
लोक्पा पहिरोमा बाटो सुचारु नहुँदा अत्यावश्यक खाद्य सामग्री अभाव हुँदै
लोक्पा पहिरो पन्छ्याउन नसक्दा चुम्चेत र छेकम्पारका बासिन्दालाई चामललगायत दैनिक उपभोग्य सामग्री अभाव हुन थालेको छ । चुमनुब्री गाउँपालिका ६ को डुयुखोला र सर्दीभीरको बीचमा गत असारदेखि निरन्तर झरेको पहिरो पन्छ्याएर बाटो सुचारु गर्न नसक्दा खाद्यान्न लगायतका सामग्री अभाव हुन थालेको स्थानीयबासीको गुनासो छ ।
आठसय मिटर लामो पहिरोमा मान्छे तथा खच्चड हिड्न सक्ने अबस्था नरहेको वडाअध्यक्ष सरोज लामाले जानकारी दिए । सडक सञ्जालले नछोएको सो क्षेत्रमा खाद्यान्न लगायतका सामग्री ढुवानी गर्ने एक मात्र माध्यम खच्चड हो ।
‘असारअघि ढुवानी गरेर राखेको चामल, खानेतेल, चिनीलगायतका खाद्यान्न सकिन थालेको छ । अहिले ढुवानी गर्न पहिरोमा खच्चड हिँडाउन सकिँदैन’, लामा भन्छन्, ‘पहिरो आठसय मिटर लामो छ । जतिचोटि बनाए पनि, भोलिपल्टै पहिरो झरेर बाटो लैजान्छ ।’ सो पहिरोका कारण लोक्पाभन्दा माथिका वडा नं. ६ का चुम्लिङ, चुम्चेत, सिप्चेत, खार, ताज्यू, रेञ्जम, घो, याच्र्यू, खारगुम्बा, थारोङका २८० घरधुरीका बासिन्दा र वडा नं. ७ का नौ वटा टोलका तीनसय भन्दा धेरै घरधुरीका बासिन्दा आवतजावत गर्न नसकेका उनले बताए ।
ती सबै ठाउँमा भोटे लामा समुदायको बसोबास छ । खाद्यान्न ढुवानी गर्न नसक्दा गाउँघरमा धार्मिक तथा सांस्कृतिक कार्यहरु गर्न पनि नसकिएको स्थानीयबासीको गुनासो छ । ‘गुम्बामा बत्ती बाल्ने तेल छैन । चामलको पनि अभाव छ’, चुमनुब्री ७ का ङवाङ लामा भन्छन्, ‘अकालमा मरेकाहरुको नाममा गुम्बामा ४५ दिनभित्र बत्ती बाल्नुपर्छ । तोर्मा लगायतका प्रसाद चढाउनु पर्छ । गाउँलेलाई खुवाउनु पर्छ, तर तेल, चामल लगायतका खाद्य सामग्री नहुँदा पितृकर्म गर्न पनि पाएका छैनन् ।’
सहरका विद्यालयमा पढ्ने बालबालिकाहरु दशै विदाका बेला गाउँ फर्कन पाएका छैनन् । ‘हाम्रो चुमनुब्री गाउँपालिकाको वडा नं. ६ र ७ मा माध्यमिक विद्यालय छैन । सबै बालबालिकाहरु पढ्न सहरतिर गएका हुन्छन् । अहिले तलका विद्यालयमा दशै विदा भएको छ । लोक्पा पहिरोका कारण छोराछोरीहरु घर फर्कन पाएका छैनन्’, सबैभन्दा अन्तिम गाउँ निलेका मिङ्ग्युर लामा भन्छन्, ‘दशैदेखि तिहारसम्म एक महिना विद्यालय बन्द हुन्छ । यस्तो बेलामा छोराछोरीहरु आफ्नो घर फर्कन मन गर्छन् तर पहिरोले रोक्यो ।’
पहिरोका कारण बाटो अवरुद्ध हुँदा पर्यटकहरु चुमभ्याली जान र पुगेका पर्यटक फर्कन समस्या भएको अर्का स्थानीय सेराप गुरुङ बताउँछन् । ‘केहीदिनअघि गाउँलेहरु मिलेर बल्लतल्ल पहिरो पन्छ्याएका थियौँ । एक ग्रुप पर्यटक पनि पहिरो कटेर चुमभ्याली पुगेका थिए तर रातभर पानी परेर फेरि सबै बाटो लग्यो’, उनी भन्छन्, ‘त्यसपछि चुमभ्याली पुगेका पर्यटक फर्कन पनि पाएनन् । वडा नं. ७ मा लैजान भनेर लोक्पामा थुपारिएको खाद्यान्न त्यतिकै रहेको छ ।’
पहिरो पार गर्ने वैकल्पिक बाटो पनि नरहेको अर्का स्थानीय गोपाल लामा बताउँछन् । ‘जति दुख गरे पनि, जति खर्च गरे पनि त्यहाँ पहिरो नियन्त्रण गर्न सकिने अबस्था छैन । वैकल्पिक बाटो खुलाउने ठाउँ पनि छैन’, उनी भन्छन्, ‘धोर्जुङडाँडाबाट जाने हो भने दुई दिनको बाटो बढि हिड्नु पर्छ । बीचमा बस्ती छैन । जंगलमा बास बस्नु पर्छ । त्यहाँ पनि ठूलो खोला छ । बाटो उस्तै कहालीलाग्दो जोखिम छ ।’
गतबर्ष यही ठाउँमा गएको पहिरो तीन महिनासम्म खुल्न नसक्दा खाद्यान्न अभाव टार्न हेलिकोप्टरले खाद्यान्न ढुवानी गरेको वडा नं. ७ का पूर्व वडाअध्यक्ष पासाङ फुञ्जो लामाले जानकारी दिए । ‘मुख्य कुरा त यहाँ तिब्बतबाट खाद्यान्न ढुवानी गरिन्थ्यो, तर तीनबर्ष भयो, तिब्बती नाका पनि खुलेको छैन ।
तल्लो भेगको बजारबाट सामान ढुवानी गर्न पनि पहिरोले रोकेको छ’, उनी भन्छन्, ‘पोहोर पनि यस्तै समस्या भएको थियो । सरकारले वडा नं. ६ र ७ का बासिन्दाका लागि हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरेको थियो । ढुवानी भाडा निशुल्क भए पनि चामल भने किनेर खान पाएका थियौँ, तैपनि जनता खुशी थिए । तर यसपाल त त्यो पनि पाइएन ।’ पैसा भएर पनि पसलबाट खाद्यान्न किनेर खान नपाएको उनको गुनासो छ ।
स्थानीय उत्पादन कुटानी पिसानी गर्न विद्युतीय मिल पनि नभएको र पुरानो पानीघट्टा पनि विस्थापित भएको चुमनुब्री ७ मिङ्ग्युर दोर्जे लामाले बताए । ‘यहाँ १२ महिनामा एक खेती मात्र हुन्छ । अहिले गहुँ, जौ, करु र आलु भित्र्याउने सिजन हो’, उनले भने, ‘तर विद्युत क्षमता नहुँदा विद्युतीय मिल चल्दैन । ढुवानी गर्न नसक्दा पेट्रोल मिल पनि चलाउन सकिएको छैन ।’ पहिरोले गर्दा चुमनुब्री ६ र ७ का बासिन्दालाई असाध्यै सकस भएको उनले बताए ।




