| मङ्लबार, कार्तिक २४, २०८३

प्रचण्डको प्रतिबद्धता : बुढीगण्डकी आयोजनाको निर्माण सुरु गर्ने देखि पालुङटार एयरपोर्ट र रबर उद्योग सञ्चालन गर्ने

गोरखा क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेद्वार पूर्व प्रधानमन्त्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले चुनाव जितेपछि आफूले प्राथमिकताका साथ अघि बढाउने कार्यक्रमहरुको प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । गोरखाको समृद्धिको मार्गचित्रअन्तर्गत गेमचेन्जर योजनाहरु, राष्ट्रिय गौरवका आयोजना रुपमा लिएको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणदेखि, गोरखकाली रबर उद्योग र पालुङटार एयरपोर्ट पुनसञ्चालन गर्ने र उत्तरी गोरखालाई विशेष क्षेत्र बनाउन पहल गर्नेसम्मका योजना अघि सारेका छन् ।

प्रतिबद्धता पत्रमा बहुउद्देश्यीय राष्ट्रिय गौरवको १२ सय मेगावटको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल अघि बढाउने र बेनीघाट–लार्के(रुइला नाका) सडकखण्ड निर्माण कार्य पूरा गर्ने उल्लेख गरिएको छ । लामो समयदेखि बन्द रहेको गोरखाको रबर उद्योग र पालुङटार एयरपोर्टलाई पुनःसञ्चालनमा ल्याउन विशेष पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

गोरखाको सिर्दिबास, माछीखोला, बारपाक, भच्चेक क्षेत्रमा हिमाली क्षेत्रमा पाइने जडीबुटी संरक्षण, संकलन र प्रशोधन केन्द्र स्थापना गर्ने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । उत्तरी गोरखाको दुर्गम पालिका चुमनुब्री र धार्चेलाई स्वायत्त क्षेत्र घोषणा गर्न पहल गर्ने बिषय प्रतिवद्धता पत्रमा समेटिएका छन् ।

उत्तरी गोरखालाई हिमालय पर्यटनको रुपमा विकास गर्न चीनसँग सीमा जोडिएको रुइला नाका नियमित रुपमा सुचारु गर्न सुनिश्चितता सहित नुव्री क्षेत्रमा अन्तरदेशीय बन्दरगाह स्थापना गरिने, चुम र नुव्री भ्यालीलाई हिमाली शहरको रुपमा विकास गर्न विशेष पहल गर्ने प्रतिबद्धता पत्रमा प्रचण्डले भनेका छन् । गोरखाको उत्तरीक्षेत्र चुमभ्यालीमा एकसयवर्ष अघिदेखि सुरु गरिएको नेपालको एक मात्र अहिंसा क्षेत्रको संरक्षण र विकासमा जोड दिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

गाईखुर–च्याङ्ली क्षेत्रमा राज्यले घोषणा गरेको औद्योगिक क्षेत्र निर्माण कार्य अगाडि बढाउने, सिउरेनीटारदेखि पालुङटारसम्म पृथ्वी राजमार्गको वैकल्पिक राजमार्ग निर्माण गर्न पहल गर्ने र लिगलिगकोट–सिरानचोक–गोरखा दरबार–मनकामना आदिलाई समेटेर धार्मिक ऐतिहासिक तथा पर्यटकीय सर्किटको रुपमा विकास गर्ने लगायतका योजना उनको प्रतिबद्धता पत्रमा समावेश छन् ।

मध्यपहाडी लोकमार्गको गोरखा खण्ड र सबै पालिकाको केन्द्र हुँदै वडा कार्यालयसम्म पुग्ने सडकहरु कालोपत्रे गर्न जोड दिने उनको प्रतिवद्धता पत्रमा उल्लेख छ । आँबुखैरेनी–गोरखा सदरमुकाम सडकको मापदण्ड सम्बन्धी समस्यालाई प्राविधिक र वैज्ञानिक ढंगले हल गर्ने उनले आश्वासन दिएका छन् ।

बाह्रकिलो–बारपाक–लाप्राक–गुम्दा हुँदै माछाखोलासम्मको सडक कालोपत्रे गर्न पहल गर्ने र गोरखा क्याम्पसको भौतिक पूर्वाधार विकासमा जोड दिँदै प्राविधिक शिक्षाको रुपमा इन्जिनियरिङ विषय थप गर्न पहल गर्ने प्रचण्डले आफ्नो प्रतिबद्धता पत्र मार्फत बताएका छन् ।

गोरखा अस्पताल, आँपपिपल अस्पताल लगायतका स्वास्थ्य चौकीहरुको स्तर उन्नतिको जोड गरी स्वास्थ्य सेवालाई जनताको सहज पहुँचमा पु¥याइने र जिल्लामा मेडिकल कलेज स्थापना गर्न विशेष गरिने समेत घोषणमा पत्रमा समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्