| मङ्लबार, कार्तिक २४, २०८३

दुर्गमका बासिन्दा भन्छन्, ‘बाटो बनाइदिनेलाई भोट’

मंसीर ४ को चुनाव आउन अब एक महिना मात्र बाँकी छ । गाउँ–गाउँमा गएर विकास र संवृद्धिका झुठा आश्वासन बाँड्दै चुनावी प्रचारप्रसार गर्न जान उम्मेद्वार र कार्यकर्ताहरुमा हुटहुटी छ । तर उनीहरुलाई उत्तरी गोरखाका गाउँबस्ती जान दुई ठुला पहिरो तगारो बनेको छ ।
राजधानी र सदरमुकामका सहरमा रमाएका, दूर दराजका गाउँबस्ती, भीर पहरोमा हिँड्ने बानी नपरेका उम्मेद्वार र तिनका कार्यकर्तालाई अहिले न चुम उपत्यका जान सम्भव छ, न नुब्री । त्यसैले हेलिकोप्टर चार्टर गरी उत्तरी गोरखा जाने अनुमतिका लागि उम्मेद्वारहरुले निर्वाचन आयोगमा अनुरोध गरेका छन्, तर अहिलेसम्म अनुमति पाएका छैनन् ।

उता दुर्गमका बासिन्दाहरु पहिरोले क्षतिग्रस्त बाटोको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखिरहेका छन्, ‘यो बाटो बनाइदिनेलाई मात्र हाम्रो भोट ।’

नुब्री उपत्यकाका बासिन्दा हिँड्ने बाटोको कथा सुन्दै कहालीलाग्दो छ । तल हेर्दा छङ्गाछुर भीर, झण्डै चारसय मिटर उँधो बूढीगण्डकी देखिने । कतै भीरमा पाइला मात्र राख्न मिल्ने खोपिल्टो, पाइला टेक्न पनि नमिल्ने कुनै ठाउँमा काठको ठाडो र तेर्सो भ¥याङ, कतै डोरी समातेर, कतै निगालोमा झुण्डिँदै हिँड्नु पर्ने यो कहालीलाग्दो बाटो हो, गोरखाको मनास्लु क्षेत्रको ।

मनसुनको मैझारोमा यस क्षेत्रमा भीषण बर्षा भयो । स्थानीयका अनुसार यति ठूलो बर्षा पहिलो पटक हो । जताततै पहिरोले उधुम मच्चायो । ‘एक्लेभट्टीदेखि नाम्रुङसम्म साना ठूला गरेर १५० वटा जति पहिरो झरेको रहेछ’, पहिरोले चार दिन गपमा थुनिएर भर्खर सदरमुकाम आइपुगेका पर्यटन व्यवसायी साने गुरुङ भन्छन्, ‘पर्यटकहरु हेलिकोप्टरबाट फर्किए । हामी हिँडेर आयौँ । बाटो थिएन । पुर्खाले नूनको ढाकर बोक्ने बाटो हिँडेर आयौँ । जे जस्तो भए पनि यसपटकलाई भाग्यले बाँचेर आइपुगियो ।’ पहिरोले बाटो नहसनहस भएको उनको भनाइ छ ।

भोटेनून ओसार्ने बाटो

धेरै ठाउँमा झरेका ठूला–ठूला पहिरोले बाटो अवरुद्ध भएपछि साविक सामागाउँ, ल्हो, प्रोक र बिही गाविसका बासिन्दा र विदेशी पर्यटक ३५ बर्षभन्दा अघि हिड्ने गरिएको भोटेनून बोक्ने पुरानै बाटो हिँड्न बाध्य छन् । पहिरोका कारण वडा नं. ३ न्याकफेदीदेखि पेवासम्मको र बिहीफेदीदेखि गपसम्मको बाटो क्षतिग्रस्त भएको वडाअध्यक्ष रामकुमार गुरुङ बताउँछन् ।
चुमनुब्री गाउँपालिका वडा नं. १, २, ४ र ५ का ती गाउँहरुमा भोटेलामा समुदायको बसोबास छ ।

‘बिही, प्रोक, ल्हो र सामागाउँ गाविसका बासिन्दाहरु, पर्यटकहरु भोटेनून ओसार्ने गरेको उहिल्यैको बाटो हिड्न बाध्य भएका छन्’, गुरुङ भन्छन्, ‘पहरोको कप्पुमा खुट्टा अड्याउँदै, डोरी र निगालो समात्दै हिड्नु परेको छ । बाटो यति कहालीलाग्दो छ कि, तल हेर्दा चिल घुम्ने भीर छ, रिङ्टा लाग्छ ।’ जोखिम मलेर हिँड्न चाहने पर्यटकले ‘इन्जोय’ गरे पनि अरु पर्यटक र स्थानीयबासीको हिँडडुल सकसपूर्ण भएको उनको भनाइ छ ।

No description available.


‘पहिरोले ३५ बर्षअघिकै बाटोमा पु¥याइदियो’, धार्चे १ हुलचुकका वडाअध्यक्ष रामसिङ गुरुङ भन्छन्, ‘त्यतिबेला हामी तलबाट कोदोको भारी बोकेर भोटेनून लिन सामागाउँ, साम्दोसम्म पुग्थ्यौँ । अहिले सम्झिँदा नि कहाली लाग्छ ।’ भोट खोलाका बासिन्दा अन्नको खोजीमा धार्चेतिर आउने, आफूहरु नून बोक्न भोट खोला जाने परम्पराको स्मरण उनले गरे । ‘दिनभर काम गरेको ज्याला दुई माना कोदो पाइन्थ्यो । ढिँडोसिस्नु खान पनि नून त नभै भएन । अनि अलिअलि कोदो संगालेर नूनसित साँट्थ्यौँ’, उनले भने, ‘उनीहरु कोदो खोज्दै हाम्रातिर आउँथे । हामी नून खोज्न उनीहरुकोतिर जान्थ्यौँ । त्यतिबेला घट्टेखोला, पाङसिङ, न्याक चढेर फेरि ड्याङ झथ्र्यौँ । पछि २०४५ सालतिर बूढीगण्डकीको किनार किनारै बाटो बन्यो । गण्डकी तर्न ठाउँठाउँमा झोलुंगे पुल बन्यो । अनि भीरको बाटो हिँड्न छोडेर तलको बाटो चलेको हो ।’

No description available.


अहिलेको पहिरोले स्थानीयबासी तथा पर्यटकलाई २०४५ सालपछि हिँड्न छाडिएको बाटोमा पु¥याएको पर्यटन गाइड भविराज गुरुङको भनाइ छ । ‘चारदिनसम्म आरी घोप्ट्याएजस्तो गरी पानी प¥यो । त्यसपछि त जताततै पहिरै पहिरो’, उनी भन्छन्, ‘साविकको बाटो अवरुद्ध भइहाल्यो । पछि वडा कार्यालयले न्याकफेदीबाट उकालो लाग्ने पुरानो भीरको बाटो निकाल्यो । पुरानो बाटो हिँड्दा साविकको भन्दा दुई घण्टा समय थपिएको गुरुङले बताए । ‘कमजोर मुटु भएकाले यो भीर पार गर्न सक्दैनन्’, उनले भने, ‘एड्भेञ्चर गर्न चाहनेहरु त रमाउँछन्, तर अरुहरु यस्तो देखेपछि रुन्छन् । आधाघण्टामा पार हुने बाटो भीरको बाटो घुम्नु परेपछि दुईघण्टा बढि हिँड्नु परेको छ ।’ झरना र पहराबाट चुहिएको पानीले बाटो चिप्लो र जोखिम बनाएको उनको भनाइ छ ।

पहिरोका कारण गत असोज २३ गतेदेखि बाटो अवरुद्ध भएको हो । ‘चार दिन अवरुद्ध भएपछि गाउँले मिलेर तत्कालका लागि मान्छे मात्र हिड्न मिल्ने गरी भीरको पुरानो बाटो खुलाउने सल्लाह गरियो’, उनले भने, ‘५०÷६० जनाका दरले चार दिनसम्म खेताला लगाएर अस्ति बिहिबारबाट बाटो खुलाइयो ।’ तर बाटो ज्यादै कष्टकर रहेको उनको भनाइ छ ।

चुम उपत्यका पनि बन्द

लोक्पा र सर्दीभीरको अजंगको पहिरोले वडा नं. ६ का करिब तीनसय घरधुरी र वडा नं. ७ छेकम्पारका करिब तीनसय घरधुरीका बासिन्दा नाकाबन्दी जीवन भोगिरहेका छन् ।

यो पहिरो गाउँपालिकाकै सबैभन्दा ठूलो पहिरो हो ।
सर्दीभीरमा पहिरो आएपछि त्यहाँ क्याण्टिलिभर पुल क्षतिग्रस्त भएको चुमनुब्री ६ का वडाअध्यक्ष सरोज लामाको भनाइ छ ।
तिब्बतको सीमानामा रहेको चुम उपत्यकाबासी पाँच महिनादेखि चौतर्फी नाकाबन्दीमा फँसेको वडा नं. ७ का वडाअध्यक्ष टासी दोर्जे लामाको भनाइ छ । ‘कोरोना महामारीको निहुँमा चाइनाले बोर्डर शील गरेको तीनबर्ष भयो । जेठदेखि बाढी र पहिरोले थुनेर निसास्सिरहेका छौँ’, लामा भन्छन्, ‘पहिरो त मनसुन रोकिएपछि खुल्छ भन्ने आशा थियो, तर अहिले भीर खोपेर बनाइएको क्याण्टिलिभर पुलै पहिरोले लग्यो । हामी चुमभ्यालीका बासिन्दालाई बोत्तलभित्र राखेर बिर्को लगाइदिएको जस्तो भएको छ ।’ गाउँभित्रबाहेक कतै जान नसकिएको र घरघरमा खाद्यान्न अभावको अबस्था आइसकेको उनले बताए ।

‘अहिले पनि घरघरमा चामल, चिनी, नूनतेल सकिएको छ । पसलमा पनि पाउन छोडिसक्यो’, अर्का स्थानीय मिङ्ग्यूर दोर्जे लामा भन्छन्, ‘सरसापट, ऐचोपैचोले कति दिन धान्छ र ? कि तिब्बत नाका खुलेको भए पनि राहत हुन्थ्यो । त्यो पनि छैन । दशैं विदा मनाउन जोखिम मल्दै जबर्जस्ती गाउँ पुगेका विद्यार्थीहरु स्कूल खुलिसक्दा पनि काठमाडौँ, गोरखा सदरमुकाम झर्न पाएका छैनन् ।’ अब फेरि डोरी टाँगेर झुण्डिएर आवतजावत गर्नुपर्ने अबस्था आइपरेको उनको दुखेसो छ ।

भूकम्पका कारण सातबर्षअघि सर्दीभीरमा ठूलो पहिरो गएपछि चुम उपत्यकाका बासिन्दा भीरमा डोरी टाँगेर त्यसमै झुण्डिएर वारपार गर्ने गर्थे । भूकम्पपछि जिल्लामा काम गर्न आएको डिएफआईडी नामक आइएनजीओले तीन करोड ४० लाख रुपैयाँ लागतमा भीर खोपेर क्याण्टिलिभर पुल बनाइदिएको थियो । ‘क्यान्टिलिभर बनाएपछि सदरमुकाम, गाउँपालिकाको केन्द्र, बजारतिर सामान किनमेल गर्न जान निक्कै सजिलो भएको थियो । अब फेरि झुण्डिएर हिड्नुपर्ने अबस्था आयो’, उनले भने, ‘सबैको ध्यान चुनावतिर मात्र छ, हाम्रो दुख कसले हेरिदिने ?’

चुमनुब्री गाउँपालिका ६ को सर्दीभीरमा २०७३ सालमा डिएफआइडीले युरोपियन प्रविधिको क्यान्टिलिभर पुल निर्माण ग¥यो । दुईखण्ड गरी यो करिब दुईसय ४६ मिटर लामो रहेको गाउँपालिकाका अध्यक्ष निमा लामा बताउँछन् । उनका अनुसार भीर खोपेर बनाइएको यो पुल नेपालमै पहिलो प्रयोग थियो । गतहप्ताको भारी बर्षापछि झरेको पहिरोले सो पुलको करिब २० मिटर खण्ड कामै नलाग्ने भएर क्षतिग्रस्त भएको छ । डेढसय मिटर रेलिङ भाँचिएको, स्ल्याब ढल्किको अबस्थामा रहेको उनको भनाइ छ । ‘अब यहाँबाट हिँडडुल गर्ने कल्पनै गर्न सकिन्न’, उनले भने, ‘चुमबासीका लागि यो ठूलो दुर्भाग्य हो । अब न मान्छे हिँडडुल गर्न सक्छन्, न खाद्यान्न ओसारपोसार गर्न सकिन्छ । चार महिनादेखि खाद्यान्न ढुवानी भएको छैन । हाहाकार हुने सम्भावना भयो ।’ सो बाटोमा अहिलेसम्म आवतजावत ठप्पै रहेको उनको भनाइ छ ।

दैनिक उपभोग्य सामान अभाव

एड्भेञ्चर भएकाले पर्यटक रमाउने नै भए । स्थानीयबासी पनि जसोतसो हिँड्न त सक्छन्, तर भ¥याङ चढेर खच्चड हिँड्न सक्दैन । खच्चड हिँड्न नसक्दा सो क्षेत्रका करिब १२ सय घरधुरीका १० हजार भन्दा धेरै बासिन्दालाई दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको छ ।
‘हाम्रो गाउँपालिकामा अहिलेसम्म सडक बनेको छैन । मोटर चल्दैन । खाद्यान्न होस् कि, अरु अत्यावश्यक सामग्री होओस् सबै खच्चडले नै ओसार्ने हो’, गाउँपालिकाका अध्यक्ष निमा लामा भन्छन्, ‘तर खच्चड हिँडाउन सकिएको छैन । यो बर्ष जेठदेखि नै ठूलो पानी थालेको हो । पाँच महिनादेखि खच्चड हिँडाउन नसक्दा हाम्रो क्षेत्रमा खाद्यान्न अभाव हुन थालेको छ ।’ गाउँपालिकाको विपत व्यवस्थापन कोषबाट भ¥याङ हालेर मान्छे हिड्न मिल्ने गरी पुरानो बाटो खुलाएको उनको भनाइ छ । भीरको बाटो खुलेपछि अहिले दैनिक एकसय जना भन्दा धेरै विदेशी पर्यटक हिँड्ने गरेको उनको भनाइ छ । ‘अब मनसुन रोकिएजस्तो छ । फेरि पहिलेकै बाटो खुलाउने काम अघि बढाउँछौँ’, लामाले भने, ‘तर हाम्रो गाउँपालिकामा हिउँदभरि बाटो बनायो, बर्खा लागेपछि फेरि जस्ताको तस्तै हुन्छ ।’

तीन बर्षदेखि चिनियाँ नाका पनि बन्द र तल्लो भेगको बजार क्षेत्रसित जोड्ने बाटो पनि अवरुद्ध हुँदा दैनिक उपभोग्य खाद्यबस्तु आपूर्ति हुन नसकेको गाउँपालिका अध्यक्ष निमा लामाको भनाइ छ ।

असुरक्षित बाटो प्रमुख समस्या

आफ्नो गाउँपालिकाको सबैभन्दा महत्वपूर्ण विकास भनेको बाटो नै भएको गाउँपालिकाका अध्यक्ष निमा लामा बताउँछन् । ‘चुमनुब्री गोरखा जिल्लाको सडक सञ्जालले नजोडेको एक मात्र गाउँपालिका हो । यहाँको सबैभन्दा ठूलो आवश्यकता सुरक्षित बाटो हो’, उनी भन्छन्, ‘यसबारेमा निवर्तमान सांसद, अहिलेका गृहमन्त्री, पूर्व प्रधानमन्त्री प्रचण्ड लगायतका नेताहरुसित जानकारी गराएको छु । डब्लुडब्लुएफसित पनि कुरा राखेको छ ।’ अल्पकालीन रुपमा र दीर्घकालीन रुपमा चुमनुब्रीको बाटो सम्बन्धी समस्या समाधानको उपाय खोज्नु पर्ने उनको भनाइ छ ।

चुमनुब्रीका बासिन्दाले बाटोसम्बन्धी समस्या बर्षेनी भोग्ने गर्छन् । हिउँदका बेला हिँडडुल गर्न सक्ने तर बर्खाको तीन महिना नाकाबन्दी हुने गर्छ । बर्खामा एउटा वडाबाट अर्को वडासम्म पनि जान नसक्ने वडा नं. १ का अध्यक्ष कर्मा छेवाङ लामाको भनाइ । ‘बर्खाको बेला कार्यपालिकाको बैठकमा सहभागी हुन गाउँपालिकाको केन्द्रसम्म पनि जान सकिँदैन’, उनी भन्छन्, ‘हिउँदका बेला त गाउँपालिकाको केन्द्र जान दुईदेखि तीन दिनसम्म लाग्छ, बर्खाका बेला त झन् बाटो ठप्पै हुन्छ ।’ ज्यान जोखिममा राखेर हिँड्नु पर्ने भएकाले पनि चुमनुब्रीमा जनप्रतिनिधि बन्ने व्यक्ति पाउन मुस्किल पर्ने उनको भनाइ छ ।

गतबर्ष पनि बाढी, पहिरोले तीन महिनासम्म बाटो अबरुद्ध पा¥यो । खाद्यान्नको संकट हुन थालेपछि सरकारले हेलिकोप्टरबाट राहतस्वरुप चामल ढुवानी गरेको थियो । तर यसपालिका अहिलेसम्म यसबारेमा चर्चा पनि नचलेको भन्दै गाउँपालिकाबासी चिन्तित छन् । ‘चामल हामी आफै किन्थ्यौँ, तर ढुवानी कसरी गर्ने ? यसबारेमा सरकारले सहयोग गर्नुपर्छ’, छेकम्पारका वडाअध्यक्ष टासी दोर्जे लामा भन्छन्, ‘गतबर्ष सरकारले हेलिकोप्टरबाट धेरथोर ढुवानी गरेको थियो । यसबर्ष पनि ढुवानी गरिदिए हुन्थ्यो ।’

पर्यटन व्यवसाय धरासायी

खाद्यबाली समेत न्यून हुने यहाँको प्रमुख आयस्रोत भनेको पर्यटन व्यवसाय र जडिबुटी हो । तर विभिन्न कारणले पर्यटन व्यवसाय धरासायी हुँदै गएको मनास्लु क्षेत्र होटल व्यवस्थापन उपसमितिका अध्यक्ष गणेश कार्कीको गुनासो छ ।

कहिले भूइँचालो, कहिले डेंगी, कहिले कोभिड, कहिले बाढी पहिरोका कारण पर्यटक आउन नसक्दा मनास्लु क्षेत्रको पर्यटन व्यवसाय संकटमा रहेको पर्यटन व्यवसायी साने गुरुङ बताउँछन् । ‘खुम्बु क्षेत्रपछि नाम चलेको मनास्लु क्षेत्र हो । बाटो राम्रो हुने हो भने यहाँ थामिनसक्नु पर्यटक आउँछन्’, धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष समेत रहेका गुरुङ भन्छन्, ‘यसपटक धेरै पर्यटक आउने अनुमान थियो, तर पहिरोले समस्या बनायो । पर्यटक आउलान् र व्यापार गरौँला भनेर लाखौँ, करोडौँ खर्च गरेर होटल व्यवसाय सञ्चालन गरेका व्यवसायीहरु संकटमा छन् ।’

प्रचण्डसमक्ष हारगुहार ः

खाद्यान्न ढुवानीको व्यवस्था गरी उत्तरी गोरखाको संकट टार्न गुहार गर्दै गाउँपालिका अध्यक्ष निमा लामाले मंगलबार माओवादीका अध्यक्ष प्रचण्डसित भेट गरे । भेटमा उनले उत्तरी गोरखाका बासिन्दाले बर्षौँदेखि बाटोको समस्या झेलिरहेको गुनासो गरे ।
नेपाली सेनाले हाल बेनिघाट, आरुघाट, लार्के सडक निर्माणको काम गरिरहेको छ । सो सेनाको टोलीलाई चुम उपत्यकाको सडक पनि निर्माण गरिदिने व्यवस्था मिलाइदिन पनि लामाले प्रचण्डको ध्यानाकर्षण गराए । प्रचण्ड यसपटकको चुनाव गोरखाबाट लड्दैछन् । त्यसैले उनले उत्तरी गोरखाको समस्या बारे गम्भीर भए र गृहमन्त्री वालकृष्ण खाँणलाई टेलिफोन गरी तत्काल ६ वटा वडाका करिब १२ सय घरधुरीका लागि खाद्यान्न ढुवानीको व्यवस्था मिलाउन आग्रह गरेका लामाले जानकारी दिए । सडक र बाटोको बिषयमा पनि पहल गर्ने आश्वासन दिए ।
सरकारले चुमनुब्री गाउँपालिकाको केन्द्र रहेको फिलिममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपो सञ्चालन गरेको छ । तर वडा नं. १, २, ४, ५, ६ र ७ का बासिन्दा बर्खाको चार महिना पहिरो कटेर डिपोसम्म आउन सक्दैनन् । त्यसैले जिल्ला स्तरको खाद्य व्यवस्था समितिले सोमबार बैठक बसी वडा नं. ४ को नाम्रुङमा र वडा नं. ६ को चुम्लिङमा खाद्य विक्री केन्द्र स्थापना गर्न माग गर्दै माथिल्लो निकायमा पत्राचार गर्ने निर्णय गरेको छ । यसअघि पनि यस बिषयमा पटक पटक निर्णय भए पनि सरकारले कानमा तेल हालेको छ ।

प्रतिक्रिया दिनुहोस्