| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा गठबन्धन दल भित्रै बागी उम्मेदवार धेरै

गोरखामा सत्ता गठबन्धन भित्रै बागी उम्मेदवार धेरै देखिएका छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादीका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभा भन्दा प्रदेश सभामा बागी उम्मेदवार धेरै देखिएका छन् । नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य एवं आरुघाट गाउँपालिकाका पूर्व अध्यक्ष पूर्ण दाहालले क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उक्त प्रदेशमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले टिकट पाएका हुन् । दुबै आरुघाट गाउँपालिकाका हुन् ।

सोही प्रदेश क्षेत्रका लागि सत्ता गठबन्धन भित्रै रहेको नेकपा एसका जिल्ला उपाध्यक्ष एवं गण्डकी प्रदेश सदस्य टेकराज भट्टले पनि उम्मेदवारी दर्ता गराएका छन् । माओवादी केन्द्रका आरुघाट गाउँपालिका सचिव राजकुमार ढकालले पनि गठबन्धनबिरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । जनता समाजवादी पार्टीका पूर्व जिल्ला उपाध्यक्ष एवं नेपाल समाजवादी पार्टीका नेता ढाकबहादुर पराजुलीले पनि गठबन्धनबिरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्ण धिताल उम्मेदवार छन् । नेपाली कांग्रेसका रामशरण आचार्यले उनी बिरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेता र दलको स्वेच्छाचारी शासनको अन्त्य, नीति र विधिसम्मत शासनका लागि भन्दै उनले उम्मेदवारी दिएको बताए ।

गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका क्रियाशील सदस्य बिष्णु पुडासैनीले गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाई बिरुद्ध उम्मेदवारी दिएका छन् ।

गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिरुद्ध नेपाली कांग्रेसकी डाक्टर माधवी भट्टले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । उनी काठमाण्डौँबाट उठ्ने चर्चा थियो । त्यहाँ टिकट नपाएपछि माओवादी केन्द्रका अध्यक्ष उठ्ने ठाउँबाट उनले गठबन्धनको बिपक्षमा उम्मेदवारी दिएकी हुन् ।

त्यस्तै कांग्रेसकै टिकादत्त पोखरेलले पनि प्रचण्डविरुद्ध स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका छन् ।
गोरखा क्षेत्र नम्बर २ को ‘क’ मा सत्ता गठबन्धनको तर्फबाट नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटा उम्मेदवार छन् । उनका बिरुद्ध गण्डकी प्रदेशका उर्जामन्त्रीसमेत रहेका सोही पार्टीका हरिशरण आचार्यले उम्मेदवारी दिएका छन् । आचार्यले २०७४ को निर्वाचनमा नयाँ शक्ति पार्टीबाट उक्त प्रदेश क्षेत्र जितेका थिए ।

सोही क्षेत्रमा सत्ता गठबन्धनमा रहेको नेकपा एकिकृत समाजवादीका गोरखा जिल्ला इन्चार्ज एवं केन्द्रिय सदस्य जुद्धबिलास भण्डारीले उम्मेदवारी दिएका छन् ।

एकिकृत समाजवादी गठबन्धनमा रहेको तर गोरखामा दुईवटा प्रदेश क्षेत्रका लागि केन्द्रबाट टिकट प्राप्त भएकाले उम्मेदवारी दिएको जिल्ला अध्यक्ष यादब बस्नेतले बताए । ‘हामीलाई केन्द्रिय अध्यक्ष माधव नेपालले हस्ताक्षर गरेको टिकट आएको छ, यहाँ कुनैपनि क्षेत्र हामीलाई परेन’ उनले भने ‘केन्द्रिय अध्यक्षले फिर्ता लिनु भन्नुभयो भने फिर्ता हुन्छ नभए कायम रहन्छ ।

’ कांग्रेस गोरखाले बागि उम्मेदवारलाई फिर्ता गराउने तयारी गरिरहेको जिल्ला सचिव किशोरजंग थापाले बताए । ‘पार्टीलाई जानकारीमा आएका बागि उम्मेदवारलाई हामीले सम्पर्क गरेर फिर्ता लिन भनेका छौँ’ सचिव थापाले भने ‘फिर्ता लिने समय अवधी सम्म फिर्ता भएन भने कारवाही प्रक्रिया अघि बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्