
चुमनुब्रीको खारमा पहिरोले चार घर पुरिए, तीनजना घाइते, लोक्पा गाउँ जोखिममा
तीनदिनदेखिको अविरल बर्षाका कारण झरेको पहिरोले चुमनुब्री गाउँपालिका ६ खारमा चारघर पुरिएका छन् । घरभिर पुरिएर तीनजना घाइते भएकामध्य एकजनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बिहिवार(हिजो) साँझ सातबजे झरेको पहिरोले खारका नोर्बु लामा, ङवाङ तेञ्जिङ लामा र ङवाङ छिरिङ लामाको घर पहिरोले पुर्ण रुपमा पुरेको एसपी केदार खनालले जानकारी दिए ।
सो दुर्घटनामा परी २५ वर्षकी छेतेन लामा गम्भीर घाइते भएकी छिन् । पहिरो भित्रबाट बेहोश अबस्थामा उद्धार गरिएको उनको आज बिहान होश खुलेको छ । उनका ५ बर्षका छोरा पेम्वा छिरिङको अबस्था भने अझै गम्भीर रहेको छ । ङवाङ छिरिङकी श्रीमती तेन्जिङ डोलमा लामा पनि घाइते छिन् उनको अबस्था सामान्य रहेको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन् ।
घरबासबिहिन भएका ती परिवार स्थानीय परिवार दिपेस लामाको घरमा आश्रय लिएर बसेका प्रहरीले जनाएको छ । प्रहरी टोली अहिले बिहान घटनास्थलतर्फ जादै गरेको एसपी खनालले बताए ।
पहिरोले चुमनुब्री ६ कै लोक्पा गाउँ जोखिममा परेको छ । स्यार खोलाले तानेको पहिरोले लोक्पाका २२ घर जोखिममा परेको स्थानीय सेराप गुरुङले जनाए ।
उनका अनुसार चुमभ्याली भ्रमणका लागि गएका विदेशी पर्यटक लोक्पामै अलपत्र भएका छन् । गाउँभन्दा माथि जाने र तल जाने दुबैतिर ठुलो पहिरो गएपछि पर्यटक अलपत्र बनेका उनले बताए ।




