| मङ्लबार, कार्तिक २४, २०८३

हिमालको चिसो छल्न बेसी झरे भेँडीगोठ (फोटोफिचर)

केशव गुरुङ :

गोरखाको लेकाली तथा हिमाली क्षेत्रमा चिसो बढेसँगै भेँडीगोठलाई बेसी झार्न थालिएको छ । यहाँका खर्कहरुमा रहेका अधिकांश भेँडीगोठ बेँसी झार्न थालिएको हो ।

धार्चे र चुमनुव्री गाउँपालिकाका स्थानीयले ठूलो संख्यामा भेँडा पाल्ने गर्दछन् । यहाँका भेँडीगोठ चरिचरणका लागि गर्र्मी मौसममा हिमाली क्षेत्र र जाडो मौसममा तल्लो भेगमा झार्ने गरिन्छ । ‘अहिले लेकमा चिसो बढ्दै गएको छ । अब हिउँ पर्न सुरु हुन्छ,’ धार्चे गाउँपालिका–४ लाप्राकका भेंडीगोठाला सुरमान गुरुङले भने, ‘चिसोमा भेंडाबाख्रा राख्न गाह्रो हुन्छ, त्यसैले बेँसीतिर झारेका हौँ ।’

लाप्राकमा भेँडीगोठ र गाईगोठ लेक लैजाने र बेसी झार्ने गरिन्छ । गाईगोठको तुलनामा भेँडीगोठ छिटो लेक उक्लने र ढिलो गरी बेसी झारिन्छ । गत असारमा बेँसीको गर्मी छल्न लेक उकालिएको भेँडीगोठ चार महिना लेकमा बिताएपछि असोज अन्तिम साता बेँसी झारिएको थियो ।

कात्तिक र मंसीर दुई महिना भेँडीगोठ गाउँ वरिपरि रहन्छन । पुसदेखि वैशाखसम्ममा लाप्राकका भेँडीगोठ बारपाक सुलीकोट गाउँपालिकाको सौरपानी, आप्रिक, थुमीलगायत ठाउँमा चरिचरणका लागि लैजाने गरिन्छ । हरेक वर्ष यसरी नै निश्चित रकम तिरेर भेँडीगोठ लैजाने गरिन्छ । त्यस क्षेत्रको चरिचरण उपभोग गरेबापत प्रतिगोठला वार्षिक सातदेखि आठ हजार रुपैयाँ गोठ समिति तथा स्थानीय स्तरको समितिलाई पैसा तिर्नुपर्ने नियम छ ।

घट्दै भेँडा, हराउँदै भेँडीगोठे परम्परा

अहिले भेँडीगोठका लागि चरिचरणको कुनै समस्या नरहे पनि गोठको संख्या भने बर्सेनी घट्दै गएको अर्का भेंडीगोठाला चन्द्र गुरुङले बताए । ‘भेंडा चराउनका लागि चरिचरण पर्याप्त छ, तर गोठाला गर्ने मान्छे नै छैन, गोठाला गर्ने हामी मात्र हौँ, हामी नै नरहेपछि कसले गर्ने,’ उनले भने ।

लाप्राकमा २५–२६ वर्षअघि २५ भन्दा बढी भेँडीगोठ थिए । तर, अहिले जम्मा आठवटा गोठ रहेको उनले बताए । यस्तै, यहाँ भेंडाको ऊनबाट राडी–पाखी बनाइन्छ । तर पछिल्लो समयमा भेँडीगोठ लोप हुन लागेसँगै बख्खु ओड्ने चलन पनि कम हुदै आएको छ ।

पुस्तौं अघिदेखि अँगाल्दै आएको भेंडापालन व्यवसाय अन्य व्यवसाय जस्तो एक ठाउँमा मात्र राखेर गर्न नहुने भएकाले मौसम अनुसार बेसीदेखि हिमालसम्म डुलाउनुपर्ने गोठाला सुरमान गुरुङले बताए । भेंडालाई धेरै चिसो र धेरै गर्र्मी हुन नहुने र तापक्रम अनुसार गोठ स्थानान्तरण गरिरहनु पर्ने उनले बताए ।

त्यस्तै, हिउँदमा हिमाल हिउँ पर्न सुरु हुन्छ । यस बेला लेकमा बढि चिसो हुने, घाँसहरु सबै हिउँले ढाकिने हुँदा भेँडीगोठहरु सबै बेसी झर्ने गर्दछन् । बर्खाको समयमा बेसीमा बढी गर्मी हुने भएकाले भेँडीगोठहरु लेक उक्लने गरेको उनले बताए ।

No description available.


नयाँपुस्तामा घट्दो आकर्षण

उनका अनुसार अन्य व्यवसायको तुलनमा भेंडापालन निकै चुनौतीपूर्ण व्यवसाय हो । भेँडीगोठमा दुःख धेरै भएकाले पनि नयाँ पुस्ता गोठमा नबस्ने गरेको उनको अनुभव छ ।

भेँडीगोठबाट एक वर्षमा न्यूनतम ५० देखि दुई लाख ५० हजारसम्म आम्दानी हुने गरेको गुरुङले बताए । ‘कमाइ नभए पनि दुःख गर्नैप¥यो, आफूलाई चाहिएका बेला मासु खान अरूसँग ऋण गरेर किन्नुपर्दैन भनेर मात्र गोठाला बसेका हौँ,’ उनले भने । गोठ भएपछि कहिले हिमाल त कहिले बेसी पुग्नुपर्ने र परिवार, चाडपर्व केही भन्न नपाइने पनि उनले बताए । भेंडापालनबाट राम्रै आम्दानी गर्न सकिने भएपनि निकै कठिन भएकाले नै पछिल्लो युवापुस्ताले त्यसतर्फ मन नलगाउने हुँदा यो पेसा नै संकटमा पर्दै जान थालेको उनको भनाई छ ।

लाप्राकका तिसमाया गुरुङले जिजुबाजेले धान्दै आएको कामलाई अहिलेसम्म धानिरहेका बताए  । यही अवस्था रहे केही वर्षपछि भेँडीगोठ नै देख्न नपाइने उनको भनाइ छ । युवाहरु भेंडा पाल्न भन्दा विदेश जान मन पराउने र विदेश नगएपछि सहरमै बसाइसराइका कारण भेँडीगोठमा बस्ने नयाँ पुस्ता हराउँदै गएको उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्