| मङ्लबार, कार्तिक २४, २०८३

चुमभ्यालीका पहिरो पीडितको गुनासो, ‘हामीलाई बोत्तलभित्र राखेर बिर्को लगाएजस्तो उकुसमुस भयो’

मंसीर चार गते हुने चुनावका लागि नेताहरु उत्तरी गोरखामा भोट माग्न जाने तयारीमा छन् । दुर्गमबासीको भोट हाल्ने औँला मात्र सम्झिरहेका उनीहरुलाई त्यहाँका बासिन्दा अहिले कस्तो पीडामा छन् भन्ने कुरा सायदै थाहा होला ।

तिब्बतको सीमानामा रहेको चुम उपत्यकाबासी चार महिनादेखि चौतर्फी नाकाबन्दीमा निसास्सिरहेका छन् । ‘कोरोना महामारीको निहुँमा चाइनाले बोर्डर शील गरेको तीनबर्ष भयो ।

असारदेखि बाढी र पहिरोले थुनेर निसास्सिरहेका छौँ’, चुमनुब्री गाउँपालिका ७ छेकम्पारका वडाअध्यक्ष टासी दोर्जे लामा भन्छन्, ‘पहिरो त मनसुन रोकिएपछि खुल्छ भन्ने आशा थियो, तर अहिले भीर खोपेर बनाइएको क्याण्टिलिभर पुलै पहिरोले लग्यो ।

हामी चुमभ्यालीबासीलाई बोत्तलभित्र राखेर बिर्को लगाइदिएको जस्तो उकुसमुकुस भएको छ ।’ गाउँभित्रबाहेक कतै जान नसकिएको र घरघरमा खाद्यान्न अभावको अबस्था आइसकेको उनले बताए ।

यसअघि चुमभ्यालीका बासिन्दा भीरमा टाँगिएको डोरीमा झुण्डिएर सर्दीभीर पार गर्ने गर्थे । भूकम्पपछि जिल्लामा काम गर्न आएको डिएफआईडी नामक आइएनजीओले तीन करोड ४० लाख रुपैयाँ लागतमा भीर खोपेर क्याण्टिलिभर पुल बनाइदिएको थियो ।

‘क्यान्टिलिभर बनाएपछि सदरमुकाम, गाउँपालिकाको केन्द्र, बजारतिर सामान किनमेल गर्न जान निक्कै सजिलो भएको थियो । अब फेरि झुण्डिएर हिड्नुपर्ने अबस्था आयो’, उनले भने, ‘सबैको ध्यान चुनावतिर मात्र छ, हाम्रो दुख कसले हेरिदिने ?’

चुमनुब्री गाउँपालिका ६ को सर्दीभीरमा २०७३ सालमा डिएफआइडीले युरोपियन प्रविधिको क्यान्टिलिभर पुल निर्माण ग¥यो । दुईखण्ड गरी यो करिब पाँचसय मिटर लामो रहेको गाउँपालिकाका अध्यक्ष निमा लामा बताउँछन् ।

उनका अनुसार भीर खोपेर बनाइएको यो पुल नेपालमै पहिलो प्रयोग थियो । गतहप्ताको भारी बर्षापछि झरेको पहिरोले सो पुलको करिब दुईसय मिटर खण्ड क्षतिग्रस्त बनाइदिएको छ । ‘अब यहाँबाट हिँडडुल गर्ने कल्पनै गर्न सकिन्न’, उनले भने, ‘चुमबासीका लागि यो ठूलो दुर्भाग्य हो । अब न मान्छे हिँडडुल गर्न सक्छन्, न खाद्यान्न ओसारपोसार गर्न सकिन्छ । चार महिनादेखि खाद्यान्न ढुवानी भएको छैन । हाहाकार हुने सम्भावना भयो ।’

डुयुखोला र सर्दीभीर बीच गतबर्ष पनि ठूलो पहिरो जाँदा आवतजावत ठप्प भएको थियो । हेलिकोप्टरबाट ढुवानी गरेर सरकारले स्थानीयबासीलाई खाद्यान्न आपूर्ति गरेको थियो ।

‘अहिले पनि घरघरमा चामल, चिनी, नूनतेल सकिएको छ । पसलमा पनि पाउन छोडिसक्यो’, अर्का स्थानीय मिङ्ग्यूर दोर्जे लामा भन्छन्, ‘सरसापट, ऐचोपैचोले कति दिन धान्छ र ? कि तिब्बत नाका खुलेको भए पनि राहत हुन्थ्यो । त्यो पनि छैन । दशैं विदा मनाउन जोखिम मल्दै जबर्जस्ती गाउँ पुगेका विद्यार्थीहरु स्कूल खुलिसक्दा पनि काठमाडौँ, गोरखा सदरमुकाम झर्न पाएका छैनन् ।’ अब फेरि डोरी टाँगेर झुण्डिएर आवतजावत गर्नुपर्ने अबस्था आइपरेको उनको दुखेसो छ ।

लोक्पा पहिरो र क्याण्टिलिभर क्षतिग्रस्त भएपछि वडा नं. ६ का करिब तीनसय घरधुरी र छेकम्पारका करिब तीनसय घरधुरीका बासिन्दा ठूलो समस्यामा परेका निवर्तमान वडाअध्यक्ष पासाङफुञ्जो लामा बताउँछन् । ‘छिटोभन्दा छिटो क्याण्टिलिभर पुल मर्मतसम्भार गर्न पहल गर्नुपर्छ’, उनी भन्छन्, ‘धेरै ठूलो खर्च लाग्छ । गाउँपालिकाले सक्दैन ।

कि सरकारसित कि, डिएफआइडिसित जोडदार माग गर्नुपर्छ ।’ जाडो बढ्दै जाँदा कात्तिक लागेदेखि सो क्षेत्रका बासिन्दा सहरतिर झर्नुपर्ने हुँदा बाटो खुलाउन ढिला गर्न नहुने लामाको माग छ ।

प्रतिक्रिया दिनुहोस्