आएको थाहा पाएका छैनन् । ‘सिर्दिबासम्म आए रे भन्ने सुन्छु । कोही कोही चुम्लिङसम्म पनि आए रे भन्ने सुन्छु तर खालि मुलबाटो मुलबाटो मात्रै हिड्ने रहेछन् । त्यतै टाउकेटाउकेहरुलाई भेटेर अरु गाउँको जिम्मा लगाउने रहेछन् । चुम्चेत, सिम्चेततिर कोही पस्दैनन्’, उनी भन्छन्, ‘खासमा त चुनावअघि नेता घरघरै जनतालाई नमस्कार गर्दै हिँड्ने, चुनाव जितेपछि जनताले नेतालाई नमस्कार गर्नुपर्ने हो नि, तर हाम्रो गाउँमा त त्यस्तो छैन ।’

सडक सञ्जाल पुगेका गाउँपालिकाको केन्द्र तथा साना भट्टी पसलहरुमा भने उम्मेद्वार पुग्छन् । त्यहाँ पुगेका उम्मेद्वार पनि गाउँबस्तीमा नछिर्ने अर्का स्थानीय सेराप गुरुङको गुनासो छ । ‘चुनावका बेला आएका नेता हामीसंगै भुइँमा बस्छन् । चुनाव जितेर गएपछि उनीहरु कुर्चीमा पुग्छन् । हामी भुईँको भुइँमै’, उनी भन्छन्, ‘अघिअघि पनि कत्ति आए, कत्ति गए । हाम्रो अबस्था पनि उस्ताको उस्तै, गाउँको अबस्था पनि उस्ताको उस्तै छ ।’

चुनाव आए पनि नआए पनि गाउँठाउँ चाहार्ने नेता हुनुपर्ने धार्चे २ केरौँजाका स्थानीय इन्द्रबहादुर गुरुङको भनाइ छ । ‘भोट माग्न आजसम्म कुनै पार्टीका नेता आएका छैनन् । आए भने सबै पार्टीलाई स्वागत गर्छौँ’, उनी भन्छन्, ‘तर नेता भनेको त गाउँमा सुख, दुखमा साथ दिन आइरहने, गाउँका मान्छेले चिनेजानेका, गाउँको दुख, समस्या बुझेका हुनुपर्छ ।’ आंशिकबाहेक अहिलेका धेरै मतदाता टाठाबाठा भइसकेका उनको भनाइ छ ।

पाँचबर्षपछि चुनाव लड्ने मनस्थिति बनाएका उम्मेद्वारले पाँचबर्षअघिदेखि नै जनताको घरदैलोमा जाने, उनीहरुको सुखदुखमा साथ दिने गर्नुपर्ने राजनीतिक विश्लेषक भक्ति लामिछानेको भनाइ छ । ‘अहिलेको चुनावकै कुरा गर्ने हो भने जम्मा १७ दिनमा यत्तिका गाउँबस्ती पुग्ने, मतदाता भेटघाट गर्ने सम्भवै भएन’, उनी भन्छन्, ‘चुनाव लड्ने मनस्थिति भएका नेताले त पाँचबर्षअघि देखि नै दूर दराजका गाउँबस्ती चाहार्ने, त्यहाँको जनताको दुख, सुखमा साथ दिने, त्यहाँको आवश्यकता, समस्या सबै बुझ्ने गर्नुपर्छ । अनि पो चुनावका बेला मतदाताको घरदैलोमा नपुगे पनि केही फरक पर्दैन । यहाँ त काठमाडौँमा बसेर राजनीति गर्ने, टिकट लिने अनि एकैचोटी चुनाव लड्न आएर कसरी जितिन्छ ? जिते पनि स्थानीय जनचाहना अनुसारको विकास कसरी हुन्छ ?’ टिकट दिँदा पनि केन्द्रीय नेताले गाउँठाउँमा भिजेका, मतदाताले विश्वास गरेका व्यक्तिलाई टिकट दिने नीति हुनुपर्ने उनको भनाइ छ ।

गोरखामा दुईवटा संघीय निर्वाचन क्षेत्र र चार प्रदेश निर्वाचन क्षेत्र छन् । क्षेत्र नं. १ मा एकलाख १५ हजार तीनसय सन्तानब्बे र दुईमा एकलाख पाँचहजार दुईसय चालीस गरी दुईलाख बीसहजार छसय ३७ मतदाता रहेका छन् ।
क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट राजेन्द्र बजगाईँ र नेकपा एमालेबाट रामशरण बस्नेत चुनावी मैदानमा छन् । त्यस्तै राप्रपाबाट उदयबहादुर भट्ट, स्वतन्त्र पार्टीबाट सुवर्ण रोकायलगायत १० जना उम्मेद्वार छन् ।

क्षेत्र नं. २ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेबाट अबदुस मियाँ चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै स्वतन्त्र पार्टीबाट कविन्द्र बुर्लाकोटी, राप्रपाबाट सुशीलबाबु पन्त, राप्रपा नेपालबाट कुलबहादुर बस्नेत, नेपाली कांग्रेस वीपीबाट टिकादत्त पोखरेल लगायत १२ जना प्रतिस्पर्धामा छन् ।

त्यस्तै प्रदेशसभामा क्षेत्र नं. १ को क मा गठबन्धनबाट कृष्ण धिताल, नेकपा एमालेबाट सुरेन्द्र थापालगायत सातजना, ख मा गठबन्धनबाट नन्दप्रसाद न्यौपाने, एमालेबाट मोहन भट्टराई लगायत सात जना चुनावी मैदानमा छन् ।
त्यस्तै क्षेत्र नं. २ को क मा गठबन्धनबाट फणिन्द्र देवकोटा, एमालेबाट राजु राना मगरलगायत सात जना र ख मा गठबन्धनबाट सुरेन्द्र पाण्डे, नेकपा एमालेबाट वसन्त गुरुङ लगायत छ जना चुनावी प्रतिस्पर्धामा छन् ।

भौगोलिक बिकटता र निर्वाचन आयोगले दिएको अव्यवहारिक समयसीमाका कारण दूर दराजमा पुग्न नसकेको नेकपा एमालेका जिल्ला सचिव काजीराम रोकाको तर्क छ । ‘प्रतिनिधिसभा क्षेत्र नं. १ को ५६ वटा वडाहरु छन् । निर्वाचन आयोगले दिएको १७ दिनको समय सीमाभित्र यी सबै वडाका सबै गाउँबस्तीमा पुग्ने कुराको कल्पना पनि गर्न सकिँदैन’, रोका भन्छन्, ‘घ्याल्चोकटारदेखि छेकम्पारसम्म सबै ठाउँमा यातायातको साधन पुग्न सक्दैन । त्यसैले मतदाताको सामु पुग्ने चाहना भएर पनि पुग्न सकिँदैन ।’ सांगठिन संरचना, सुरक्षाका कारण पनि यस्तो भएको हो ।

जिल्लाको भौगोलिक अबस्था, यातायातको पहुँच, हेलिकोप्टर प्रयोग गर्न बन्देज र पहिरोको समस्याका कारण उम्मेद्वारहरु सबै गाउँबस्तीमा पुग्न समस्या भएको नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण आलेको दाबी छ ।

गोरखा जिल्लाको भौगोलिक संरचना निक्कै जटिल खालको छ । सबै ठाउँमा मोटरबाटो छैन । हेलिकोप्टर प्रयोग गर्न निर्वाचन आयोगले बन्देज लगाएको छ । सबै ठाउँमा गाडीको पहुँच छैन’, आले भन्छन्, ‘त्यसैले उम्मेद्वारहरु मतदाता भेट्न सबै गाउँबस्तीमा पुग्न नसकेको हो । तैपनि सहकर्मी साथीहरुमार्फत, फोन संपर्कमार्फत मतदातासित भेटघाट भइरहेको छ ।’
आचार संहिताका कारण उम्मेद्वारहरु अहिले घरदैलो अभियानमा छन् । खुल्ला प्रचारप्रसार गर्न पाइने १७ दिनका लागि चुनावी सभा तथा विभिन्न अभियानको तयारीमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्