| मङ्लबार, कार्तिक २४, २०८३

अहिले टिकट नपाएकालाई भोली अवसर छ, एकजुट भएर लाग्नुहोस् : केन्द्रिय सदस्य सिबाकोटी

नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु सिवाकोटीले मंसिर ४ गतेको आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । बुधवार नेपाली कांग्रेस गोरखाले पार्टी कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा उनले भने ‘अहिले टिकट नपाएकाहरु कतिपयले पहिले धेरै पटक अवसर पाउनुभयो, बाँकी साथीहरुले फेरी अबसर पाउनुहुनेछ ।’

आफुले टिकट नपाएकै कारण अहिले गठबन्धन र नेपाली कांग्रेस पराजित हुने अवस्था आएको खण्डमा भोली आफुले टिकट पाउँदापनि त्यो अवस्था सिर्जना हुन सक्ने तर्फ ध्यान दिन उनले सबैलाई अनुरोध गरे । संघ र प्रदेशमा सिमित सिट संख्या कांग्रेसको भागमा परेको बताउँदै उनले भने ‘म पनि टिकटको आकांक्षी हुँ, तर मैले पाईन पार्टीको अर्को साथीले पाउनुभयो, मैले अब जसरी पनि उहाँलाई जिताउनुपर्नेछ ।’

गोरखामा नेपाली कांग्रेसका केही नेताहरु आफुले टिकट नपाएको भन्दै चुनाव प्रचार प्रसारमा सहभागी नभएको, मतदाता भड्काउने काम गरेको, उम्मेदवार बिरुद्ध आलोचना गर्ने गरेको गुनासोपछि केन्द्रिय सदस्य सिबाकोटीले यस्तो बताएका हुन् ।

उम्मेदवार बन्न नपाएका केही ब्यक्तिले असन्तुष्टि ब्यक्त गरिएको प्रसंग जोड्दै उनले यसले कांग्रेस र गठबन्धनलाई पनि घाटा हुने हुँदा तत्काल आफ्नो क्षेत्रमा चुनावी प्रचार प्रसार र गठबन्धन जिताउने भुमिकामा सक्रिय हुन अनुरोध गरे । ‘पार्टी रह्यो भने पछि पनि पालो आउँछ’ गोरखाका नेता कार्यकर्तालाई उनले भने ‘भोली सरकार बनाउँदा संख्याको कुरा आउँछ, अहिले सहयोग ग¥यौँ भने हाम्रो सरकार बन्न सहज हुन्छ ।’ अहिलेको सानो कमजोरीले अरुलाई फाईदा हुन नहुने बताउँदै उनले भने ‘पार्टीमा धेरै लामो योगदान गर्नुभएका,लिगेसी भएका साथीहरुलाई कारवाहीको चिठी आउँदा नराम्रो हुन सक्छ,यसतर्फ पनि ध्यान दिऔँ ।’

गठबन्धनका उम्मेदवारलाई जिताउने गरी गोरखाका सबै कार्यकर्ता लाग्नुपर्ने र यो देशभरी पनि आवस्यक रहेको उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले अहिले गठबन्धनको पक्षमा मतदान गर्ने गरी माहौल बनाउन अनुरोध गरे । साथै उनले गठबन्धनका सबै उम्मेदवारले जित्नुपर्ने बताउँदै त्यसले प्रदेश र संघमा सरकार निर्माण गर्न र त्यसको नेतृत्व कांग्रेसले गर्ने गरी अवसर आउने दावी गरे ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले जिल्ला समिति गोरखालाई निर्वाचन प्रचार सामग्री प्रदान गरेको छ । प्रदेश सभापति शर्माले जिल्ला सभापति नन्दप्रसाद न्यौपानेलाई झण्डा, पार्टीको घोषणा पत्र लगायत हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्